• २३ वैशाख २०८१, आइतबार

भिडियो कुराकानी

यसरी अलप हुन्छ ‘गुँला लाखे’

blog

काठमाडौं, भदौ ३ गते । काठमाडौंको असनको एक घरमा केही युवा वर्ग तल्लीन थिए, कोही ड्रम त कोही भुस्या बजाउँदै अभ्यास गर्दै थिए। नेवार समुदायमा नायः खिं बाजाको पनि छुट्टै महत्त्व हुन्छ र त्यही बाजाका गुरु विष्णुबहादुर खड्गीको घरबाट नै उक्त लाखे निकाल्न लागेको थियो। समय परिस्थिति, आर्थिक अवस्था तथा विभिन्न कारणले लाखे निकाल्न सम्भव हुन सकेको थिएन । तर, यसपालि भने उहाँहरुले धर्म र आस्थाका साथ लाखे निकाल्नु भएको छ। 

गुँला लाखे पारुको दिन निकालेर जन्माष्टमीको दिन राति १२ बजे मार्ने चलन छ। जन्माअष्टमीको दिन नाच्दै गर्दा कृष्णको तस्बिर देखायो भने लाखे अलप हुन्छ भन्ने जनविश्वास रहेको छ। त्यसैले लाखेलाई जथाभावी जुठो गर्नु हुँदैन। नियममा रहेर लाखेलाई पूजा गर्ने हो भने सबै दुःख हराउनेसमेत मान्यता रहेको छ। नेवार समुदायमा विभिन्न चाडपर्वसँगै विभिन्न देवीदेवताका नाच पनि नाँच्ने चलन छ। तीमध्य लाखे नाच सबैभन्दा रोचक र रमाइलो हुन्छ। 

गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा लाखे नाच देखाउने चलन धेरै पुरानो हो। झण्डै ३० वर्षअघिदेखि लाखे नाच्दै आउनुभएका खड्गीका अनुसार यो पुरानो संस्कृति जोगाउन आफूले निरन्तरता दिएको बताउनुहुन्छ। 

खड्गीका अनुसार, बीचमा केही वर्षसम्म बन्द रहेको गँुला लाखे नाच यस वर्ष फेरि निस्किएर थप दिन नाच्नको लागि तयार भएको हो। विष्णुबहादुर आफैं पनि धेरै पटक लाखे बनेर नारायणहिटी नजिकै राणाका दरबार पुगेको बताउनुहुन्छ। आर्थिक भार र नाच निकाल्न चाहिने जनशक्तिको समूह नभएकै कारण पनि विस्तारै लाखे नाच बन्द हुँदै गएको उहाँको भनाइ छ। 

यसरी गुँला महिनाभर नै उपत्यकालगायत नेवार समुदायको बसोबास रहेको विभिन्न ठाउँमा लाखे नाच निकाल्ने गरिन्छ। कहीँ गठेमंगलको अवसरमा त कहीँ गाइजात्राको अवसर पारेर लाखे निकाल्ने चलन रहेको छ। 

प्रस्तुत छ, नायः खिं बाजाका गुरु विष्णुबहादुर खड्गीसँग गोरखापत्र अनलाइनका लागि पत्रकार सनम महर्जन, फोटो पत्रकारद्वय मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको संवाद :