• १० मंसिर २०८१, सोमबार

पाहुनाको बिदाई : जात्राको गौरवप्रति गहिरो छाप परेको प्रतिक्रिया

उपत्यकाको नेवाः संस्कृतिले नेपालको परिचय दिन्छ : प्रमुख साह

blog

इन्द्रजात्रा अवलोकन गर्न बोलाइएका पाहुनालाई काठमाडौं महानगरपालिकाद्वारा बिदाइ । तस्बिर : काठमाडौं महाानगरपालिका

काठमाडौं, भदौ २७ गते । इन्द्रजात्रा अवलोकन गर्न बोलाइएका पाहुनालाई काठमाडौं महानगरपालिकाले बिदाइ गरेको छ । जात्राको अवलोकन, वसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा पदयात्रा, आन्तरिक भेट तथा छलफलसहित कार्यक्रम समापन गर्दै उहाँहरुको बिदाइ गरिएको हो ।

बिदाइ अवसरमा राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरिएको थियो । त्यस अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका कामको प्रशंसा गर्नुभयो ।

‘‘जात्राको गरिमा बढाउन महानगरले गरेका कामप्रति सरकारको तर्फबाट आभार प्रकट गर्न चाहन्छु,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘मौलिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्वले दिएको उमङ्ग र एकतालाई सन्देशका रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।’’ यो पर्यटन प्रर्द्धनके सन्देश पनि रहेको उहाँको भनाइ थियो ।

समारोहमा महानगरका प्रमुख वालेन्द्र साहले काठमाडौं उपत्यकाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो । ‘‘नेवाः सभ्यताभित्र परिचितमध्येको एक येयाँ पुन्ही अर्थात् इन्द्रजात्रामा गरिने हरेक सांस्कृतिक चालचलनले सहरलाई जीवन्त देखाएका छन् । मूर्त अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित पर्वको जीवन्तता विश्वव्यापी रुपमा फैलाउनुपर्छ,’’ प्रमुख साहले भन्नुभयो, ‘‘यस वर्ष हामीले भगिनी सम्बन्ध भएका सहरबाट आमन्त्रण गरेका पाहुनामार्फत यहाँको परिवेश प्रवर्द्धन गरेका छौँ ।’’ पर्वकै कारण अन्तरनगर सम्बन्ध गाढा भएको, आपसी सहयोग र सहकार्य थप मजबुत भएको प्रमुख साहको भनाइ छ ।


‘‘संस्कृति बचाउनु स्थानीय सरकारको दायित्व हो । जात्रा हेरेपछि गहिरो गरी महसुस भयो,’’ कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भन्नुभयो, ‘‘इन्द्रजात्राको गरिमा म विराटनगरवासीलाई सुनाउनेछु ।’’

‘‘विराटनगरमा महाभारतकालीन तथा जनक राजासँग सम्बन्धित कथासँग जोडिएका ठाउँ छन् । काठमाडौंको इतिहास लिच्छविकाल, मल्लकालसँग सम्बन्धित छ । नेपालका हरेक ठाउँका फरक पहिचान हुनु हाम्रो विशेषता हो । यसलाई आन्तरिक समन्वयबाट फैलावट गरौँ,’’ प्रमुख कोइरालाको भनाइ छ ।

कार्यक्रममा चन्दननाथ नगरका प्रमुख राजुसिंह कठायतले पर्वले आत्मीयता महसुस गराएको अनुभव सुनाउनुभयो । ‘भगिनी सम्बन्धले सांस्कृतिक रुपमा विशाल लाभ मिलेको छ,’’ प्रमुख कठायतको भन्नुभयो ।

‘‘हामीले विगतका कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजनाअनुरुप काम गरेका थियौँ । यसबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा जात्राको गौरव प्रवर्द्धनतर्फ महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ,’’ काठमाडौं महानगरका उपप्रमुख सुनीता डङ्गोलले भन्नुभयो, ‘‘भगिनी सम्बन्ध आर्थिक लेनदेनभन्दा माथिको हुन्छ । यसपटकको कार्यक्रमबाट भगिनी सम्बन्ध भएका सहरसँगै सिमाना जोडिएका छिमेकी नगरसँगको सम्बन्ध पनि थप प्रगाढ भएको छ ।’’

‘‘पर्वका बारेमा सुनेका थियौँ । नजिकबाट हेर्न पाइएको थिएन,’’ अनुभव सुनाउँदै मेलम्ची नगरकी उपप्रमुख उमा प्रधानले भन्नुभयो, ‘‘व्यवस्थित रुपमा पर्वको अवलोकन गर्न पाइयो । पर्व वास्तवमै अलौकिक रहेछ ।’’


जात्राको जीवन्तताका विषयमा कुरा गर्दै, संयुक्त राज्य अमेरिकाको फेड्रिस्वर्ग नगरका प्रतिनिधि स्कट हेनरी देलिसीले, जात्रा प्रवर्द्धन योग्य भएको बताउनुभयो । 

आफैँभित्रका सम्पदा क्षेत्रको अवलोकन भ्रमण
निम्तालुहरुलाई हनुमानढोका दरबार क्षेत्र आसपासका सम्पदा क्षेत्र र हाँडीगाउँका सम्पदा क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो । सम्पदा मार्गको यात्राका क्रममा मूर्त अमूर्त सांस्कृतिक सम्पदाका बारेका जानकारी गराइएको थियो । जुद्ध शालिकबाट सुरु भएको सम्पदा पद यात्रा काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, नरदेवी, किलागल, इन्द्रचोक हुँदै वसन्तपुर फर्किएको थियो । त्यस क्रममा इन्द्रजात्रासँग सम्बन्धित सामाजिक तथा सांस्कृतिक गतिविधि, हिटी संस्कृति, पुलुकिसी घर, आकाश भैरव, देशेमरु झ्याःसहितका सांस्कृतिक गतिविधि अवलोकन गरिएको थियो । त्यस्तै मठमन्दिर, देवालय, चोक तथा यससँग जोडिएका घटनाका विषयमा जानकारी गराइएको थियो । 

वडा नं. ५ सँगको समन्वयमा हाँडीगाउँ क्षेत्रमा गराइएको अवलोकन भ्रमणका क्रममा स्थानीय भेषभूषा, सामाजिक तथा सांस्कृतिक चालचलनको प्रत्यक्ष अवलोकन गराइएको थियो । स्थानीय बाजागाजासहितको पदमार्गका क्रममा माटाका भाँडा बनाउने, कपडा बुन्ने, सामाजिक खाना तथा परिकार निर्माणजस्ता क्रियाकलापको अवलोकन गराइएको थियो ।

यसैगरी, विश्व सम्पदा क्षेत्र स्वयम्भू स्तुप परिसरको अवलोकन गराइएको थियो । यसका लागि वडा नं. १५ ले व्यवस्थापन गरेको थियो ।


छिमेकी नगरको अवलोकन भ्रमण
पाहुनाहरुलाई काठमाडौं महानगरले भक्तपुर नगरसँगको समन्वयमा भक्तपुर दरबार स्क्वायर, ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर अवलोकन गराएको थियो ।

भ्रमणका अवसरमा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले, आफूसँग भनिगी सम्बन्ध भएका नगर प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई उपत्यकाका नगरहरुको भ्रमण गराउनु काठमाडौं महानगरको महत्त्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । यसले काम एउटै, जिम्मेवारी एउटै भएका पालिकाहरुको भौगोलिक, सामाजिक तथा सांस्कृतिक परिवेश बुझ्न सजिलो भएको प्रमुख प्रजापतीको भनाइ थियो ।

भक्तपुर नगरले सभा कक्षमा आयोजना गरेको स्वागत कार्यक्रममा संक्षिप्त धारणा राख्नुहुँदै काठमाडौं महानगरका प्रमुख साहले पूर्वाधार निर्माण, जनजीविका र आर्थिक प्रवाहको स्थानीय व्यवस्थापनमा भक्तपुरबाट धेरै सिक्न सकिने बताउनुभयो ।

महानगरले यस वर्ष कीर्तिपुरलाई पनि सम्झना गर्‍यो । अवलोकन भ्रमणका क्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले उपत्यकाको सभ्यतासँग जोडिएका महत्त्वपूर्ण स्थान र घटना कीर्तिपुरमा भएकाले यसको पृथक् पहिचान भएको उल्लेख गर्नुभयो ।

अवलोकन भ्रमणका क्रममा भक्तपुर नगरकी उपप्रमुख रजनी जोशी, ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र कीर्तिपुर नगरकी उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनीता)ले नगरका विविध विषयमा जानकारी गराउनुभएको थियो ।

जात्रा हेर्न आएका पाहुनाहरु
यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं महानगरले भगिनी सम्बन्ध भएका राष्ट्रिय ५ वटा र अन्तर्राष्ट्रिय १८ वटा नगरलाई आमन्त्रण गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिड सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय नगरबाट सहभागीको सङ्ख्या कम रह्यो । यसमा संयुक्त राज्य अमेरिकाको फेड्रिस्वर्गबाट स्कट हेनरी देलिसीसहित दुईजना उपस्थित हुनुभयो । माल्दिभ्सको मालेबाट काठमाडौंका लागि प्रस्थान गर्नुभएका प्रतिनिधि जहाज छुटेका कारण समयमा आइपुग्न सक्नुभएन ।

भगिनी सम्बन्ध भएका सबै नगरबाट प्रमुख, उपप्रमुखसहित प्रतिनिधिहरु आउनुभयो । यसरी सहभागी हुनुहुनेमा डडेल्धुराको अमरगढी नगरका प्रमुख डिल्लीराज जोशी, जुम्लाको चन्दननाथ नगरका प्रमुख राजुसिंह कठायत, नवलपरासी बर्दघाट पश्चिम, रामग्राम नगरका प्रमुख धनपत यादव, सिन्धुपाल्चोकको मेलम्ची नगरका प्रमुख आइतमान तामाङ्,  धनकुटाको पाख्रीबास नगरबाट ज्ञानबहादुर गुरुङ्सहित उपप्रमुखहरु तथा पदाधिकारीसहित अवलोकनका लागि आउनुभएको थियो । 

जात्राका कार्यक्रम
यस वर्ष जात्राका ८ दिने सांस्कृतिक कार्यक्रमहरु भदौ १३ गते सोमबारबाट सुरु भएका हुन् । यस दिन बिहान ९ बजेर १७ मिनेटको साइटमा वन प्रस्थान गरेर सोही दिन बेलुका ८ बजेर ९ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने रुख कटान भएको थियो । १९ गते आइतबार बिहान ७ बजेर २४ मिनेटको साइतमा इन्द्रध्वजलाई नगर प्रवेश गराइयो । भदौ २२ गते बुधबार बिहान ७ बजेर १७ मिनेटको साइतमा इन्द्रध्वज उत्थान गरिएको थियो ।

भदौ २४ गते सुरु भएको कुमारी रथ यात्राअन्तर्गत त्यसदिन तल्लो टोलमा घुमाइयो । त्यस्तै, २५ गते माथिल्लो टोलमा रथ घुमाइयो । भदौ २९ गते नानिचा यात्रा छ । यसै दिन साँझ ७ बजेर ३३ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षको जात्रा सकिनेछ ।