• ५ जेठ २०८१, शनिबार

अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा आज बिदा

blog

काठमाडौं, मङ्सिर ७ गते । कतार विश्वकपको माहोल विस्तारै तातेको छ । सहभागी सबै टोलीले समूहको पहिलो खेल खेल्ने क्रम जारी छ । तर, पहिलो खेलमै प्राप्त गरेको जितको उत्सव मनाउने क्रम पनि सुरु भएको छ ।

उपाधिको दाबेदार टोली अर्जेन्टिनालाई हराएपछि साउदी अरबले बुधबार देशभर सार्वजनिक बिदा दिर्ने निर्णय गरेको छ । बलियो टोली अर्जेन्टिनालाई पहिलो पटक हराएको खुशीयालीमा साउदीका राजा सलमान बिन अब्दुलाजिज अल साउदले देशमा उत्सव मनाउन बुधबार बिदा दिने घोषणा गर्नुभएको हो । 

साउदीले मङ्गलबार साँझ भएको समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको थियो । साउदी सरकारले सार्वजनिक बिदा सरकारी र निजी क्षेत्रका सबै सङ्घ संस्था र विद्यालयमा लागु हुने जनाएको छ । साउदीको स्टक एक्सचेन्ज तडउलले पनि आज कारोबार बन्द गर्ने निर्णय गरेको छ । 


लुसेल आइकोनिक स्टेडियममा भएको रोचक खेलमा साउदीलाई जिताउन सलेह अल सेहरी र सलेम अल दसरीले गोल गर्नुभएको थियो । अर्जेन्टिनाका कप्तान लियोन मेस्सीको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भयो । अर्जेन्टिनाको थप तीन गोललाई रेफ्रीले अफसाइड भन्दै मान्यता नदिएपछि अर्जेन्टिना पहिलो खेलमै स्तब्ध बनेको थियो । 

मङ्गलबारको नतिजासँगै समूह ‘सी’ मा तीन अङ्क बनाएको साउदी अरब शीर्षस्थानमा छ । अर्जेन्टिना अन्तिममा छ । पोल्यान्ड र मेक्सिकोले एक एक अङ्क बनाएका छन् । मङ्गलबार राति भएको खेलमा पोल्यान्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिएका थिए । एजेन्सी