• १३ वैशाख २०८१, बिहिबार

प्रदेश सरकार गठन

यस्ता छन् समीकरणका विकल्प

blog

काठमाडौँ, मङ्सिर २३ गते । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सकेर सिट विभाजनका लागि दलहरूलाई पत्राचार गरेसँगै प्रदेशहरूमा सरकार बनाउन जोड–घटाउ सुरु भएको छ। 

निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार सात प्रदेशका २२० समानुपातिक सदस्यतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट सङ्ख्या घोषणा गरी पत्राचार गरिएको छ। 

सत्ता साझेदार चार दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी सङ्घीय सरकारसँगै प्रदेशमा पनि गठबन्धनकै सरकार बनाउने तयारीमा जुटेका छन्। प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टीसहितका राजनीतिक दलहरू पनि सरकार गठबन्धन र सहभागिताका सन्दर्भमा छलफलमा जुटिरहेका छन् तर एकल बहुमत कुनै प्रदेशमा पनि कसैको नरहेका कारण सरकार गठनका विकल्पमा दलहरू लागेका छन्।

प्रदेश १ मा तीन विकल्प

प्रदेश १ को प्रदेश सभा ९३ सदस्यीय छ। सत्ता साझेदार दलहरूले ४६ सिट जितेका छन्। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सिट जितेको छ। 

एमालेले प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी ४० सिट जित्दा माओवादी केन्द्रले प्रत्यक्षमा नौ र समानुपातिक चार गरी १३ सिट जितेको छ। एकीकृत समाजवादीको प्रत्यक्षमा तीन र समानुपातिकमा एक सिट जित्दा राप्रपाले प्रत्यक्षमा दुई र समानुपातिकमा चार सिट जितेको छ। जसपाले समानुपातिकमा एक सिट जितेको छ। 

प्रदेश १ मा सत्ता गठबन्धनको ४६ सिट छ। उसलाई सरकार निर्माणका लागि एक सिट मात्रै आवश्यक छ। त्यसका लागि जसपा वा राप्रपाको सहयोग लिनुपर्ने हुन्छ। एमालेले पनि सरकार बनाउन राप्रपा र जसपाको सहयोग लिनुपर्ने हुन्छ तर एमालेले माओवादी केन्द्रको सहयोगमा सरकार गठन गरेमा अरू पार्टीको सहयोग लिनुपर्ने छैन। 

मधेश प्रदेशमा छैन सजिलो

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सदस्यीय प्रदेश सभा रहने मधेश प्रदेशमा अघिल्लो पटक पहिलो दल रहेको जसपा यस पटक तेस्रो दल बनेको छ। एमालेले प्रत्यक्ष १५ र समानुपातिक आठ गरी २३ सिट जित्दा कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गरी २२ सिट जितेको छ। 

जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६ सिट, लोसपाले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ सिट जित्दा जनमत पार्टीले प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३ सिटमा विजय हासिल गरेको छ। माओवादी केन्द्रले प्रत्यक्ष चार र समानुपातिक चार गरी आठ, एकीकृत समाजवादीले प्रत्यक्ष चार र समानुपातिकमा तीन गरी सात, नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा एक, नेपाल सङ्घीय समाजवादी पार्टीले एक, राप्रपाले एक र छ जना स्वतन्त्र उम्मेदवार प्रत्यक्षतर्फ विजयी भएका छन्। 

सरकार गठन गर्न बहुमतका लागि आवश्यक ५४ सांसदका लागि तीन वा तीनभन्दा बढी दल मिल्नुपर्ने देखिन्छ। सत्ता गठबन्धनले लोसपा र जनमत पार्टीको साथ लिएमा सरकार गठन हुन सक्छ। एमालेले सरकार गठन गरेमा जसपा, लोसपासँगै माओवादी केन्द्र वा जनमत पार्टी र स्वतन्त्रको साथ लिनुपर्नेछ। जसपाले सरकारको नेतृत्व गर्न चाहेमा एमालेसँगै अन्य तीनभन्दा बढी दलको सहयोग लिनुपर्नेछ।

बागमतीमा गठबन्धनकै सरकार

बागमती प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्ने देखिन्छ। प्रत्यक्षमा ६६ र समानुपातिकमा ४४ गरी ११० सांसद् रहने प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी ३७ सिट जितेको छ। दोस्रो दल माओवादी केन्द्रले प्रत्यक्षमा १४ र समानुपातिकमा सात गरी २१ सिट जितेको छ। सरकार बनाउन दुई दलकै बहुमत पुग्छ। चुनावका सहयात्री दल एकीकृत समाजवादीले प्रत्यक्षमा पाँच र समानुपातिकमा दुई गरी सात सिट जितेको छ।

एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेको छ। उसले सरकार बनाउन चाहेमा प्रत्यक्षमा सात र समानुपातिकमा छ गरी १३ सिट जितेको राप्रपासँगै माओवादी केन्द्रको पनि साथ लिनुपर्नेछ। बागमती प्रदेशमा नेमकिपाले प्रत्यक्षमा एक र समानुपातिकमा दुई सिट, हाम्रो नेपाली पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा एक सिट जितेको छ। 

गण्डकीमा प्रमुख दल नै हाबी

गण्डकी प्रदेशमा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सदस्यीय प्रदेश सभा बन्नेछ। गण्डकीमा सरकार गठनका लागि सबैभन्दा सहज सत्तारूढ गठबन्धनलाई छ । कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा नौ सिट जित्दा माओवादी केन्द्रले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी सात सिट जितेको छ। प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट जितेको एमालेले सरकार गठन गर्न माओवादी केन्द्रसँगै राप्रपा र नेसपाको साथ लिनुपर्नेछ। नेसपाले प्रत्यक्षमा एक, स्वतन्त्र प्रत्यक्ष एक र राप्रपाले समानुपातिकमा  दुई सिट जितेको छ। 

लुम्बिनीमा साना दल निर्णायक

लुम्बिनी प्रदेशमा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सिट रहेका छन्। एमालेले प्रत्यक्ष १८ र समानुपातिकमा ११ गरी २९ सिट, कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ सिट जितेको छ।

माओवादी केन्द्रले प्रत्यक्षमा पाँच र समानुपातिकमा चार सिट जितेको छ। एकीकृत समाजवादीले समानुपातिकमा एक सिट जितेको छ। यस प्रदेशमा एमाले र कांग्रेस मिलेमा अरू दलको सहयोग आवश्यक पर्दैन तर सत्ता गठबन्धनका कांग्रेस, माओवादीसहितका दलको सरकार गठन गर्दा साना दलको पनि साथ लिनुपर्नेछ। लुम्बिनी प्रदेशमा जसपाले तीन, नागरिक उन्मुक्तिले चार, लोसपाले तीन, राप्रपाले चार, जनमत पार्टीले तीन, जनमोर्चाले एक र तीन स्वतन्त्र निर्वाचित भएका छन्। 

कर्णालीमा तीन विकल्प

कर्णाली प्रदेश सभाका ४० मध्ये कांग्रेसले प्रत्यक्षमा नौ र समानुपातिकमा पाँच गरी १४ सिट जितेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा नौ र समानुपातिकमा चार गरी १३ सिट जितेको छ। एमालेले प्रत्यक्षमा पाँच र समानुपातिकमा पाँच गरी १० सिट जित्दा स्वतन्त्र एक, एकीकृत समाजवादी एक र राप्रपाको एक सिट छ।

कांग्रेस र माओवादी गठबन्धनकै सरकार बनेमा अन्य दल आवश्यक पर्दैन। दोस्रो विकल्प माओवादी र एमालेको सरकार बने पनि अरू दल आवश्यक पर्दैन। कांग्रेस–माओवादी, कांग्रेस–एमाले वा माओवादी–एमालेको सरकार बन्ने तीनवटा विकल्प कर्णाली प्रदेशमा देखिएको छ। 

सुदूरपश्चिममा गठबन्धनलाई सहज

प्रत्यक्षमा ३२ सहित ५३ सदस्यीय प्रदेश सभा रहेको सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनलाई बहुमत प्राप्त भएको छ तर गठबन्धन कायम नरहेमा दुईवटा विकल्पमा सरकार बन्नेछन्। 

कांग्रेस प्रत्यक्षमा १२ र समानुपातिकमा सात गरी १९ सिट जितेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा आठ र समानुपातिकमा तीन गरी ११ सिट जितेको छ। एमालेले प्रत्यक्षमा तीन र समानुपातिकमा सात गरी १० सिट जितेको छ। नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादीले चार, राप्रपाले एक र स्वतन्त्रले एक सिट जितेका छन्। 

सुदूरपश्चिममा कांग्रेस–माओवादीको सरकार बने स्वतः बहुमत पुग्छ। माओवादी–एमालेसहितका दलले अन्य दलसँग सहयोग लिनुपर्नेछ। त्यसैगरी कांग्रेस–एमालेको सरकार बने पनि बहुमत पुग्नेछ।