• २८ वैशाख २०८३, सोमबार

ट्रम्पद्वारा मदुरोसँग संवादको तयारी, मेक्सिकोभित्र अमेरिकी कारबाही ‘ठीक’ हुने अभिव्यक्ति

blog

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो ।

वासिङ्टन, मङ्सिर २ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग प्रत्यक्ष संवाद गर्न तयार रहेको बताउँदै क्यारेबियन क्षेत्रमा वासिङ्टनको तीव्र सैन्य गतिविधिले उत्पन्न भइरहेको तनावका बिच आफूले उचित समयमा वार्ता खोज्ने सङ्केत दिनुभएको छ । 

साथै, उहाँले मेक्सिकोभित्र लागुऔषध विरुद्धको अमेरिकी आक्रमणबारे सोधिएको प्रश्नमा आक्रमणप्रति आफूलाई कुनै आपत्ति नहुने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले हाल क्यारेबियन क्षेत्रतिर अमेरिकी सेनाको उपस्थिति उल्लेखनीयरूपमा बढाउनु भएको छ । यसलाई उहाँले भेनेजुएला, मेक्सिको तथा अन्य ल्याटिन अमेरिकी देशमा सक्रिय लागु औषध तस्करविरुद्धको कारबाहीका लागि आवश्यक कदमका रूपमा प्रस्तुत गर्नु भएको छ । 

पत्रकारले ओवल अफिसमा उहाँसँग मदुरोसँग संवाद गर्ने सम्भावनाबारे सोध्दा उहाँले ‘उचित समयमा, म उहाँसँग कुरा गर्ने छु’ भन्दै मदुरोलाई अमेरिकाको हित विपरीत काम गर्ने व्यक्ति भनेर टिप्पणी गर्नुभयो । भेनेजुएलामा अमेरिकी भूसैनिक प्रवेशलाई अस्वीकार गर्ने कि भन्ने प्रश्नमा ट्रम्पले स्पष्टरूपमा अस्वीकार नगरी भन्नुभयो, “होइन, म कुनै पनि विकल्प अस्वीकार गर्दिनँ । हामीले भेनेजुएलाको हेरचाह गर्नुपर्छ । उनीहरूले लाखौँ मानिसलाई जेलबाट निकालेर हाम्रो देशतर्फ पठाए ।”

त्यसको केही घण्टापछि राष्ट्रपति मदुरोले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा संयुक्त राज्य अमेरिकामा ‘भेनेजुएलासँग कुरा गर्न इच्छुक जोसुकैसँग पनि आमनेसामने संवाद गर्न तयार’ रहेको अभिव्यक्ति दिनुभयो । यसैबिच, अमेरिकी मरीन सैनिकको एउटा टोली हाल ट्रिनिडाड एन्ड टोबागोमा सैन्य अभ्यासमा संलग्न छ । यो एक महिनाभित्र सो क्षेत्रमा भएको दोस्रो सैन्य अभ्यास हो । 

यो अभ्यास अमेरिकी तथा भेनेजुएलाली तटबाट करिब १० किलोमिटर टाढा सम्पन्न भइरहेको छ । तर ट्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री कमला पर्सद-बिसेसरले एएफपीलाई पठाएको ह्वाट्सएप सन्देशमा आफ्नो देशले भेनेजुएलामा कुनै पनि प्रकारको अमेरिकी आक्रमणका लागि आफ्नो भूभाग उपलब्ध नगराउने र यससम्बन्धी कुनै अनुरोध पनि पाएको नभएको स्पष्ट पार्नुभयो ।

“ट्रिनिडाड एन्ड टोबागोले भेनेजुएलाका जनतालाई हानि पुर्‍याउने कुनै पनि कार्यमा भाग लिँदैन”, वासिङ्टन र काराकासले वार्तामार्फत मतभेद समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो । भेनेजुएलाले अमेरिकामाथि विमानवाहक युद्धपोत, स्टील्थ जेट र अन्य सैन्य साधन सामग्री प्रयोग गरी शासन परिवर्तनको उद्देश्य राखेको आरोप लगाउँदै आएको छ । वासिङ्टनले भने राष्ट्रपति मदुरोलाई ‘आतङ्कवादी’ लागु औषध कार्टेलको नेतृत्व गरेको आरोप लगाएको छ । उक्त आरोपलाई मदुरोले कडा रूपमा अस्वीकार गर्दै आउनु भएको छ ।

एएफपीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरयता अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानीमा लागु औषध बोकेको आरोपमा डुङ्गामा हवाई आक्रमण गर्दा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । तर संयुक्त राज्य अमेरिकाले करिब २० भन्दा बढी आक्रमणमा मारिएका व्यक्ति वास्तवमा तस्कर नै थिए भन्ने दाबी पुष्टि गर्न विवरण सार्वजनिक गरेको छैन ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोविरुद्ध जारी कडा बयानबाजीलाई निरन्तरता दिँदै ‘लागु औषध रोक्नका लागि मेक्सिकोमा आक्रमण हुन्छ ? यसमा मलाई आपत्ति छैन । लागु औषध रोक्न जे गर्नुपर्छ, हामी त्यो गर्ने छौँ’ भनेर टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मैले अहिले गरिरहेको छु भनेर भनेको होइन, तर यदि गर्नुपर्यो भने म गर्वका साथ गर्ने छु । यसरी हामी लाखौँको ज्यान बचाउन सक्छौँ ।”

अगस्टदेखि वासिङ्टनले क्यारेबियन क्षेत्रमा आधा दर्जन युद्धपोतसहित महत्त्वपूर्ण सैन्य उपस्थिति कायम राख्दै अमेरिकाको भूमिमा पुग्ने लक्ष्यका साथ गरिने लागु औषध तस्करीविरुद्ध आधिकारिक रूपमा कडा अभियान चलाइरहेको छ । रासस/एएफपी