• १७ माघ २०७९, मङ्गलबार

यःमरी पुन्हिको रौनक

blog

काठमाडौँ, मङ्सिर २३ गते । महिलाहरू हाकु पटासी, सेतो पटुका, खुट्टामा कल्ली, मुगाको माला, कानमा माकासी (झुम्का), शिर न्यापु सिखमा सजिएर बाँसुरी र धिमे बजाउँदा माहोल नै रमणीय भएको थियो । 

पुरुष भने ज्यापु पोसाक (नेवार समुदायको मौलिक पहिरन)मा सजिँदै धिमेको तालमा सबैलाई नचाइरहेका थिए । 

उपत्यकालगायत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले नाचगानसहित धुमधामसँग यःमरी पुन्हि मनाएका छन् । 

यःमरी अर्थात् मनपर्ने रोटी बनाएर सांस्कृतिक ¥याली निकालिएको थियो । जसमा सबै मौलिक पहिरनमा सजिएका थिए भने नेवार समुदायको बाजागाजा बजाइएको थियो । 

यःमरी पुन्हिको अर्थ र आफ्नो संस्कृतिको संरक्षणको निम्ति यस प्रकारको कार्यक्रम गरिएको ज्यापु संस्कृति विकास कोष १९औँ राष्ट्रिय ज्यापु दिवस समारोह समिति ११४३ को अध्यक्ष पञ्चनारायण महर्जनले जानकारी दिनुभयो । 

“नेवार समुदायमा यःमरी पुन्हिले विशेष महत्त्व बोकेको छ,” महर्जनले भन्नु्भयो, “यःमरी पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरूप बनाएर त्यसभित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट यो परिकार तयार पारिन्छ ।” 

यःमरी खानमा पनि मीठो हुनुको साथै यसमा तेल वा अन्य चिल्लोपना नहुने हुनाले यो परिकार स्वास्थ्यका हिसाबले हितकारी छ । यःमरीको त्रिकोणात्मक आकारले षट्कोणको अर्धभागका रूपमा सरस्वती अथवा ज्ञानको प्रतिविम्बका रूपमा लिइने पनि उहाँले जानकारी दिनुभयो । 

महर्जनका अनुसार कृषि प्रधान देश भएकाले त्यस बेला हामी कसैप्रति निर्भर थिएनौँ यःमरी त्यही आत्मनिर्भरताको आविष्कार हो । यःमरी पुन्हिको दिनमा पूजा गरी चढाएको यःमरी चार दिनपछि मात्र निकालेर प्रसादका रूपमा खाने चलन छ । जसले गर्दा भकारी सधैँ भरिभराउ हुने मान्यता रहिआएको छ । 

यःमरी पुन्हिका दिनमा विशेष गीत गाएर यो परिकार घरघरमा माग्न जाने चलन पनि रहिआएको छ । ¥यालीमा सहभागी ७० वर्षीय राममान श्रेष्ठले यो चलनबारे जानकारी दिनुभयो ।

उहाँले अहिले गीत गाएर यःमरी माग्न जाने चलन लोप भएकोमा गुनासो व्यक्त गर्नुभयो । 

यःमरी च्वामु, उके दुने हामो,

बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति

त्यः छिं त्यः , बकछिं त्यः

लातापाता कुलिचां जुसें त्यः....

यस दिन केटाकेटी रमाइलो गर्दै छरछिमेकको दैलोमा गएर यःमरी माग्ने चलन पनि छ, काठमाडौँको हरिसिद्धि र ठेँचोमा सोही दिन विशेष मुखौटो लगाएर नाच देखाइने चलन पनि परापूर्वकालदेखि हुँदै आएको पाइन्छ ।

संस्कृतिविद्का अनुसार यःमरीको प्रसङ्ग देवगणसँग जोडिएको छ । धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुबेरबारे थाहै नभए पनि उहाँलाई सत्कारपूर्वक यःमरी खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । यःमरीझैँ सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसँग बितोस् भन्ने उद्देश्यले यो वर्ष मनाउने गरिएको जनविश्वास रहेको छ । 

साथै बिहीबार ज्यापु दिवस पनि मनाउने गरिन्छ । ज्यापु संस्कृतिको रक्षार्थ २०६१ सालबाट यो दिवस मनाउन थालिएको हो । नेवार संस्कृति, सङ्गीत, बाजागाजा, वेशभूषा तथा एकता जस्ता पारम्परिक महत्तवका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान प्रसारसमेतका लागि हरेक वर्ष काठमाडौँ उपत्यकाका भिन्नाभिन्नै स्थानको अगुवाइमा आयोजना गरी ज्यापु दिवस मनाइन्छ । 

धिमे बाजाको तालमा जात्राको रौनक नै अभूतपूर्व हुन्छ र त्यसमाथि हाकु पटासी अनि ज्यापु लः अर्थात् ज्यापु लुगाले त झन् जात्रा हेर्नलायकको देखिन्छ । नेवारी सभ्यतासहितका विभिन्न सांस्कृतिक झाँकीहरू देखाउने परम्परा रहिआएको छ ।