चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १९ गते । चालु आर्थिक वर्षको चैत दोस्रो साता सम्ममा ताप्लेजुङमा १२ करोड रुपियाँ बढी राजस्व रकम सङ्कलन भएको छ । साढे नौ महिनाको अवधि अर्थात् गत साउनदेखि चैत महिनाको दोस्रो सातासम्ममा सङ्घ र प्रदेश मातहतका निकायबाट उक्त राजस्व रकम सङ्कलन भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार कुल १२ करोड ३९ लाख ४० हजार २७७ रुपियाँ राजस्व सङ्कलन भएको छ । सङ्कलित राजस्व रकममध्ये सङघतर्फ ११ करोड १८ लाख ८५ हजार ५८६ रुपियाँ रहेको छ । त्यस्तै प्रदेश मातहतका निकायबाट एक करोड २० लाख ५४ हजार ६९१ रुपियाँ राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी नवीन खनालले जानकारी दिनुभयो ।
सूचना अधिकारी खनालका अनुसार जिल्लामा रहेका सङ्घ मातहतका विभिन्न २१ वटा कार्यालयबाट उक्त राजस्व रकम सङ्कलन भएको हो । सङ्घीय निकायतर्फ सबैभन्दा बढी कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत आठ करोड ९६ लाख ७८ हजार २४४ रुपियाँ राजस्व जम्मा भएको छ । जिल्ला प्रशासन कार्यालयबाट ९३ लाख ३६ हजार ७०० रुपियाँ राजस्व सङ्कलन भएको छ ।
त्यस्तै नापी कार्यालयबाट ३८ लाख ७१ हजार १०३ रुपियाँ, शिक्षा विकास तथा समन्वय इकाइबाट ३७ लाख ३७ हजार ६०० रुपियाँ राजस्व सङ्कलन भएको छ । यसैगरी ताप्लेजुङ जिल्ला अदालतबाट १७ लाख ४८ हजार ६८२ रुपियाँ, कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयबाट १६ लाख ४२ हजार ४७८ रुपियाँ राजस्व सङ्कलन भएको देखिएको छ । यता अहिलेसम्म जिल्ला सरकारी वकिल कार्यालय, कारागार कार्यालय, सीमा प्रशासन कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट अहिलेसम्म कुनै पनि राजस्व रकम जम्मा भएको नदेखिएको कोलेनिकाले जनाएको छ ।
यस्तै प्रदेश मातहतका विभिन्न १२ कार्यालयबाट राजस्व रकम सङ्कलन हुने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ । कोलेनिकाका अनुसार प्रदेश निकायतर्फ सबैभन्दा बढी डिभिजन वन कार्यालयले हालसम्म एक करोड दुई लाख ४३ हजार ८१६ रुपियाँ राजस्व सङ्कलन गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयले १३ लाख ३० हजार ८७५ रुपियाँ, पूर्वाधार विकास कार्यालयले चार लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । जिल्ला अस्पतालसहितका केही कार्यालको हालसम्म कुनैपनि राजस्व रकम जम्मा नभएको कोलेनिकाको जानकारी दिएको छ ।