सियोल, मङ्सिर २ गते । उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबिच आणविक-सञ्चालित पनडुब्बी निर्माण सम्बन्धी नयाँ सम्झौताप्रति कडा आपत्ति जनाउँदै उक्त समझदारीले क्षेत्रीय तथा विश्वव्यापी सुरक्षा सन्तुलनमा ‘आणविक डोमिनो’ प्रभाव उत्पन्न गर्ने दाबी गरेको छ ।
प्योङयाङले मङ्गलबार राज्य सञ्चालित मिडियामार्फत दिइएको प्रतिक्रियामा यो कदमलाई खतरनाक सैन्य टकरावका सङ्केतका रूपमा चित्रण गरेको हो । दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङले गत हप्ता वासिङ्टनसँग लामो समयदेखि प्रतीक्षित सुरक्षा तथा व्यापार सम्झौतामा अन्तिम सहमति जुटेको घोषणा गर्नु भएको थियो ।
उक्त सम्झौतामा आणविक–सञ्चालित पनडुब्बीसमेत विकास गर्ने योजनालाई उल्लेखनीय उपलब्धि मानिएको छ । सियोलले यसले ‘युरेनियम संवर्धन तथा खर्चिएको इन्धन पुनः प्रशोधन सम्बन्धी आफ्नो अधिकार विस्तार गर्न अमेरिकी समर्थन दिलाएको’ बताएको छ । सम्झौतामाथिको पहिलो आधिकारिक प्रतिक्रिया जनाउँदै उत्तर कोरियाले पनडुब्बी कार्यक्रमलाई ‘टकराव भड्काउने खतरनाक प्रयास’ भन्दै टिप्पणी गरेको छ ।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले प्रकाशित गरेको वक्तव्यअनुसार उक्त सम्झौता ‘कोरियाली प्रायद्वीप बाहिरै एसिया-प्रशान्त क्षेत्रमा समेत सैन्य तथा सुरक्षा अवस्थालाई अस्थिर बनाउने गम्भीर विकास’ हो, जसले ‘विश्वव्यापी स्तरमा नियन्त्रण गर्न नसकिने आणविक प्रतिस्पर्धाको स्थिति’ निम्त्याउन सक्छ । प्योङयाङले दक्षिण कोरियाले आणविक-सञ्चालित पनडुब्बी सञ्चालनमा ल्याएपछि यस क्षेत्रमा ‘आणविक डोमिनो घटना’ सुरु भई नयाँ शस्त्र दौड चर्किन बाध्य हुने चेतावनी पनि दिएको छ ।
यो प्रतिक्रिया सियोलले सीमा तनाव रोक्नका लागि उत्तर कोरियासँग सैन्य वार्ताको प्रस्ताव गरेको भोलिपल्ट आएको हो । सात वर्षपछि पहिलोपटक प्रस्तुत गरिएको यस प्रस्तावमा राष्ट्रपति लीले कुनै पूर्वशर्त विना व्यापक संवाद गर्न इच्छुक रहेको स्पष्ट पार्नु भएको छ । यो उहाँका रूढीवादी पूर्ववर्तीले अपनाएको कठोर नीतिबाट पूर्णतः भिन्न छ । यसबिच, उत्तर कोरियाले राष्ट्रपति लीको संवाद प्रस्तावमाथि हालसम्म कुनै प्रतिक्रिया नदिएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । रासस/एएफपी