ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक ३ गते । गाउँघरमा दसैँ तिहारको झल्को पिङले दिने गर्दछ । केही वर्ष पिङ हाल्ने संस्कृति हराए पनि अहिले भने फेरि उक्त संस्कृति पुर्नजीवित हुन थालेको छ । नेपालीको दोस्रो ठुलो चाड तिहारको आगमन सँगै ग्रामीण वस्तीमा अहिले पिङ हाल्न थालेपछि गाउँघरको वातावरण रमाइलो बनेको छ ।
विभिन्न पेशा तथा रोजगारीका लागि सहर झरेका पनि गाउँ फर्किएका छन् । चाडपर्व मनाउन गाउँ फर्किएका युवापुस्ताले परम्परागत पिङ संस्कृतिलाई संरक्षण गर्न जुटेका छन् । लिङ्गे, चमच्चा(रोटेपिङ) र देउसी भैलोले ग्रामीण वस्तीमा रमाइलो वातावरण बनेको छ ।
अहिले कतिपय ग्रामीण वस्तीमा पिङ संस्कृति हराइसकेको छ । तर म्याग्दीका ग्रामीण भेगमा पिङ संस्कृति अझै जीवित छ । पिङ संस्कृतिलाई जीवित राख्न युवाले सक्रियता देखाएका छन् । युवापुस्ताको सक्रियतामा जिल्लाका अधिकांश गाउँमा तिहारको अवसर पारेर चमच्चा (रोटेपिङ) र लिङ्गे पिङ हालेको पाइन्छ ।
बेनी नगरपालिका २ को एकता अर्जम सांस्कृतिक समूहमा आवद्ध भएका स्थानीय युवाले दसैं–तिहारको अवसर पारेर स्थानीय साधनस्रोत र परम्परागत प्रविधिको उपयोग गरेर लिङ्गे र चमच्चा पिङ हालेका छन् ।
पिङ संस्कृतिको संरक्षण र सीप पुस्तान्तरणका लागि युवा मिलेर लिङ्गे र चमच्चा पिङ हालेको एकता अर्जम साँस्कृतिक समूहका सचिव सुवास आलेमगरले बताउनुभयो ।