जनार्जन खत्री
सर्लाही, मङ्सिर २२ गते । प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ मा एभरेष्ट फुटबल एकेडेमी लालबन्दीले विजयी सुरुवात गरेको छ । सर्लाहीको हरिपुर नगरपालिका–२, स्थित सानो जगतपुर खेल मैदानमा आइतबार साँझ सम्पन्न उद्घाटन खेलमा गोलबजार स्पोर्टस् क्लब सिरहालाई १–० ले पराजित गर्दै एभरेष्टले प्रतियोगितामा सुःखद् सुरुवात गरेको हो । एभरेष्टको जितमा खेलको २७ औँ मिनेटमा अविनास लामाले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
उद्घाटन खेलमा लामा नै म्याद अफ द म्याच बन्दै नगद एक हजार ५०० रुपियाँ प्राप्त गर्नुभएको छ । हरिपुर नगरपालिका र हरिपुर २ नं. वडा कार्यालयको आर्थिक सहयोगमा नव सङ्घर्षशील युवा क्लबले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहेको क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिनुभयो ।
आयोजक क्लबका अध्यक्ष घिसिङका अनुसार प्रतियोगिताको बिजेतालाई ट्रफीसहित एक लाख ५० हजार र उपबिजेतालाई ७५ हजार रुपियाँ प्रदान गरिने छ । त्यस्तै प्रत्येक दिनको खेलका म्याद अफ द म्याचलाई एक हजार ५००, प्रतियोगिताभरमा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही पाँच हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट एक खेलाडीलाई नगद आठ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
फुटबल प्रतियोगिता आयोजना गर्न हरिपुर २ नं. वडा कार्यालयले पाँच लाख रुपियाँ र नगरपालिका कार्यालयले चार लाख रुपियाँ बजेट विनियोजन गरेको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले बताउनुभयो । पुस १ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको आज नगरप्रमुख गोपाल पजियारले उद्घाटन गर्नुभएको हो ।
नगरप्रमुख पजियारले प्रतियोगितालाई आगामी वर्षहरुबाट थप भव्य र व्यवस्थित बनाउन आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । हरिपुर नगरपालिकाभित्र पहिलो पटक धेरै धनराशीको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा सोमबार हेटौंडा फुटबल एकेडेमी मकवानपुर र चिडियादह स्टार रौतहटबिच प्रतिस्पर्धा हुने छ ।