• ६ जेठ २०८१, आइतबार

चाडपर्वमा छालाको स्याहार

blog

काठमाडौँ, असोज २५ गते । दशैँको खानपान तथा मेकअपले धेरैलाई अनुहार तथा छालामा समस्या आउन सक्छ। त्यसैले समयमा नै अनुहार तथा छालाको स्याहार नगरे पछि ठुलो समस्या आउन सक्ने सौन्दर्यविद् सुष्मा महरा बताउनुहुन्छ।

चाडपर्वमा धेरै मेकअप र खानपानको लापरबाहीका कारण छालामा विभिन्न समस्या आउन सक्छ, उहाँले भन्नुभयो, स्वस्थ बनाउन अलिकति समय निकालेर यसको हेरचाह गर्नुपर्छ। छालाको सुरक्षाका लागि महँगो मूल्य तिरेर मात्र हुँदैन बरु केही कुरामा सचेत भएर घरेलु उपाय अपनाउन सकिन्छ। सामान्य कुरामा ध्यान पु¥याउन सकियो भने छालाको प्राकृतिक सौन्दर्य जोगाउन सकिन्छ, महरा भन्नुहुन्छ।

शरीर र अनुहारको छालालाई घामपानी, धुवाँ–धुलो, बढी चिसोका साथै विभिन्न किसिमको प्रदूषणबाट बचाउनुपर्ने हुन्छ। धेरै गर्मी र चर्को घामले छालामा चायाँ, पोतो र तिलकोठी आउन सक्छ। साथै चर्को घाममा धेरै बस्नाले छालाको क्यान्सर हुने सम्भावना बढ्छ, महराको भनाइ छ।

महराका अनुसार मादक पदार्थ र धूमपानको बढी सेवनले पनि शरीरमा पानीको मात्रा सुकेर ब्लड सर्कुलेसनमा कमी आउँछ, जसका कारण छाला कमजोर एवं निर्जीव हुन थाल्छ अनि छालामा भएको भिटामिन ‘सी’ पनि नष्ट भएर जाने भएकाले छाला फुस्रो हुनुका साथै चाउरी परेको देखिन्छ।

डन्डिफोरले पनि अनुहारलाई कुरूप बनाउँछ। युवावस्थामा हर्माेन्स परिवर्तनका कारण तैलीय ग्रन्थी बढी सक्रिय हुनाले रोमछिद्र बन्द हुन्छ र डन्डिफोर आउने गर्दछ। यसलाई कोट्याएमा अथवा बिग्रिएर दाग बस्ने सम्भावना हुन्छ। धेरै बाफ लिए पनि अनुहार बिग्रन्छ, बाफले अनुहारको रोमछिद्र खुल्छ र पछि अनुहारमा प्वाल देखिन्छ। सन्तुलित आहारको कमीले पनि शरीर कमजोर हुनुका साथै अनुहारमा विभिन्न परिवर्तन देखिन्छ। बढी चिल्लो, पिरो, अमिलो तथा मसलादार खानाले शरीरको पाचन प्रणालीदेखि अनुहारमा पनि असर पार्छ। 


छाला बिग्रनबाट बचाउने प्राकृतिक उपाय 


  •  सकेसम्म घाममा नहिँड्ने, हिँड्नु परे छाता प्रयोग गर्ने।
  •  धूमपान तथा मादक पदार्थको सेवन सकेसम्म नगर्ने, प्रशस्त मात्रामा पानी पिउने।
  •  सादा खाना बढी खाने अर्थात् चिल्लो, पिरो, अमिलो र मसलेदार खाना एकदम कम खाने। तरकारी र फलफूल बढी खाने।
  • चिन्ता नलिने, सकेसम्म बढी 
  • आराम गर्ने, कम्तीमा पनि आठ घण्टा निदाउने।
  •  गर्मी महिनामा दैनिक तीन पटक तथा जाडोमा मनतातो पानीले तीन पटकसम्म अनुहार धुने।
  •  बाफ दिँदा मलमलको कपडालाई भिजाएर अनुहार छोप्ने। अनुहारमा ब्ल्याक हेड्स–ह्वाइट हेड्स बढी छ भने महिनामा एक पटक मात्र बाफ लिने।
  •  छालालाई स्वस्थ, चम्किलो एवं सुन्दर बनाउन महिनामा एक पटक फेसियल गर्ने वा छालाको किसिम पत्ता लगाएर दक्ष ब्युटिसियनको सल्लाहअनुसार छालाको स्याहार गर्ने।