गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १९ गते । चैत्रपूर्णिमाको अवसरमा काठमाडौँको बौद्ध क्षेत्रमा तामाङ समुदायले तेमाल जात्रा बुधबार धुमधामका साथ मनाइएका छन् । तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो । जात्राका अवसरमा बौद्धनाथ वरिपरि लामा गुरुले पूजापाठ गरेका थिए ।
काभ्रेको तेमाल क्षेत्रबाट सुरु भएको मानिने यो जात्रामा दिवङ्गत आफन्तको आत्माशान्तिको कामना गर्दै बत्ती बाल्ने, पूजापाठ गर्ने प्रचलन रहिआएको तामाङ इतिहास र संस्कृति अध्येता रवीन्द्र तामाङले बताउनुभयो । उहाँका अनुसार, वर्षभरि दिवङ्गत प्रियजन र पितृको सम्झनामा बत्ती बाल्दै पूजा गर्ने र फापरे गीत गाएर रमाउने यो पर्वमा काठमाडौँ आसपासका जिल्लाबाट तामाङ ओइरिन्छन् ।
चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा मनाइने यो जात्रामा युवकयुवतीचाहिँ चैत्य परिक्रमा गर्दै मन पराएका बिच ‘फापरे गीत’ मार्फत जुहारी खेल्छन् । गीतबाटै ठेगाना सोध्नेदेखि प्रेम प्रस्ताव राख्नेसम्म हुन्छ । जात्राका अवसरमा श्रद्धालुले बौद्ध स्तूपपरिसरमा छ्योमि (बत्ती) बाल्नुका साथै मृतकको नाममा ‘ङो’ पूजा गरेका छन् । लामा गुरुहरूको नेतृत्वमा विशेष ‘ङोवा मोन्लम’ पूजापाठसमेत सम्पन्न गरिएको थियो ।
तामाङ संस्कार अनुसार परिवारमा मृत्यु भएका व्यक्तिको अस्तु घरमा सुरक्षित राखी बत्ती बालेर पूजा गर्ने चलन छ । सोही परम्परा अनुसार चैत्रपूर्णिमाको दिन बौद्धमा पूजापाठ गरी श्रद्धालुहरू बालाजु बाइसधारामा स्नान गर्न जाने र त्यसपछि स्वयम्भू पुगेर बत्ती बालेर अस्तु सेलाउने प्रचलन रहेको छ । यसरी पूजा गरेमा मृतकको आत्माले शान्ति पाउने र स्वर्ग जाने विश्वास गरिन्छ । चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि सुरु हुने यो जात्रामा देशका विभिन्न जिल्ला मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतबाट आएका तामाङ समुदायका मानिसको उल्लेख्य उपस्थिति रहने गर्छ । तामाङका अनुसार, तेमाल जात्रा दुईदिने जात्रा हो । त्यसैले चैत्रपूर्णिमाको अघिल्लो दिन यस जात्रा बौद्ध स्तूपमा सूर्यास्त भएपछि आकाशमा पूर्ण चन्द्र देखिए सुरु हुन्छ । भोलीपल्ट चैत्रपूर्णिमाको दिनमा सूर्यदयोसँगसँगै यस जात्रा पुनः आरम्भ भएर साँझपख आकाशमा पूर्ण चन्द्र देखिएपछि जात्रा सम्पन्न हुन्छ ।