काठमाडौं, साउन २१ गते । हास्य कलाकारको रुपमा दुई दशक रङ्गमञ्च क्षेत्रमा बिताउनुभएका जोगिन्दर अर्थात् शिवशङ्कर रिजाल सानैदेखि मैथिली, अवधी, बज्जिका, भोजपुरी भाषासँगै लगाव भएका हास्य कलाकार हुन् ।
बाल्यकालदेखि उहाँ सर्लाही जिल्लाका हास्यव्यङ्ग्य कार्यक्रममा भाग लिने, विद्यालयमा नाटक हुँदा शिक्षकको नक्कल गरेर हँसाउने गर्नुहुन्थ्यो । कुकुरले टोकेर काठमाडौंमा उपचारका लागि आउनुभएका शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ बन्छु भन्ने सोचेको थिएनँ, उहाँले भन्नुभयो ।
हास्य कलाकार जोगिन्दर पानवालासँग उहाँको कला यात्रा र गाईजात्रे
सामग्रीबारे गोरखापत्र अनलाइनका पत्रकार सनम महर्जनले गर्नुभएको भिडियो
कुराकानी ।
भिडियो: मनोजरत्न शाही र केशब गुरुङ ।
हास्य कलाकार र कलाकारितामा छुट्टै रुची र आकांक्षा भएको र हँसाउने कुरा आफैंमा परिकल्पना गर्ने क्षेत्र भएका कारण उहाँ यस क्षेत्रमा होमिनुभएकोजस्तो लाग्ने जोगीन्दर बताउनुहुन्छ ।
२०५९ सालमा ‘श्राद्य’ बाट उहाँको पहिलो हास्यव्यङ्ग्य गाईजात्रे यात्रा सुरु भएको थियो । खुलामञ्चमा हाँस्य कलाकारको कार्यक्रममा भाग लिँदै र ‘श्राद्य’ को पहिलो क्यासेटबाट उहाँले यो क्षेत्रमा प्रवेश गर्नुभयो ।
“हास्य कलाकारले दिने सन्देश सकारात्मक र चेतनामूलक हुन्छ । हास्य र व्यङ्ग्यसहित समाजमा सकारात्मक असर परोस् भनेर गाईजात्रामा व्यङ्ग्य हान्ने गरिन्छ”, उहाँ भन्नुहुन्छ, “नेपालमा राजनीतिक र सामाजिक व्यङ्ग्य हान्ने चलन छ, जसले केही हदसम्म दर्शकलाई खुशी दिने काम गरेको छ जस्तो लाग्छ ।”
उहाँका अनुसार गाईजात्राको दिन व्यङ्ग्य गर्ने चलन धेरै पुरानो हो । यस दिन व्यङ्ग्य हान्दा कुनै प्रशासनले कारबाही गर्दैन, त्यसैले गाईजात्रा एक विशेष पर्व हो ।
“गाईजात्रामा हास्य व्यङ्ग्य हान्ने हाम्रो प्रजातन्त्र, लोकतन्त्र र वाक् स्वतन्त्रताले पनि दिएको छ । तर पञ्चायतकालमा गाईजात्राको पर्वमा विशेष व्यङ्ग्य हान्ने चलन थियो । त्योबेला व्यङ्ग्य हान्न गाईजात्रा कुर्नुपर्थ्याे” उहाँले भन्नुभयो ।
किनभने पहिले धेरै बिसङ्गति नदेखिएजस्तो हुन्थ्यो तर अहिले सधैं गाईजात्राभन्दा पनि जनताले वाक् स्वतन्त्रता पाएको उहाँको भनाइ छ । सधैं मधेसी हुलियामा देखिने जोगिन्दरलाई राजधानीसम्म नआएका मधेसी बोलीचाली र भाषालाई दर्शकसामु ल्याउन मद्दत गरेको जस्तो लाग्छ ।
“मधेशी भूमिका निभाएको लामो समय भयो, म तराईको बसोवास गर्ने नागरिक हो र आफूलाई नेपालीपछि मधेसी भन्न चाहन्छु, उहाँ भन्नुहुन्छ, “कलाकारले सबै क्षेत्र र भेषका भूमिका निर्वाह गर्न पाउनुपर्छ ।”