• २० फागुन २०८२, बुधबार

कांग्रेसले सभापति थापालाई बनायो प्रधानमन्त्रीको उम्मेदवार

बदल्यौं कांग्रेस, बदल्छौं देश : सभापति गगन थापा

blog

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

काठमाडौँ, माघ ९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताउनुभएको छ । 

शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति पदको कार्यभार सम्हाले लगत्तै उहाँले यस्तो बताउनुभएको हो । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ उहाँले भन्नुभएको छ, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी । हाम्रो केवल एक ध्येय छ–देशको सम्मुन्नति ।’

त्यसैगरी कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा चुनावमा जाने निर्णयसमेत गरेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति गगनकुमार थापालाई पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गर्नुभएको प्रस्ताव केन्द्रीय समितिले पारित गरेको हो । 


विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेपछि  पार्टी सभापतिसहितका पदाधिकारीले शुक्रबार पदबहाली गरेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यको पदबहालीपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो । 

राससका अनुसार, सभापति थापाले नेपाली कांग्रेस बदलिनुपर्छ भनेर नागरिकले गरेको आह्वानलाई आफूहरूले सम्मान गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार पदभार ग्रहण भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभापति थापाले विशिष्ट परिस्थितिमा पार्टीको विशेष महाधिवेशन सम्पन्न गरेर यो जिम्मेवारी लिने परिस्थितिमा आइपुगेको बताउनुभयो । 

उहाँले आफूहरूका बारेमा हिसाबकिताब गरेर महाधिवेशन गरेको नभई नागरिकहरूको कुरा सुनेको धारणा राख्नुभयो ।

“कांग्रेस बदलिनै पर्छ भन्ने आह्वानलाई हामीले सम्मान गरेको हो । त्यो गर्नै पथ्र्यो, हाम्रो पार्टीका संस्थापकहरूले हामीलाई सिकाएको कुरा यही नै हो, अधिवेशनबाट जिम्मेवारी लिएको केही दिनपछि नै हामीले निर्वाचनका लागि उम्मेदवारी चयन गर्ने जिम्मेवारी सम्पन्न गर्नुप¥यो, सजिलो थिएन, निर्वाचन आयोगमा भएको वैधानिकताको परीक्षण, सम्मानित सर्वोच्च अदालतभित्र प्रवेश गरेको विषय प्रवेश, निवर्तमान सभापतिलगायत नेताहरूसँग गरिरहेको छलफल र संवादले आज यो ठाउँमा आइपुगेका छौँ”, उहाँले भन्नुभयो ।

सभापति थापाले विशेष महाधिवेशनले विधानमा परिवर्तन गरेको व्यवस्थाअनुसार अर्को पटकदेखि उम्मेदवार चयन गर्दा सम्बन्धित क्षेत्रका पार्टीको सदस्य र आमनागरिकले मतदान गरेर तलैबाट चयन गर्ने व्यवस्था गरिनुपर्छ भन्दै यो वर्ष समय अभावका कारण सम्बन्धित क्षेत्रबाट उम्मेदवार चयन गर्न सम्भव नभएको बताउँदै अर्को पटकदेखि लागू हुने बताउनुभयो ।

उपसभापति विश्वप्रकाश शर्माले विगतमा कांग्रेसले चुनाव जितेर आएपछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने गरेको बताउँदै विगतमा भन्दा भिन्न परिस्थितिमा निर्वाचन हुन गइरहेकाले आममतदातालाई भोलिको उम्मेदवारको बारेमा परिचित गराएको स्पष्ट पार्नुभयो । पार्टीप्रति नागरिकको विश्वास जगाउन चुनाव अगावै प्रधानमन्त्रीको उम्मेदवार घोषणा उहाँको भनाइ छ । 

उहाँले निर्वाचन अगावै प्रधानमन्त्रीको उम्मेदवार चयन गर्दा नेतृत्व गर्ने व्यक्तिको पृष्ठभूमि, व्यक्तिको संस्कार, नेतृत्व क्षमता र योग्यताको बारेमा जानकारी हुनुका साथै देशलाई कसरी हाँकेर जान सक्छ भन्ने विषयको ज्ञान हुने बताउनुभयो । उपसभापति शर्माले जेनजी विद्रोहले माग गरेको परिवर्तनलाई कांग्रेसले सम्बोधन गर्ने तागत राखेको तर्क गर्दै पार्टीभित्र परिवर्तनको अभ्यास गरेको बताउनुभयो ।