• ९ मंसिर २०८१, आइतबार

महिला स्वतन्त्रताको प्रदर्शन गर्ने दिन तीज

blog

काठमाडौँ, भदौ १४ गते । तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरका रूपमा बुझ्छौँ ।  यस अवसरमा चेलीहरू माइत जान्छन् । रातो, हरियो, पहेँलो रङको पहिरनमा सजिएर उपवास बसेर नाचगान गर्छन् । गीतको माध्यमबाट मनको बह पोख्छन् । 

हरेक वर्ष भाद्र शुक्लपक्ष तृतीयाका दिन महिलाहरूले हरितालिका तीज धुमधामका साथ मनाउने गर्छन् । महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ । यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने ज्योतिष डा. सुनिल सिटौलाले बताउनुभयो । उहाँ भन्नुहुन्छ– “विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि यो व्रत बस्ने गर्छन् । अविवाहित महिलाहरू भने आफूले चिताएजस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्ने गर्छन् ।” 

तीजको दिन महिलाहरू रातो सारी, चुरा, पोतेमा सजिएर पशुपतिलगयात अन्य स्थानमा रहेका शिव मन्दिरमा पूजा गर्न जान्छन् । मन्दिर जाने क्रममा बाटोघाटोमा नै नाचगान गरेर रमाइलो पनि गर्छन् । यो दिन महिलाले एक किसिमले स्वच्छन्द रूपमा निर्धक्क भएर नाच्ने र आआफ्ना मनका कुरा पोखेर गीत गाउने गर्छन् । डा. सिटौलाका अनुसार तीज महिला स्वतन्त्रताको प्रदर्शन गर्ने दिन पनि हो । 

गृहिणी अभियन्ता भुजेलले तीजको व्रत बस्ने र महादेवको पूजा गर्ने सन्दर्भमा देशैभर विभिन्न स्थानमा रहेका महादेवका मन्दिरमा महिलाले मेला भर्ने, गाउने, नाच्ने गरेर रमाइलो गर्दै अत्यन्तै श्रद्धा भक्तिपूर्वक पूजा गरिने बताउनुभयो । उहाँका अनुसार दिनभर व्रत बसेर महादेवको पूजा गरेर रातमा पनि महादेव र पार्वतीको बालुवाको मूर्ति बनाएर विशेष रूपमा पूजा गरिन्छ । हरितालका तीजको एक दिनअघि दर खाने दिन भएकाले विवाहित चेलीबेटी माइतीमा गई मीठामीठा पकवान र मिठाइ खाने गर्छन् । यद्यपि अहिले चेलीमाइतीबीच सुमधुर सम्बन्ध राख्ने, माइतीघर जाने, दुग्धजन्य परिकार खानेभन्दा पनि पार्टी प्यालेसमा मदिरासहितको भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढ्दो छ । 

विगतमा नेपाली महिलाहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एक दिन भए पनि मीठो–मसिनो ख्वाउन माइती पक्ष लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौँ अगाडिदेखि पर्खेर बस्थे । सोही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । यद्यपि आजको पुस्ताले देख्ने तीज पहिलेको तुलनामा निकै फरक छ । अहिले तीजको धार्मिक पक्षभन्दा पनि अन्य पक्षलाई नै बढी जोड दिइएको पाइन्छ । हिजोआज तीज पर्वका सन्दर्भमा नितान्त भिन्न संस्कृतिको विकास भइरहेको छ । पारिवारिक जमघटमा मात्र नभई सामाजिक, राजनीतिक तथा संस्थागत रूपमा समेत आयोजना गरिने तीज कार्यक्रमको समय अवधि प्रतिवर्ष लम्बिँदै छ भने अनावश्यक रूपले खर्चिलोसमेत बन्दै गइरहेको छ । 

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उहाँको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमान्का रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरेको र १०८औँ जन्ममा उहाँको तपस्या पूरा भएको शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।