• ४ जेठ २०८१, शुक्रबार

कात्तिक नाच प्रहसन

blog

काठमाडौँ, कात्तिक १५ गते। लोकको चरित्र उदाङ्गो पार्न देखाइने कात्तिक नाच प्रहसन भइरहेको छ। पाटनको डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाचका पाटनको कृष्ण मन्दिरमा छेउको डबलीमा रातमा देखाइन्छ। हरेक वर्ष कात्तिक शुक्ल पष्ठीदेखि यो नाचको सुरु हुन्छ। कात्तिक नाच संरक्षण समितिका सदस्य तथा पुजारी सञ्जय राजोपाध्यायले लोकको चरित्र उदाङ्गो पार्न र नैतिक शिक्षा दिन आयोजित प्रहसन भएकाले यसलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो।

उहाँका अनुसार तीन सय चालीस वर्षअघि सुरु भएको कात्तिक नाच बाथः प्रहसनको नामले पनि चिनिने गर्दछ। श्रीनिवास मल्लले तत्कालीन समाजमा रहेको विकृति र विसङ्गतिप्रति जनतालाई सचेत र सतर्क बनाउन आफैँद्वारा रचित आठ प्रहसनलाई समावेश गरिएकाले पनि यसलाई बाथः प्रहसन पनि भनिएको हो।

तीस वर्षसम्म विश्राम लिएपछि पुनः २०३८ सालदेखि बाथ प्रहसनले पुनः जीवन पाएको हो। राजोपाध्याय भन्नुहुन्छ– अझै सन्तोष लिने ठाउँ छैन्, यो नाच अझै पनि दोधार अवस्थामा छ। पचास वर्षअघि एक महिनासम्म चल्ने कात्तिक नाच हाल दस दिनमा सीमित भएको छ। तर यो नाच अझै पनि समयसापेक्ष छ। यो प्रहसन हालसम्म पनि समयसापेक्ष छ भन्ने प्रमाण अहिले पनि यो नाच हुँदा उपस्थिति दर्शकको भीड हो भन्नुहुन्छ राजोपाध्याय।

कात्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म दस दिन छोट्याएर देखाइँदै आइएको नाच अवधिमा कृष्णलीला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लीला, जलशयन, बराह अवतार, नृसिंह अवतार, वस्त्रहरण, दधिलीला लगायतका नाचहरू देखाउने गरिएको छ। यसैगरी, च्वले खुदाँ दाँ खुदाँ, कौला खिचा, महामूर्ख प्रहसन, सुकुली तुलिगु, माकः सि मिगु, जिचा, छ्य ध्वग्गि, मिमुसे, बनेगु शीर्षकका नाचहरू देखाउने गरिन्छ। विशेषगरी काठमाडौँको प्रतिनिधि गंदाजु, भक्तपुरको प्रतिनिधि समादाजु र ललितपुरको प्रतिनिधि गर्ने बाथः किजामार्फत लोकमा देखिएको विकृति र विसङ्गतिलाई उजागर गर्दै आएको जनाइएको छ।

ललितपुरका विजय अवाले छुट्टाछुट्टै कथामा प्रहसन प्रदर्शन गरिने भए पनि सबै प्रहसन एकआपसमा जोडिएको र  यो बाथः प्रहसनले आधुनिकताको रूप लिएको छ भन्नुहुन्छ। उहाँले बाथः प्रहसनले हास्यको माध्यमबाट समाजको विकृतिलाई उजागर गर्ने गरेको उल्लेख गर्दै भन्नुभयो, “कात्तिक नाचमार्फत ‘गदाजु, समदाजु र बाथः किजाले समाजलाई सही दिशातर्फ लाने भएकाले यो मनोरञ्जनभन्दा पनि माथि रहेको छ।”

ललितपुरका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको हितका लागि तान्त्रिक विधिले नरसिंहलगायतका देवीदेवताको नाच प्रारम्भ गरेपछि यो कात्तिक नाचमा श्रीनिवास मल्लको प्रहसन मिसिएपछि धेरैले यसलाई सामाजिक र धार्मिक नाचको सङ्गमका रूपमा पनि लिने गरेको अवालेले बताउनुभयो।गत १३ वर्षदेखि कात्तिक नाचमा हीरण्यकश्यपुको अभिनय गर्दै आउनुभएका किरण चित्रकारले कात्तिक नाचलाई मात्र नाचका रूपमा हेर्न नहुने बताउनुहुन्छ। 

उहाँले कात्तिक नाचको नृसिंह नाचलाई तान्त्रिक साधनाको माथिल्लो प्रयासको रूपमा लिनुपर्ने बताउनुभयो। चित्रकार भन्नुहुन्छ, “यो नाच आफैँमा रहस्यमय छ। एकातर्फ समाजको विकृति र विसङ्गति उजागर गर्न प्रहसन प्रदर्शनी गरिन्छ भने अर्कोतर्फ धार्मिक नाच देखाइन्छ। उहाँका अनुसार यसै नाचमा शीतज्वर, विषम ज्वरबीचको युद्ध मधुकैटव वधका साथै वराह अवतारसमेत प्रदर्शन गर्दै आएको छ। सो नाचमा हीरण्यकश्यपु र प्रल्हादको संवाद घटनालाई नाचबाट प्रस्तुत गरिन्छ भने टुक्का  हँसीमजाक मिश्रित व्यङ्ग्यात्मक प्रहसन पनि सोही अवसरमा प्रस्तुत गरिन्छ।