• १३ वैशाख २०८१, बिहिबार

गर्मीमा डेंगु प्रकोप

यसरी बच्न सकिन्छ डेंगुबाट

blog

काठमाडौं, असार १५ गते । नेपालमा केही वर्ष यता डेंगु प्रकोपका रुपमा देखिँदै आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका डा. गोकर्ण दाहालकाअनुसार सन् २०२२ सुरु भएदेखि अहिलेसम्म २२ जिल्लाबाट ६९ जनामा डेंगुका बिरामी भेटिएका छन् ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगु देखिएको थियो । त्यसयता बेलामा बेलामा सानोतिनो प्रकोपको रुपमा फैलिने गरेको छ । त्यसपिछ सन् २०१० मा डेंगु पहाडमा पनि देखिएको थियो । नेपालमा पहिलो पटक सन् २०१९ मा डेंगु प्रकोपका रुपमा फैलिएको थियो । लगभग सबै जिल्लाका हजारौं मानिस प्रभावित हुनुका साथै डेंगुका कारण केहीकाे मृत्युसमेत भएको थियो । सन् २०२१ मा ५२ र सन् २०२० मा ७५ जनामा डेंगुका बिरामी भेटिएका थिए । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी यस्तो समस्या देखिएकाे डा. दाहाल बताउनुहुन्छ । काठमाडौंका विभिन्न पानी जमेका ठाउँमा लामखुट्टेका लार्भाहरू प्रशस्तै देखिन सुरु भइसकेकाले अबको केही हप्तामा यी लार्भाहरू वयस्क भई मानिसलाई टोक्न सुरु गर्ने हुँदा डेंगु फैलिन सक्ने सरुवा रोग विशेषज्ञको चेतावनी छ ।

गर्मी र वर्षायाममा डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ । मानिसको आवतजावत बढ्नु, मौसम परिवर्तन, शहरीकरण, वातावरणको तापक्रम बढ्दै जाँदा उच्च पहाडी र हिमाल क्षेत्रमा पनि लामखुट्टे देखिने थालेको डा. दाहाल बताउनुहुन्छ ।


डेंगु भनेको के हो ?

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरस सङ्क्रमित एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डा. पुन बताउनुहुन्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ ।

डा. पुनकाअनुसार डेंगु भाइरस चार प्रजातिको हुन्छ । सेरोटाइप १, सेरोटाइप २, सेरोटाइप ३, सेरोटाइप ४ छन् । नेपालमा डेंगुको चारै सेरोटाइपहरु देखा परिसकेको छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रो पटक लागेको डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुने डा. पुन बताउनुहुन्छ ।

एडिज जातको लामखुट्टेले प्रायः दिनमा टोक्ने डा. पुन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एडिस जातका लामखुट्टेले घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुन्छन् । सो समयमा थप सचेत रहनुपर्छ ।”

लक्षणहरु

डा. पुनका अनुसार डेंगुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु, त्यसका अलावा टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, खानामा अरुचि हुने, हाडजोर्नी तथा मांसपेशीहरु र ढाड दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिने गर्दछन् ।

लक्षणहरू देखिएको ३ देखि ७ दिनपछि बिरामीमा कडा डेंगु देखिन सक्ने सम्भावना बलियो हुने डा. पुन उल्लेख गर्नुहुन्छ । लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रत्तश्राव भई बेहोस हुन्छ ।

उपचार

डेंगु भाइरसबाट हुने भएकाले यसको खास उपचार छैन । उच्च ज्वरो आएमा कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलाे खानेकुरा प्रशस्त मात्रामा खाने, र आराम गर्ने डेंगुको उपचार हो । डेंगुका जटिल लक्षणहरु देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान चिकित्सकको सुझाव छ ।

डेंगु भाइरस भएका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती तथा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई गम्भीर असर पर्ने हुँदा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।

डेंगुबाट बच्ने उपाय

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेको बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, खाली ठाउँमा मल्हम लगाउने, सधैँ सुत्दा झुलभित्र सुत्ने, घर वरपर वा खेतीबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउने, झ्याल ढोकामा जाली लगाई बन्द गर्न डा. पुनको सुझाव छ ।

लामखुट्टेको बच्चा पार्न रोक्न लामखुट्टे उत्पन्न हुन नदिन लामखुट्टेले फुल पार्ने ठाउँहरुमा फुल पार्न नदिनु नै उपयुक्त उपाय भएको डा. गोकर्ण दाहाल बताउनुहुन्छ । त्यसको लागि घर वरिपरी कार्यस्थल र सार्वजनिक स्थानहरुमा पानी जम्न नदिई सफा राख्न, पानी जमिहालेको खण्डमा हप्तामा दुई पटक जमेको पानी फाल्न र दैनिक प्रयोजनको लागि राखेको पानी छोपेर राख्न डा. दाहालको सुझाव छ ।

यस्तै, कुलरमा रहेको पानी हप्तामा दुई पटक सफा गर्ने, गमला वा गमला राखेकाे प्लेटमा जमेको पानी हप्तामा दुई पटक फालेर सफा गर्ने, त्यस्तै, भाँडाकुँडामा पानी जम्न नदिन घोप्ट्याएर राख्ने, घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने, काम नलाग्ने भाँडाकुडा, सिसी र प्लास्टिकका सामग्री, टायर आदिका पानी जम्न नमिल्ने गरी विसर्जन गर्दा लामखुट्टे लाग्नबाट बच्न सकिने डा. दाहाल बताउनुहुन्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।