काठमाडौँ, माघ ४ गते । बहुप्रतीक्षित तथा मुलुककै पहिलो आधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्न १० वटा सेवाप्रदायक कम्पनीले बोलपत्र भरेका छन् । आयोजनाले बोलपत्रको अवधि दुई पटक थपेपछि ती सेवाप्रदायक कम्पनीले आवेदन दिएका हुन् । सेवाप्रदायक कम्पनी छनोट गर्न आयोजनाले कात्तिक १६ गते अन्तर्राष्ट्रिय बोलपत्र (इन्टरनेसनल कम्पिटेटिभ बिडिङ, आइसिबी) आह्वान गरेको थियो ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना उपप्रमुख सञ्जय पन्थीका अनुसार सुरुङमार्ग सञ्चालन गर्न चीनका छ वटा, भारतीय तीन वटा र टर्कीको एउटा कम्पनीले आवेदन दिएका छन् । बोलपत्रको सर्त अनुसार ती १० वटै कम्पनीले नेपाली कम्पनीसँग संयुक्त (ज्वाइन्ट भेन्चर) रूपमा आवेदन दिएका हुन् । कम्तीमा एउटा नेपाली कम्पनीसँग मिलेर संयुक्त रूपमा आवेदन दिनुपर्ने बोलपत्रको अनिवार्य सर्त छ । छनोट भएका सेवाप्रदायक कम्पनीले पाँच वर्षसम्म सो सुरुङमार्ग सञ्चालन गर्न पाउने छ ।
सेवाप्रदायक कम्पनी छनोट प्रव्रिmया पूरा गर्न अबको दुई महिना लाग्ने बताउँदै आयोजना उपप्रमुख पन्थीले भन्नुभयो, “आवेदन दिएका कम्पनीको प्राविधिक मूल्याङ्कन गर्न अबको एक महिना लाग्छ । त्यसपछि कम्पनीको आर्थिक मूल्याङ्कन सुरु हुन्छ । प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका कम्पनीको मात्र आर्थिक मूल्याङ्कन गरिन्छ ।” उहाँका अनुसार सम्झौता गरेका कम्पनीले जनशक्ति जुटाउन र तिनीहरूलाई आवश्यक तालिम दिन कम्तीमा एक महिनाको समय लाग्न सक्छ । त्यसपछि ती कम्पनीले सुरुङमार्ग सञ्चालनमा ल्याउँछन् ।
नयाँ वर्षदेखि सञ्चालन
आयोजना उपप्रमुख पन्थीले सो सुरुङमार्ग नयाँ वर्ष (२०८३ साल) देखि सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले कम्पनी छनोट गर्न दुई महिना र छनोट भएका कम्पनीले जनशक्ति जुटाउन तथा तिनीहरूलाई तयारी गर्न एक महिना लाग्ने भएकाले यो वर्ष (२०८२ साल) भित्र सो सुरुङमार्ग सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।
उपप्रमुख पन्थीले भन्नुभयो, “यो साल अब तीन महिना बाँकी छ । कम्पनी छनोटको सबै प्रव्रिmया पूरा गर्न पनि ठिक तीन महिना लाग्ने देखिएको छ । त्यसैले यो सालभित्र सुरुङमार्ग सञ्चालन गर्न नसकिने स्पष्ट देखिएको छ ।”
त्यसै गरी अहिलेसम्म सुरुङमार्गको पश्चिमी पोर्टलको निर्माण सुरु हुन सकेको छैन । आयोजना उपप्रमुख पन्थीका अनुसार पश्चिमी पोर्टल निर्माण डिजाइन तयार भई स्वीकृतिको व्रmममा छ । स्वीकृतिका लागि सडक विभागमा पेस भइसकेको छ । उहाँका अनुसार पश्चिमी पोर्टलमा सधैँ पहिरो गइरहन्छ । त्यही ठाउँमा मुख्य राजमार्गदेखि सुरुङमार्गको पोर्टलसम्म पहुँचमार्ग र ‘टोल बुथ’ निर्माण गर्नु पर्छ, जसको अहिलेसम्म डिजाइनसमेत स्वीकृत हुन सकेको छैन । यी सबै संरचना निर्माण हुन पनि दुई÷तीन महिना लाग्न सक्ने उहाँको भनाइ छ ।