लीलाधर ओली
घोराही, कात्तिक ३ गते । दाङको घोराहीमा प्रहरीले वडाध्यक्षसहित १३ जनालाई पक्राउ गरेको छ । आइतबार राति घोराही उपमहानगरपालिका–१५, काठेकोहलमा रहेको होटल टिथ्रीमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्यालसहित नौ जनालाई पक्राउ गरेको हो ।
प्रहरी उनीहरूको साथबाट नगद तीन लाख ४५ हजार नौ सय १५ रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।
प्रहरी नायब उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा कृष्णबहादुर घर्ती, नारायणप्रसाद अधिकारी, माधव भण्डारी, बिक्रम केसी, लङ्कबहादुर बुढा, सागर बुढा, प्रबिन रावत र तेजप्रसाद आचार्य रहेका छन् ।
त्यसैगरी, घोराही–१५, काठेकोहलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले नगद ६० हजार छ सय ४० रुपियाँ बरामद गरेको छ । पक्राउ पर्नेमा अनुप कशौधन, ज्ञानेन्द्र रिजाल, सोही ठाउँ एकराज खत्री र सोहेलमान मनसुरी रहेका छन् ।