जिनान, असोज २९ गते । पूर्वी चीनको शानडोङ प्रान्तस्थित लियाओछेङ शहरको छिपिङ जिल्ला क्षेत्रमा मंगलबार राति एक सवारी दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
छिपिङ जिल्ला प्रशासनका अनुसार, ३७ वर्षीय चालक दु नामक व्यक्ति मद्यपान गरी गाडी चलाइरहेका बेला दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मङ्गलबार राति १०ः४६ बजे दुले चलाएको यात्रुबाहक गाडीले धेरैजसो इलेक्ट्रिक साइकललाई ठक्कर दिएको थियो ।
घटनास्थलमै एक जनाको मृत्यु भएको र बाँकी सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । अन्य चार जना घाइतेको अवस्था हाल स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । चालक दुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक परीक्षणमा उनको रगतमा मद्यपानको मात्रा १९५.३ मि.ग्रा.÷१०० मि.लि. पाइएको छ, जुन कानुनी सीमाभन्दा निकै बढी हो । रासस/सिन्ह्वा