• १९ चैत २०८२, बिहिबार

ओझालाई लरेट पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १९ गते । पत्रकार तथा कवि सरोज ओझालाई साहित्य तथा काव्य अभिव्यक्तिमा अन्तर्राष्ट्रियस्तरमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप उत्कृष्ट कवि तथा लरेट पुरस्कार २०२६ प्रदान गरिएको छ । पुरस्कार जेजबेक इन्टरटेनमेन्ट तथा म्युजिक बारले जेजाराइन्स्की र भ्याल्ज लभ ट्यान्डेम समूहसँगको सहकार्यमा साथै जेजबेक बिब्लियोमेनिया साहित्य समूहको संयोजनमा प्रदान गरिएको हो ।

उक्त पुरस्कार त्यस्ता कविलाई दिइन्छ, जसले केवल कविता लेख्ने मात्र नभई भाषालाई कलाका रूपमा उकास्दै गहिरा भावना उजागर गर्छन्, नयाँ दृष्टिकोण प्रस्तुत गर्छन् र व्यक्तिगत अनुभूतिलाई विश्वव्यापी मानवीय कथामा रूपान्तरण गर्न सक्षम हुन्छन् । कार्यक्रमका संस्थापक फिलिपिन्सका जेजबेक मार्हमार्कले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू र योगदानकर्ताप्रति आभार व्यक्त गर्दै, यस्ता सहकार्यले विश्व साहित्यिक संस्कृतिको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कवि ओझाले भन्नुभयो, “यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई कविताको शक्तिप्रतिको सम्मान हो । यसले मलाई अझ जिम्मेवार भएर लेख्न, मानवीय भावनालाई आवाज दिन र साहित्यमार्फत संस्कृतिबिच सेतु निर्माण गर्न प्रेरणा दिएको छ ।”