• १९ चैत २०८२, बिहिबार

घरमै नागरिकता पाउँदा दङ्ग

blog

घरमा नै नागरिकता पाउनुभएकी सुन्तली परियार ।

मकवानपुरगढी समाचारदाता

मकवानपुरगढी, चैत १९ गते   । मकवानपुरको विकट पालिका राक्सिराङ गाउँपालिका–४, घोरकोटेकी सुन्तली परियारले ५१ वर्षपछि आफ्नै घरमा नागरिकता प्राप्त गर्नुभएको छ । दुई वर्षअगाडि श्रीमान् गुमाएकी सुन्तली आठ सन्तानकी आमा हुनुहुन्छ । खेतीपाती गरेर सन्तानको हेरचाह गरिरहेकी सुन्तलीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख वसन्त अधिकारी, राष्ट्रिय पञ्जीकरण विभागका अधिकारी र पालिकाका अध्यक्ष राजकुमार मल्लले घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।  

उहाँले बाबुको नामबाट नागरिकता प्राप्त गर्नुभयो । नागरिकता बनाउनकै लागि चार घण्टा दुरीको बाटो हिँडेर हेटौँडा झर्नुपर्ने बाध्यता अब उहाँलाई छैन । “हेटौँडा धाउँदाधाउँदा धेरै दुःख पाएको थिएँ । अब यसले गर्दा मलाई सहारा थपियो । अब त भत्ता पनि आउँछ । अरू केही कामका लागि रोकिनु पर्दैन, धेरै खुसी छु,” उहाँले भन्नुभयो । 

राक्सिराङ गाउँपालिका–९, लैबाङकी ६५ वर्षीय सुकुमाया प्रजा पनि पहिलो पटक हातमा नागरिकता परेपछि निकै खुसी देखिनुभएको छ । बुवाआमा आफू सानो हुँदा नै बितेपछि नागरिकता बन्न नपाएको उहाँ सुनाउनुहुन्छ । अब पालिकाले हातमै नागरिकता दिने भएपछि सुकुमाया श्रीमान्का साथमा यहाँ आउनुभएको हो । उहाँ भन्नुहुन्छ, “म सानो हुँदा बुवाआमा बितेको अनि कसरी बन्नु नागरिकता ? अब मलाई धेरै सजिलो हुन्छ । अर्काे चुनावसम्म बाँचेँ भने भोट हाल्न पाउँछु ।” 

यस्तै २०१८ मा जन्मिएकी सुन्तलीमाया नगरकोटीलाई नागरिकता बनाइदिने कोही थिएन । बुवाआमा र श्रीमान् गुमाइसकेकी नगरकोटीले १० वर्षअगाडिदेखि नै पाउनुपर्ने एकल महिला भत्ता पाउनुभएको थिएन । उमेरले नेटो काटिसक्दा पनि नेपाली नागरिकको पहिचान नपाएकी सुन्तलीमायालाई अब आफ्नो छोराछोरीकोे पनि नागरिकता बन्छ भन्ने खुसीले आँखा रसाएका छन् । 

“कति खुसी लाग्यो । यी हेर्नु त । अब यो कागजले मेरो कति धेरै काम बन्छ,” उहाँले भन्नुभयो । विभिन्न कारणले नेपाली नागरिकको पहिचानबाट समेत वञ्चित हुन पुगेकालाई नागरिकता दिलाई उनीहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले घरदैलोमै नागरिकता पु¥याउने कोसिस गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो । पालिकाको समन्वयमा यहाँ निरीक्षण गरी ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका नागरिकले विभिन्न कारणले नागरिकता नपाएको जानकारी पाएपछि प्रशाासन टोली यहाँ आइपुगेर नागरिकता वितरण गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी मकवानपुरका अन्य पालिकामा गएर सेवा दिने छौँ । कोही पनि नेपाली नागरिक आफ्नो पहिचानबाट वञ्चित हुनुहँुदैन भन्ने उद्देश्यले हामी घरदैलो अभियानमा जुटेका हौँ । तीन तहको सरकारबिचको समन्वयलाई बलियो बनाउँदै नागरिकलाई सहज सेवा पहुँचका लागि हामी लागिपरेका छौँ ।”

विगतका योजना अनुगमन र मूल्याङ्कन गर्ने, आगामी योजनाको खाका तयार गर्ने र स्थानीयका समस्या मुद्दालाई प्रत्यक्ष समाधान गर्ने गरी पालिका अगाडि बढेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । यसरी पालिकामा पहिलो पटक यहाँका नागरिकलाई घरदैलोमा नागरिकता प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पालिकाभर ३० जनालाई नागरिकता र एक हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । 

त्यस्तै पालिकाले ‘बृहत् एकीकृत घुम्ती शिविर’ कार्यव्रmम अन्तर्गत रोजगारीसम्बन्धी परामर्श र सूचना प्रदान कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान, मनोसामाजिक परामर्श, लघुउद्यम कार्यक्रम, नयाँ उद्यमी सिर्जना र जानकारी, निःशुल्क परामर्श तथा सिपमूलक तालिम प्रविधि हस्तान्तरण र बजारीकरण सहयोग, परिवार नियोजन तथा सुत्केरी आमालाई कुखुरा वितरण, मलखाद, बिउ तथा कृषि सामग्री वितरणलगायतका अन्य कार्यव्रmम एकै पटक सञ्चालन गरेको हो । पालिकाका नौ वटा वडामा यी कार्यव्रmम सञ्चालन गरिएको हो ।