• १९ चैत २०८२, बिहिबार

प्रहरीको बोली, बचन, व्यवहार र कार्यशैली अब परिवर्तन हुनुपर्छ : आइजीपी कार्की

blog

आइजीपी दानबहादुर कार्की इलाका प्रहरी कार्यालय बुटवलमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली 
सिद्धार्थनगर,चैत १९ गते ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परिवर्तनको महशुस हुनेगरी उच्च मनोवलका साथ सेवामा जुट्न आग्रह गर्नुभएको छ । इलाका प्रहरी कार्यालय बुटवलमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीका झण्डै आधा युनिटमा भवन, आवश्यक साधनस्रोत र पर्याप्त कानुन नहुँदा पनि जनताप्रतिको जिम्मेवारी बहन गर्न नचुकेको बताउनुभयो ।

आईजीपी कार्कीले समस्या लिएर आउने नागरिकको निवेदन प्रहरी आफैंले लेखिदिन पनि आग्रह गर्नुभयो। ‘‘समस्या लिएर आएका नागरिकको निवेदन लेखिदिने नाममा पैसा असुल्ने, खाजा खाने, घुम्दै डुल्ने प्रवृत्ति आजैदेखि अन्त्य होस् । कार्यालयमा भोलेन्टियर राखेर पनि निवेदन लेख्ने व्यवस्था मिलाउनुहोस्,’’ उहाँको भनाइ छ  ।

खल्ती खाली हुनेहरूको वास्तविक सहारा प्रहरी बन्नुपर्ने आईजीपी कार्कीको भनाइ छ । ‘‘अब पुरानो शैलीले होइन, प्रहरीको बोली, बचन, व्यवहार र कार्यशैली परिवर्तन गरिनुपर्छ । नागरिकका कुरा समयमा सुनेर समयमै सम्बोधनको प्रयत्न होस्,’’ उहाँले भन्नुभयो ।

उहाँले हालको अवस्थामा प्रहरीलाइ भवन, साधनस्रोत र कानुनी अधिकार अपुग रहेको बताउनुभयो। विभिन्न अभावका बिच पनि प्रहरीले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्दै आएको उहाँको भनाइ छ ।

नेपाल प्रहरीका हरेक क्रियाकलापमा पछिल्लो समय नागरिकको अपार समर्थन पाएको बताउँदै उहाँले नागरिकको त्यही सहयोग र समर्थनले थप जिम्मेवार र उत्तरदायी भएर काम गर्न प्रोत्साहन मिलेको उल्लेख गर्नुभयो

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संविधानले सुनिश्चित गरेका महिला बालबालिका र ज्येष्ठ नागरिकको सेवाको लागि बेलायत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो  ।

उहाँले मोतिपुर औद्योगिक क्षेत्रभित्र वडा प्रहरी कार्यालय आवश्यक रहेको बताउँदै यसका लागि आवश्यक सहयोगका लागि अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र खत्री, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक तथा परियोजनाका प्रमुख इन्द्र न्यौपाने, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पौडेल लगायतले नवनिर्मित भवनबाट प्रदान हुने सेवाले लाभ हुने धारणा राख्नुभयो ।

महिला र बालबालिकाको सुरक्षा र न्यायमा पहुँच वृद्धिका लागि नेपाल प्रहरीका लागि हालसम्म ४२ वटा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।