नारद कोहार
तौलिहवा(कपिलवस्तु), असोज २९ गते । जिल्लामा रहेको दश स्थानीय तहहरुमध्ये सात वटा स्थानीय तहले बीमा अनिवार्य गरेका छन् । जिल्लाको कपिलवस्तु, कृष्णनगर, शिवराज, बुद्धभुमि नगरपालिका, यशोधरा, मायादेवी र विजयनगर गाँउपालिकाले आठ प्रकारका कडा रोगका सम्बन्धमा बीमा अनिवार्य गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (पहिलो संशोधन २०८२) कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले गत साउन ४ गतेको मन्त्रीस्तरको निर्णयअनुसार उक्त निर्देशिका स्वीकृत गरेको थियो ।
निर्देशिका स्वीकृत भएसँगै मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई पत्राचार गरी कडा प्रकारका रोगहरूका उपचारका लागि विपन्न नागरिकहरूको सिफारिस गर्दा अबदेखि उक्त निर्देशिकाको प्रावधानअनुसार गर्न निर्देशन दिएको हो ।
सो कार्यक्रमअन्तर्गत विपन्न नागरिकहरूलाई मुटु रोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया गम्भीर रोगहरूको उपचारका लागि सरकारले सहयोग प्रदान गर्दै आएको छ ।
सरकारले निर्देशिका अनुसार सिफारिस प्रक्रिया सुव्यवस्थित बनाइँदा सेवा सुविधामा सहजता आउने र उपचारमा असमानता घट्ने विश्वास लिएको छ ।
स्वास्थ्य वीमा बोर्ड कपिलबस्तुका संयोजक वशिष्ठ तिवारीका अनुसार जिल्लामा कडा रोगहरुको करिब ४० जना विरामीहरु प्रक्रिया पुर्याई कागजात बुझाएको बताउनुभयो । सो मध्ये करिब ९० प्रतिशत मृगौला रोगका विरामीहरु रहेको उहाँको भनाई छ ।
जिल्लामा कुल १ लाख ४० हजार ८४३ जना विमित छन् ।