• ७ जेठ २०८१, सोमबार

‘एक्सन’ मात्र भनेर सफल निर्देशक बनिँदैन : जोशी

blog

काठमाडौँ, भदौ २१ गते । समीर जोशी नायक बन्न कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभएको हो तर उहाँको पहिचान अहिले एक सफल निर्देशकका रूपमा रहेको छ। २०५२ सालमा प्रदर्शन भएको ‘कुशा’ टेलिचलचित्रबाट उहाँले यस क्षेत्रमा पाइला टेक्नुभयो। परिवारमा यस क्षेत्रमा कोही पनि थिएन तर मेरो आफ्नै इच्छाले चलचित्र क्षेत्र रोजेँ, जोशीले भन्नुभयो, “सानैदेखि चलचित्रमा अभिनय गर्ने सोख थियो। विद्यालयमा कार्यक्रम हुँदा अभिनय गर्ने, गीत गाउनेजस्ता क्रियाकलाप गर्थें। त्यसैले सानैदेखि नायक बन्न इच्छा थियो। नायक नै बन्छु भनेर यस क्षेत्रमा होमिएँ तर निर्देशक बनेँ।” 

निर्देशक हुन ‘एक्सन’ मात्र भनेर पुग्दैन त्यसको पूरा ज्ञान हुनुपर्छ। जोशीले निर्देशक बन्न क्यामरा, सम्पादन, अभिनयलगायतको राम्रो ज्ञान हासिल गर्नुभयो। उहाँ आफ्नो निर्देशकको यात्राबारे भन्नुहुन्छ, “श्याम दाइकै प्रेरणाले निर्देशनमा हामफालेको हुँ। उहाँको स्क्रिप्टमा ‘अबल’ नामक चलचित्रको निर्माण भयो जसमा सहनिर्देशकका रूपमा काम गर्ने अवसर मिल्यो। त्यसपछि सजाय, आँखा लोभी मन पापी, गुरुचेलामा उहाँसँगै काम गरेँ। त्यसलगत्तै ‘परिधि’ नामक चलचित्रमा निर्देशकका रूपमा काम गर्ने अवसर जु-यो।”

उहाँका अनुसार निर्देशन निकै कठिन काम हो। क्यामरा, अभिनयको राम्रो ज्ञान हुनुपर्छ। चलचित्र निर्माणमा निर्देशक टिमका कप्तान हुन्। निर्देशक हरेक कुरामा पोख्त हुनुपर्छ। त्यसैले मैले सम्मिश्रण, सङ्गीत, क्यामरा आदि सबै पक्षबारे गहन अध्ययनपछि मात्र निर्देशनमा हात बढाएँ, जोशीको भनाइ छ। सिने क्षेत्र मेरो कर्म क्षेत्र हो। म बाँचुन्जेल यस क्षेत्रलाई छोड्ने छैन। जति नै सङ्घर्ष गर्नुपरे पनि यस क्षेत्रबाट माया नमार्ने बताउँदै आफूले पहिले गरेको सङ्घर्ष सम्झनुहुन्छ, म काठमाडौँको बासिन्दा भएको हुनाले लगाउन, बस्न त गाह्रो भएन तर यस क्षेत्रमा टिक्न निकै सङ्घर्ष गर्नुप-यो। सङ्घर्षको दिनमा पैसा हुँदैनथ्यो धेरै ठाउँमा हिँडेर जानुपर्ने। पैसा पनि कम पाउने। एउटा चलचित्र गरेबापत २० देखि २५ हजार मात्र पाउँथ्यो त्यो पनि छ/सात महिना कुर्नुपर्ने। 

तर अहिले उहाँ यस क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ। दुबईमा सम्पन्न दोस्रो ग्लोबल इन्टरनेसनल अवार्ड्समा ‘खै कुरा बुझेको ?’ टेलिशृङ्खलाबाट उत्कृष्ट निर्देशकको अवार्डलाई जोशी कलाकारिता जीवनकै सबभन्दा खुसीको क्षण मान्नुहुन्छ। यसैगरी ‘आखाँ लोभी मन पापी’ चलचित्रमा गरेको डबिङ र सो चलचित्रमा अन्तिम समयमा सहनायक अमेरिका गएपछि आफूले पाएको मौकालाई रमाइलो क्षण मान्नुहुन्छ।

चलचित्र भन्दा टेलिशृङ्खलामा रमाउने जोशी अहिले नयाँ टेलिशृङ्खला मेरो एउटा प्रेम कथाको तयारीमा हुनुहुन्छ। उक्त कथा (टेलिशृङ्खला) आमदर्शकले पठाएको प्रेमकथामा आधारित हुनेछ। साथै टेलिशृङ्खलामा विभिन्न सेलिब्रेटी तथा अन्य चर्चित व्यक्तिको प्रेमकथा समेत प्रस्तुत गरिनेछ। जसका लागि २० देखि २५ कथा आइसकेका छन्, निर्देशक जोशी भन्नुहुन्छ। उहाँ एक सफल सञ्चारकर्मी पनि हुनुहुन्छ। एबीसी टेलिभिजन, प्राइम टेलिभिजन, डिस होममा गरी करिब डेढ दशक सञ्चारकर्मीका रूपमा काम गरिसक्नुभएका जोशी अहिले नाइस टेलिभिजन एचडीको प्रमुख कार्यकारी निर्माता हुनुहुन्छ।