• ८ वैशाख २०८१, शनिबार

बढ्दै डेंगुका बिरामी : महिना दिनमै थपिए चार सय

blog

काठमाडौं, साउन २६ गते । पछिल्लो केही महिनादेखि कोरोना सङ्क्रमणका साथै डेंगुका बिरामी बढ्दै गएका छन् । असारको सुरुदेखि साउन २४ गतेसम्म चार सय जना डेंगुका बिरामी थपिएका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले सो जानकारी दिनुभएको हो । नेपालमा पुस देखि साउन महिनासम्म सात सय बिरामी थपिएको डा.दाहालले जानकारी दिनुभयो । यसअघि पुस महिनादेखि असारसम्म सात महिनाको अवधिमा ३४७ डेंगुका बिरामी थिए । डा.दाहालका अनुसार यो वर्ष सबै भन्दाबढी बिरामी बाग्मती र लुम्बिनी प्रदेशमा थपिएका छन् । 

हरेक वर्ष बर्खायाममा डेंगुका बिरामी बढ्ने हुँदा आत्तिहाल्नुपर्ने अवस्था नरहेको डा.दाहाल बताउनुहुन्छ । विगतका वर्षमा पनि ५८ जिल्लामा पाँच सयको हारहारीमा डेंगुका बिरामी भेटिएको डा.दाहालको भनाइ छ । उहाँका अनुसार अझै तीन महिना डेंगुका बिरामी बढ्न सक्ने सम्भावना छ । 

२०७६ सालमा नेपालमा डेंगु प्रकोपका रुपमा फैलिएको थियो । सो समयमा १० हजारभन्दा बढीमा डेंगु बिरामी भेटिएका थिए भने छ जनाको मृत्यु भएको इडिसिडिको तथ्याङ्क छ ।  

डेंगु फैलिएका जिल्ला निगरानीमा 

डेंगु नियन्त्रणको लागि महाशाखा डेंगु फैलिएका जिल्लालाई निगरानीमा राखेको डा.दाहालले बताउनुभयो । महाशाखाले डेंगु देखिएका जिल्ला लामखुट्टेका लाभा खोजेर नष्ट गर्ने काम गरिरहेको छ । गत वर्ष डेंगु देखिएका दुई सयवटा पालिकालाई महाशाखाले निगरानीमा राखेर बजेट विनियोजन गरेको छ ।

उहाँले भन्नुभयो, “नयाँ डेंगु देखिएका जिल्लामा पालिकाले समन्वय गरिरहेको छ । जस्तै ललितपुर, काभे्र,धार्दिङमा यो वर्ष डेंगु भेटियो त्यहाँ पालिकाले समन्वय गरिरहेको जनाउनुभएको छ ।”

डेंगु भनेको के हो ?

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरस सङ्क्रमित एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ ।

डेंगु भाइरस चार प्रजातिको हुन्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रो पटक लागेको डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुने डा. पुन बताउनुहुन्छ ।

एडिज जातको लामखुट्टेले प्रायः दिनमा टोक्ने डा.पुन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एडिस जातका लामखुट्टेले घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुन्छन् । सो समयमा थप सचेत रहनुपर्छ ।”

लक्षणहरु

ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन । खानामा अरुचि हुने, हाडजोर्नी तथा मांसपेशी र ढाड दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिने गर्दछन् ।

लक्षणहरू देखिएको ३ देखि ७ दिनपछि बिरामीमा कडा डेंगु देखिन सक्ने सम्भावना बलियो हुने गर्छ । लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव भई बेहोस हुन्छ ।

उपचार

डेंगु भाइरसबाट हुने भएकाले यसको खास उपचार छैन । कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहमा औषधि लिनुपर्ने चिकित्सक बताउँछन् । 

उच्च ज्वरो आएमा कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्ने डेंगुको उपचार हो । डेंगु भाइरस भएका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती तथा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई गम्भीर असर पर्ने हुँदा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् । 

डेंगुबाट बच्ने उपाय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारी लामखुट्टेको बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, खाली ठाउँमा मल्हम लगाउने, सधैँ सुत्दा झुलभित्र सुत्ने, घर वरपर वा खेतीबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउने, झ्याल ढोकामा जाली लगाई बन्द गरेर सुत्ने सुझाव दिनुहुन्छ । 

लामखुट्टेले फुल पार्ने ठाउँहरुमा फुल पार्न नदिनु नै उपयुक्त उपाय भएको डा. अधिकारी बताउनुहुन्छ । त्यसका लागि घर वरिपरि कार्यस्थल र सार्वजनिक स्थानहरुमा पानी जम्न नदिई सफा राख्न, पानी जमिहालेको खण्डमा हप्तामा दुई पटक जमेको पानी फाल्न र दैनिक प्रयोजनको लागि राखेको पानी छोपेर राख्न डा.अधिकारीको सुझाव छ ।

यस्तै, कुलरमा रहेको पानी हप्तामा दुई पटक सफा गर्ने, गमला वा गमला राखेको प्लेटमा जमेको पानी हप्तामा दुई पटक फालेर सफा गर्ने । त्यस्तै, भाँडाकुँडामा पानी जम्न नदिन घोप्ट्याएर राख्ने, घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, काम नलाग्ने भाँडाकुडा, सिसी र प्लास्टिकका सामग्री, टायर आदिमा पानी जम्न नमिल्ने गरी विसर्जन गर्दा लामखुट्टे लाग्नबाट बच्न सकिने डा. अधिकारी बताउनुहुन्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।