• १४ वैशाख २०८१, शुक्रबार

म पीपलको बोट ! [बालनिबन्ध]

blog

संसारका अरू असङ्ख्य रुख वृक्षजस्तै म पनि वनस्पतिको आदिम सिङ्गो, सग्लो, स्वरूप हुँ । मलाई सानो आकारको शरीर लिएर उम्रिँदै गर्दा आँकुरा पिपिरा भनेर चिन्थे मानिसले । अलि बढ्दै गएपछि बिरुवा, बुटो, पोथ्रो आदि नाम दिएर सम्बोधन गर्न थाले । हुँदाहुँदै मेरो दिन–प्रतिदिनको बढोत्तरी र हाँगाबिँगाको फैलावट देखेर वृक्षको नाले सम्मान प्रकट गर्न थाले ।    अरू सामान्य रुख बिरुवाभन्दा बेग्लै प्रकारले हलहली बढ्दै जाने मेरो विशेषता हो । शरीर वृद्धिकै अनुपातमा मेरा फेद, जरा अनि हाँगाबिँगा फैलिने गर्दछन् । तिनै हाँगाहरूलाई ढाकेर मुन्टा, पालुवा पलाउँछन् । पाइतालामा दह्रा जरा र आङमा लहरा पलाएर धरतीको भित्री भागसम्म अँठ्याउँदै मेरो देहवृक्ष ठडिएपछि हावाहुरी, चट्याङ र असिनापानीले पनि हल्लाउन सक्तैन । अनि के चाहियो र ? मेरो तागत देखेपछि मान्छेहरू उसै नतमस्तक बनेर जब्बर वृक्षका रूपमा चिन्दै जान्छन् । फरक धर्तीलाई ओत र पानीको स्रोतसमेतको जगेर्ना गर्ने मेरो महत्ता बुझेर श्रद्धा,आस्था प्रकट गर्न थाल्छन् । 

म एउटा सभ्य भव्य पीपल वृक्ष हुँ । मेरो जन्म पनि कम जोखिमपूर्ण र रोमाञ्चक छैन । चराचुरुङ्गीले माऊ बोटबाट चुच्चामा टिपेर लगेका फलका ससाना भित्री दानाबाट मेरो बीजारोपण हुन्छ । पहराको अन्तर कुन्तर, धाँजा चिरा, सिमन्टेड घरका कौसीका जोर्नी, ढल, नाली जहाँ पनि मेरो सानो स्वरूप भेटिन सक्छ । थोरै मात्र माटाको गन्ध पाए पनि म उम्रिदिन्छु । भीरमा लहराइदिन्छु, पहरामा अडिएर पातका झन्डा फहराइदिन्छु । कुनै दिलदार बटुुवाले भेटे कौसीका गमला र बगैँचामा सजिन पुग्छु । कुनै प्रौढ धर्मातीले भेटे नदी किनारको मलिलो माटोमा सुविधासाथ उभिन पुग्छु । मलिलो भूमिको रस्वादन गर्दैै दिन दुई गुना, रात चार गुना बढेर धर्तीलाई छहारी दिन्छु । 

अन्त आश्रय नपाएका ससाना चराचुरुङ्गीलाई हाँगाबिँगा, काप, टोड्का र पात पतिङ्गरमा बास बस्न दिन्छु । हावाहुरी र घामले पिल्सिएका खेताला,बटुवालाई ओत र शीतल छहारी दिन्छु । ध्यान, साधना र बुद्धिविवेकको पाठ दिने सन्त महन्तहरूलाई योग र भक्तिदर्शन सिकाउन आवश्यक पर्ने छहारी दिन्छु । 

भगवान् बुद्धले पनि मेरै फेदको छहारीमा हो तपस्या गरेर ज्ञान पाएका अनि उपदेश दिएका । बस्ती बस्तीलाई शीतल हावा दिने, घामपानीबाट जोगाउन आश्रय दिने काम गर्दछु । म वैंशको सिरानतिर उक्लिएको बेला चर्को घामलाई डम्म छेकेर धर्तीलाई गम्लङ्ग शीतल छहारी ओडाउँदै उभिँदा मानिस उसै नतमस्तक हुन्छन् अनि भक्तिभावले ओतप्रोत भएर लक्ष्मीका रूपमा सम्मान गर्दै ठूलो एकादशी, बुद्ध पूर्णिमा छठ, चण्डीपूर्णे र उधौली, उभौली पर्व मनाउँछन् । 

आँप, चाँप र थरीथरी फूलका गुच्छा उनिएको तोरन टाँगेर सांस्कृतिक उत्सव मनाउँछन् । ती पर्वको अतिरिक्त स्थानीय बासिन्दाका परम्परागत छेवर, विवाह, व्रतबन्ध, घेवा आदि पर्वको साङ्गेको बेला पनि पूजा धूप, धुवाँसहित सम्मान गर्ने प्रचलन अझै कायम छ । नेपालमा मात्र होइन भारत बङ्गलादेश, श्रीलङ्का, इन्डोनेसिया, म्यान्मार, कम्पुचिया आदि देशमा समेत देवताकै रूपमा पीपलको पूजा गर्ने चलन अहिले पनि कायमै छ ।

रुन मैले जानेको छैन । म सधैँ आकाशतिर हेरेर हाँसो छर्दै रहन्छु । नीलो अम्बरलाई भेट्याउन र तारा टिप्न भनेर हाँगाहरू माथिमाथि पैmलाउँछु । मलाई जाडो गर्मी र हिमाल तराईको परवाह रहन्न । पहाडका डाँडाकाँडामा टाढैबाट चिनिने गरी उभिनु अनि तराईका चउर, खलिहान र चौबाटामा जताततै पैmलिनु मेरो शक्ति र सामथ्र्य हो । सहस्र हाँगाबिँगा पैmलाएर बटुवालाई छहारी दिनु गाउँले भद्रजनलाई मेलापर्मको सल्लाह गर्ने ठाउँ दिनु, थकित गलित भरिया बञ्जारालाई थकाइ मार्ने आश्रय दिनु मेरो काम हो । 

तिमी सिक मनुवा हो मबाट यी र यस्तै अनेकन पाठ ! किनभने म खुला पाठशाला हुँ । मेरो फेदमा बसेर पढ । हाँगा, अनि पात पात हेरेर संसारभर फैलिन सिक । कतिबेर कुन पातले चोला फेरेर नयाँ पात पलाउँछ, त्यो तिमी थाहै पाउँदैनौ । ओइलाउन म जान्दिन, पुराना पातको ठाउँमा नयाँ नयाँ बनेर पलाउनु मेरो स्वाभाविक धर्म हो । 

सधैै हरियो परियो हुनु, गमक्क गम्किनु, हाँगामा तन्किँदै आकाश ताकेर लम्किनु मेरो खुवी हो । म कहिल्यै चर्को घामले ओइलाएर सुक्न, हावाका झोक्काले बजाएर उँधो झुक्न र असिनाका थप्पडले धुल्याएर पत्कर बन्न जान्दिन । सिक तिमी पनि यस्तै पाठ मबाट । 

कुनै मनकारी, धर्माती भद्रजनले कहिलेकहीँ मेरो नजिकमा वरको बुटो ल्याएर रोपिदिन्छन् । उनी विस्तार विस्तार हुर्किंदै गएर बटवृक्ष बन्छन् अनि कुनै परोपकारी मान्छेले हामी दुवैको फेदमा चौतारो चिनेर लोहोरे ढुङ्गो राखिदिन्छन् । सिन्दूर, पूmल चडाएर साइत गर्छन् बटुवाहरू । हामी दुवैलाई कुनै कुनै लहडी भक्तले तोरनले बाँधेर विवाह पनि गरिदिन्छन् । वरपीपलको विवाहलाई विष्णुलक्ष्मीको विवाह पनि भन्छन् धेरै नरनारीले । हामी दुईको फेदको जमिन सम्याएर चौतारो चिनेपछि त्यो ठाउँ बटुवाको आश्रय बन्छ । 

समय बित्दै जाँदा हाम्रो फेदको चौतारो देउराली नामले चिनिन्छ । त्यही देउरालीमा बटुवाले पाती चढाएर शुभसाइतको आराधना गर्दछन् । देवताको स्थान मात्र सीमित रहँदैन, गाउँका गाईबस्तु झरेर तिर्खा मेट्ने पानीघाट पनि चौतारीमुनि निर्माण गरिदिन्छ कसैले ।