• १९ चैत २०८२, बिहिबार

रैथाने थारु खानाको प्रवर्धन आवश्यक : प्रदेश प्रमुख घर्ती

blog

थारु परिकारको स्वाद लिँदै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, चैत १९ गते ।
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले रैथाने थारु खानाको संरक्षण तथा प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना तथा थारु सांस्कृतिक संरक्षण केन्द्र, चखौरा दाङको सहकार्यमा सञ्चालन भएको तीन दिने थारु परम्परागत खानाको व्यावसायिक प्रवर्धन तालिमको समापन कार्यक्रममा उहाँले थारु परिकारको व्यवसायीकरणमार्फत संरक्षणसँगै आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले थारु समुदायका परम्परागत खानाहरू स्वादका हिसाबले फरक–फरक र समृद्ध हुने भएकाले अन्य समुदायले पनि यसको स्वाद लिनु लाभदायक हुने बताउनुभयो। रैथाने परिकारलाई आयआर्जनसँग जोड्दै पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पु¥याउन सकिने उहाँको भनाइ थियो। त्यस्तै, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु खानालाई अन्य समुदायसम्म विस्तार गर्दै व्यवसायिक रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो। यसबाट आर्थिक स्तर वृद्धि गर्ने ठूलो सम्भावना रहेको उहाँले औंल्याउनुभयो ।

उहाँले लोप हुँदै गइरहेका थारु समुदायका परम्परागत तथा रैथाने खानाको संरक्षणसँगै त्यसलाई व्यवसायीकरण गर्ने अभियानमा आफूहरू सक्रिय रहेको जानकारी दिनुभयो । सोमबारदेखि सुरु भएको उक्त तालिम बुधबार सम्पन्न भएको थियो। दाङ जिल्लाका विभिन्न पालिकाबाट ४० जना थारु समुदायका महिलाहरूको सहभागिता रहेको थियो। समापनका अवसरमा सहभागीहरूले तयार पारेका करिब ४० प्रकारका थारु परिकारहरूको प्रदर्शनी तथा स्वाद परीक्षणसमेत गरिएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीलगायत जिल्लाका  सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।