सन्तोष सुवेदी
कास्की, मङ्सिर २७ गते । पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को टोलीले रङ्गशालाको निरीक्षणपछि पोखरा रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सङ्केत जनाएको छ ।
साफका महासचिव पुरुषोत्तम कट्टेल र एन्फाका महासचिव किरण राई नेतृत्वको टोलीले पोखरा रङ्गशाला निरीक्षण गर्नुभएको थियो । अनुगमनपछि टोलीले माघ १५ गतेदेखि साफ यु–१९ महिला च्याम्पियनसिप हुने जनाएको छ । यसका लागि स्थानीय आयोजक कास्की जिल्ला फुटबल सङ्घ र गण्डकी प्रदेश फुटबल सङ्घसँगै कास्की जिल्ला खेलकुद विकास समितिको सहयोगीको भूमिका रहने जनाइएको छ ।
प्रतियोगिता गर्नका लागि मैदान र केही भौतिक संरचना तयार गर्नुपर्ने भएकाले त्यसमा चेन्जिङ रुम र प्लेयर बक्स बनाउने जिम्मा कास्की जिल्ला फुटबल सङ्घलाई दिइएको छ भने मैदानको ग्रेडिङ मिलाउने र दुबोको काम जिल्ला खेलकुद विकास समितिले गर्ने छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पोखरामा अन्तर्राष्ट्रिय खेल हुनु सुखद पक्ष रहेको बताउनुभयो । सागको खेलबाहेक कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नहुनु खेलप्रेमीका लागि पनि चिन्ताको विषय बनेको उहाँको भनाइ थियो । जिल्ला खेलकुद, एन्फा गण्डकी, कास्कीलगायत सबै सरोकारवाला मिलेर पोखरामा हुने अन्तर्राष्ट्रिय खेललाई सफल बनाउने उहाँले बताउनुभयो ।
फुटबल मैदान, खेलाडी चेन्जिङ रुम, एथलेटिक्स ट्र्याक तथा मिडिया सेन्टर, हल, शौचालय, प्यारापिटको पश्चिमको विशिष्ट कक्षमा छानोलगायत पूर्वाधार निर्माण भएका छन् । १६ हजार पाँच सय सिट क्षमताको रङ्गशालाको पूर्वी भागमा पाँच हजार २६८, पश्चिममा तीन हजार ८१४, उत्तरमा तीन हजार ४४४ र दक्षिणमा तीन हजार ६९० सिट जडान गरिएको छ । त्यसै गरी अति विशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा २२८ तथा अशक्तका लागि २८ सिट जडान गरिएका छन् ।