नेत्र शाही
जुम्ला, वैशाख ३० गते । जुम्लाको हिमा गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध हुँदा कार्यालय तथा स्थानीय सेवाग्राही दुवै प्रभावित भएका छन् । गाउँपालिकाका लागि जडान गरिएको टेलिफोन टावरले काम नगरेपछि करिब छ महिनादेखि गाउँपालिका केन्द्र जुगाड क्षेत्रसहित सडक आसपासका बस्तीहरूमा टेलिफोन सेवा प्रभावकारी हुन सकेको छैन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जालान्दर भुसालका अनुसार टेलिफोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजमा समेत असर परेको छ । उहाँले एनटीसी टावरले काम नगर्दा ओटीपी कोड (वन टाइम पासवर्ड) समेत नआउने समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य क्षेत्रको टेलिफोन टिप्छ कि भनेर झ्यालमा मोबाइल राख्ने गरेका छौँ, तर पनि राम्रो सिग्नल आउँदैन ।”
हिमा गाउँपालिकामा कार्यरत कर्मचारी तथा स्थानीय लोकप्रसाद उपाध्यायका अनुसार टेलिफोन सेवा अवरुद्ध हुँदा कार्यालयको काम मात्र नभई गाउँबस्तीको जनजीवनसमेत प्रभावित भएको छ ।
उहाँका अनुसार कस्तुरीभिडमा निर्माण गरिएको नयाँ टेलिफोन टावरले करिब छ महिनादेखि काम गर्न छोडेको छ । उहाँले भन्नुभयो, “पहिले कालिका माध्यमिक विद्यालयमा भिस्याट प्रणाली थियो, पछि हटाएर कस्तुरीभिडमा नेपाल टेलिकमको टावर जडान गरियो, तर अहिले त्यो पनि नटिप्ने भएकाले समस्या भएको छ ।”
स्थानीयका अनुसार कस्तुरीभिडमा टावर निर्माण भएपछि कमजोर सिग्नलका कारण हिमा गाउँपालिका क्षेत्रसहित नाग्म–गमगढी राजमार्ग आसपासका बस्तीहरू टेलिफोनविहीन भएका छन् । बाजागाडा, बुढा, चिउडी, जुगाड, मर्ची, बड्की, आचार्यलिही र देवारगाउँलगायतका बस्तीहरू टेलिफोन सेवाबाट वञ्चित भएका हुन् ।
नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख पारस पुजाराका अनुसार सो टेलिफोन टावरका विषयमा केन्द्रमा पत्राचार गरिएको छ । उहाँका अनुसार पहिले तल्लो क्षेत्रमा रहेको टावर स्थानान्तरण गरी माथि कस्तुरीभिडमा जडान गरिएको थियो । तर अहिले तल्लो क्षेत्रसहित आसपासमा सिग्नल नआउने गुनासो आएको छ ।
उहाँले भन्नुभयो, “समस्या समाधानका लागि केन्द्रमा जानकारी गराइसकिएको छ, पुनः अनुरोध पनि गर्नेछौँ ।” उहाँका अनुसार हालको टावर फोरजीसहितको इन्टरनेट सुविधा भएको हो ।
त्यस्तै, तिलाको रारालिही माथि बास्थाप्ला क्षेत्रमा समेत टावर निर्माण भइरहेकाले त्यहाँबाट केही हदसम्म कभरेज हुने अपेक्षा गरिएको छ । आर्थिक वर्षको अन्तिम समयमा टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँपालिका तथा वडा कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।