जनार्जन खत्री
सर्लाही, कात्तिक २१ गते । इलाका प्रहरी कार्यालय लालबन्दीले चोकी रोक्न समुदायस्तरमा सचेतना जगाउन सुरु गरेको छ । विशेष गरी घनाबस्ती रहेको लालबन्दी र नवलपुर बजार तथा आसपासका बस्तीमा चोरीका घटना बढेपछि प्रहरीले समुदायस्तरमा जनचेतनामूलक कक्षा सञ्चालन गरेको हो ।
सोहीक्रममा प्रहरीले बिहीबार लालबन्दी नगरपालिका–५, जरुवा पानीस्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष महेशकुमार महतोसहित लालबन्दी क्षेत्रका अगुवा, व्यापारी र स्थानीयवासीलाई राखेर सचेतनामूलक कक्षा सञ्चालन गरेको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार मुख्य चाडपर्व अघि लालबन्दी नगरपालिकाभित्र १२ वटा चोरीका घटना भएका थिए । सो घटनामा संलग्नमध्ये प्रहरीले पक्राउ गरेको एक जना सर्लाही जिल्ला अदालतबाट दुई महिना कैद सजाय निर्धारण भई कारागार चलान भएका छन् ।
अर्का एक जना अदालतकै आदेश अनुसार पुर्पक्षमा थुनामा रहेका र थप एक जना भने अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । सामान्य सावधानी नअपनाउँदा अधिकांश स–सानाखाले चोरीको घटना भएकाले आगामी दिनमा त्यस्ता घटना हुन नदिन समुदाय स्तरमा सचेतना जगाउने काम सुरु गरिएको इन्स्पेक्टर जोहारीको भनाइ छ ।
आगामी दिनमा सामान्य लापरवाहीले हुने चोरीका घटना रोक्न सकिन्छ कि भन्ने उद्देश्यले सचेतनामूलक कक्षा गरिएको उहाँले बताउनुभयो । “चाडपर्व भएकाले चोरीका घटना बढेका थिए तर अहिले हामी जताततै मोभिलाइजेसन भएपछि चोरी हुन छाडेका छन्,” इन्स्पेक्टर जोहारीले भन्नुभयो, “प्रहरीले गस्ती गरेर मात्रै चोरी नरोकिने भएकाले स्थानीयलाई पनि सचेत गराउन यस्तो कार्यक्रम गरेका हौँ ।”
घरमा सिसी क्यामेरा जडान गर्ने, बैंकमा राख्नुपर्ने बहुमूल्य गरगहना घरमा नराख्ने, घर छाडेर हिँड्दा आफन्त, छरछिमेकी वा प्रहरीलाई खबर गर्नेजस्ता सवाधानीका उपायबारे नागरिकलाई सचेतना जगाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । चोरीको घटना बढेपछि दसैँ, तिहार र छठपर्वभर लालबन्दी प्रहरीले बजार क्षेत्र र आसपासका बस्तीमा रातभर नै बारम्बार साइरनसहितको गस्ती गर्ने, भिडभाड हुने बजार क्षेत्रमा पैदल गस्ती खटाउनेसहितको सुरक्षा योजना लागु गरेको थियो ।