• ७ वैशाख २०८१, शुक्रबार

‘कथा कस्तुरी’बाट निकै प्रभावित भएँ : शबाना

blog

काठमाडौँ, मङ्सिर ११ गते । बलिउडमा कुशल अभिनेत्रीका रूपमा चिनिनुहुन्छ शबाना आजमी । १८ सेप्टेम्बर १९५० मा जन्मनुभएकी शबानाका पिता कैफी आजमी आफ्नो समयका प्रसिद्ध कवि र गीतकार हुनुहुन्थ्यो भने आमा शौकत आजमी थिएटर कलाकार हुनुहुन्थ्यो । शबानाले दिल्लीको सेन्ट जेभियर कलेजबाट स्नातक पूरा गर्नुभयो र त्यसपछि उहाँ पुणेको फिल्म इन्स्टिच्युटमा भर्ना हुनुभएको थियो । 

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट–२०२२) निमन्त्रणामा नेपाल आउनुभएकी अभिनेत्री आजमीले नाट्य महोत्सवमा अभिनयसम्बन्धी मास्टरक्लास पनि सञ्चालन गर्नुभयो । अभिनेत्री आजमीले नेपालको प्राकृतिक सौन्दर्य र यहाँको सांस्कृतिक जगेर्नाको प्रशंसा गर्दै नेपाल प्राकृतिक रूपले धनी हुनुको साथै यहाँको कला संस्कृतिले यस स्थानमा चलचित्र निर्माणका लागि निकै सम्भावना रहेको विचार व्यक्त गर्नुभयो । अभिनेत्री आजमीले नेपालमा नाटक महोत्सवमा सहभागी हुन पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा कलाकारहरू मिलेर आफैँ नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन गरी यस्तो महोत्सव आँट्नु आश्चर्य लागेको छ । 

तीन महिना वर्कसप गरेर नाटक देखाउनु भनेको कुनै चानचुने कुरा होइन । यो निकै सराहनीय कार्य हो ।” महोत्सवमा मञ्चन भएको नाटक ‘कथा कस्तुरी’ हेरेर आफू निकै प्रभावित भएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छोटो समयको वर्कसप गरेर यति राम्रो नाटक तयार पार्नु सानो कुरा होइन ।” 

अभिनेत्री आजमीले आफू पहिला पनि नेपाल धेरै पटक आइसकेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “म पहिलो पटक १९७४ मा देव आनन्दको चलचित्र ‘इश्क इश्क इश्क’का लागि यहाँ आएकी थिएँ । त्यसपछि म सार्कको ‘गुडविल एम्बेसडर’ भएका बेला नेपाल आएकी थिएँ ।” 

मैले नेपाली नाटकमा पनि अभिनय गरिसकेकी छु । ‘स्पाइनल इन्ज्युरी रिहेवलिटेसन सेन्टरको सहयोगार्थ मञ्चन भएको नाटक ‘तुम्हारी अमृता’मा आफूले अभिनय गरेको, उहाँले सम्झनुभयो । त्यो समय पनि म नेपाल मै थिएँ ।” 

आफूले अहिलेसम्म एउटा पनि नेपाली चलचित्र नहेरेको तर नेपाली सङ्गीत भने सुनेको उहाँले बताउनुभयो । 

अभिनेत्री आजमी ती अभिनेत्रीमध्ये एक हुनुहुन्छ जसले एकभन्दा बढी चुनौतीपूर्ण क्यारेक्टर गरिसक्नुभएको छ । उहाँले यी पात्रहरूलाई पर्दामा यसरी मूर्त रूप दिनुभएको छ कि उहाँको चलचित्र हेर्ने दर्शकले उहाँको अभिनयलाई सधैँ सम्झिरहन्छन् । उहाँ कलात्मक चलचित्रका साथसाथै व्यावसायिक चलचित्रमा पनि सफल हुनुहुन्छ । १९७३ मा उहाँ मुम्बई आउनुभयो र निर्माता/निर्देशक ख्वाजा अहमद अब्बासलाई भेट्नुभयो । 

अब्बासले उहाँलाई चलचित्र ‘फास्ले’मा काम गर्ने अफर गर्नुभएको थियो तर यो चलचित्र प्रदर्शन हुनुअघि नै शबानाको चलचित्र ‘अङ्कुर’ प्रदर्शन भएको थियो । चलचित्रबाट उहाँले उत्कृष्ट अभिनयका लागि राष्ट्रिय पुरस्कार पनि पाउनुभएको थियो । उहाँले बलिउडको विशेष गरी आर्ट चलचित्रमा निकै राम्रा सम्झनलायक चलचित्रमा अभिनय गर्नुभएको छ ।