• १० मंसिर २०८१, सोमबार

यू–१७ एसियन कप छनोट : नेपाल सबै खेलमा पराजित

blog

चाइनिज ताइपेइसँग ४–२ गोलले पराजित भएपछि नेपाली खेलाडी । तस्बिर : एनएसजेएफ

काठमाडौं, असोज २३ गते । नेपाल यू–१७ एसियन कप छनोटको सबै खेलमा पराजित भएको छ । समूह ‘एफ’ अन्तर्गत भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा आइतबार भएको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेइसँग ४–२ गोलले पराजित भयो ।

चाइनिज ताइपेइको जितमा लिन हाइ चेङले दुई गोल गर्नुभयो । ताई यान याओ र लु यी टिङले एक एक गोल गर्नुभयो । नेपालका कप्तान प्रशान्त लक्सम र धनसिङ विकले एक एक गोल फर्काउनुभयो । 

७९औं मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो । रक्षक दीपक थापामगर दोस्रो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि नेपाल थप दबाबमा परेको थियो ।यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–०, दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोलले पराजित भएको थियो ।

लगातार तेस्रो हारसँगै नेपाल तालिकाको अन्तिममा रह्यो । भियतनाम ६ अङ्कसहित शीर्षस्थानमा छ । समान ६ अङ्क बनाएको थाइल्यान्ड दोस्रो स्थानमा छ । भियतनाम र थाइल्यान्डबीचको अन्तिम खेलले समूह विजेताको टुङ्गो लगाउनेछ ।

छनोट खेलमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्षस्थानमा रहने टोली स्वतः एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ६ उपविजेता टोलीले पनि एसियन  कपमा स्थान बनाउनेछ ।