• २१ कात्तिक २०८२, शुक्रबार

वर्षकै सर्वाधिक कलेक्सन गर्ने चलचित्र ‘जेरी अन टप’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २१ गते । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने चलचित्र बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म चलचित्रले ११ करोड ४३ लाखमाथिको कलेक्सन गरेको छ ।

गत वैशाख अन्तिम साता प्रदर्शनमा आएको चलचित्र ‘उनको स्वेटर’ नेपाली बक्सअफिसमा ११ करोड ३४ लाख कलेक्सन गर्दै पहिलो नम्बरमा थियो । ‘जेरी अन टप’ ले प्रदर्शनको २० औँ दिनमा त्यो आँकडा पूरा गर्दै यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्मको सूचीमा आफूलाई पहिलो नम्बरमा पु¥याएको हो । 

फिल्म अहिले पनि देशभरका सयभन्दा बढी हलमा प्रदर्शनमा छ । सुयोग गुरुङ निर्देशित सामाजिक, पारिवारिक र प्रेमिल कथाको सम्मिश्रण ‘जेरी अन टप’ ले देशकै पहिचान बोकेको सगरमाथाको कथालाई बलियोसँग प्रस्तुत गरेको छ । हिमाल आरोहणको साहसिक कथा उठान गरेको चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी प्रमुख अभिनयमा रहेका छन् । अनन्या फिल्म्स्’ को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि प्रशंसा बटुलिरहेको छ । अस्ट्रेलिया, अमेरिका, जापान, युरोपलगायतका दर्जनौँ देशमा एकसाथ प्रदर्शनमा रहेको चलचित्रले ग्लोबल बक्सअफिसमा हालसम्म १७ करोड कलेक्सन गरिसकेको निर्माता न्यौपानेले बताउनुभयो ।