• १६ असार २०८१, आइतबार

पठन संस्कृतिको नयाँ आयाम

blog

“छन् चोखा प्रिय अक्षता समयको संवेदनाका जहाँ

पूजा हुन्छ सदैव अक्षर कला सञ्चेतनाको जहाँ 

चर्चा हुन्छ जहाँ नवीन कृतिको सत्साधना ध्यानको

यो ‘सम्पूर्ण किताब’ मन्दिर स्वयं हो ज्ञान–विज्ञानको।”


यो कवितामा कवि गोविन्दराज विनोदीले भनेझैँ नारायणगढमा रहेको ‘सम्पूर्ण किताब’ अहिले चितवन र यस वरपरका क्षेत्रका लागि साहित्य र ज्ञान विज्ञानका पुस्तकको बिक्री केन्द्र मात्रै होइन प्रकाशनसँगै प्रवद्र्धनमा समेत जुटेको छ। साहित्य लेखनमा लागेका हुन् वा प्रकाशकहरू जो कोही चितवन आउँदा यो पसल नछिरे आफूलाई अपूरो सम्झन्छन्। कवि विनोदीले भनेझैँ साहित्यकारहरूको आस्था र मन्दिर बनेको सम्पूर्ण पसलका सञ्चालक लेखराम सापकोटा उमेरले चार दशक पुग्नुभयो । उहाँमा भएको सरलता र मिजासिलोपनका कारण उहाँ अरूको अगाडि प्रिय हुनुहुन्छ। 

“मेरै लागि पनि यो पसल मन्दिर हो। यहाँ आउने ग्राहक र स्रष्टाहरू भगवान् हुनुहुन्छ। त्यसका लागि पनि मैले उहाँहरूको सम्मान गर्नु जरुरी छ”, उहाँले भन्नुभयो।  

झन्डै २३ वर्षअघि अर्काको पुस्तक पसलमा कामदारका रूपमा यो क्षेत्रमा प्रवेश गर्नुभएका सापकोटाले त्यही ज्ञान, सीप बुझेर आफ्नो पसल सञ्चालनमा ल्याउनुभएको हो। उहाँले पसल मात्रै सञ्चालनमा ल्याउनु भएन पब्लिकेसनसमेत सञ्चालन गरेर धेरै स्रष्टाहरूको कृति प्रकाशनसँगैँ चितवनमा मूलधारको कायाकैरन दैनिकका प्रबन्ध निर्देशक भएर काम गरिरहनुभएको छ। 

“म २०५७ सालमा एसएलसी दिएसँगै नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगी भएर काम गर्न थालेँ। त्यहाँ दुई वर्ष काम गरेपछिको थप दुई वर्ष काठमाडौँको एसिया पब्लिकेसनमा बित्यो”, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैह्री निवासी सापकोटाले यो पेसामा लाग्दाको अनुभव सुनाउँदै थप्नुभयो, “पब्लिकेसनको कामबाट पनि मलाई त्यति चित्त नबुझेपछि वैदेशिक रोजगारीमा लागेँ। मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्जस्ता देशमा पाँच वर्ष काम गरेर फर्केपछि मलाई विदेश जान पनि मन भएन।”

स्वदेश फर्किएपछि विदेश नजानुमा पनि आफ्नै कथा छ। उहाँ भन्नुहुन्छ, “जब म वैदेशिक रोजगारीबाट फर्किएर विवाह गरेँ, श्रीमतीले मलाई परिवारसँगै रहेर यतै कुनै काम गर्न आग्रह गरिन् । मलाई त्यो सुझाव ठिकै लागेपछि तत्कालका लागि नारायणगढकै मास्के पुस्तक भण्डारमा काम गर्न थालेँ।”

विदेशमा पाएको हन्डर, स्वदेशमा सिकेका सीप र ज्ञानले नै आफ्नै लगानीमा केही गर्ने सोच आएपछि उहाँले २०७१ भदौमा साथीसँग मिलेर पुस्तक पसल खोल्नुभयो। सुनगाभा बुक हाउसका नाममा साझेदारी पुस्तक पसल सञ्चालन गरेर पनि उहाँको चित्त बुझेन। विस्तारै उहाँले एकल स्वामित्वमा २०७५ साल भदौ २३ मा सम्पूर्ण किताब सञ्चालन गर्नुभयो। 

पसल खोलेसँगै युरेका पब्लिकेसन दर्ता गराएर विभिन्न स्रष्टाका ३० भन्दा बढी कृति प्रकाशन गरेको सापकोटाले जानकारी दिनुभयो। सम्पूर्ण किताबमा स्रष्टाहरू किताब किन्न मात्रै आउँदैनन्, साहित्यिक छलफल गर्न यहाँ जमघट हुने गर्दछ। दिनहुँ कुनै न कुनै स्रष्टाहरूको उपस्थिति यो पसलमा देख्न सकिन्छ। 


सुरुका वर्षमा एक हजार २०० मासिक पारिश्रमिक लिएर काम सुरु गर्नुभएका सापकोटा अहिले एक करोड रुपियाँभन्दा बढीको मूल्य बराबरको किताब पसल सञ्चालन गर्नुहुन्छ। भरतपुर महानगरपालिका – १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ।“आफैँले कमाएर ५० लाख रुपियाँ बराबरको लगानीमा सम्पूर्ण किताब सञ्चालनमा ल्याएको हो, अहिले एक करोड रुपियाँभन्दा बढीका पुस्तक पसलमा छन्”, सापकोटाले भन्नुभयो। 

साहित्यका मात्रै हैन पाठ्यक्रम र अन्य विभिन्न खुराकका पुस्तकहरू उहाँले बिक्रीमा राख्ने गर्नुहुन्छ। उहाँको विशेषता कुनै पनि किताबको प्रवद्र्धन गर्नु हो। गोरखापत्र दैनिक त उहाँले लामो समयदेखि नियमित फाइलिङ गरेर राख्नु भएको छ। गोरखापत्रका मासिक प्रकाशनहरू मुना, युवामञ्च र मधुपर्क जिल्लामा सबैभन्दा बढी बिक्री उहाँले गर्दै आउनुभएको छ। व्यवसायकै माध्यमबाट पठन संस्कृतिको विकासमा ठूलो योगदान पु-याउनु भएका सापकोटा भन्नुहुन्छ, “लेखन र पठन संस्कृतिको विकासले समाज रूपान्तरणमा महìवपूर्ण भूमिका खेल्छ भन्ने मेरो विश्वास हो।” 

“मुना, मधुपर्क र युवामञ्चजस्ता प्रकाशनलाई विद्यार्थीको हातहातमा पु-याउने काम गरिरहेका छौँ”, गोरखापत्रका प्रकाशनहरूमा सिर्जनशीलता भएको बताउँदै उहाँले थप्नुभयो, “विद्यार्थीका हातमा यस्ता पुस्तक पु-याउन हामी कसैको जन्म दिन, वैवाहिक वर्षगाँठजस्ता शुभ दिनलाई माध्यम बनाउँछाैँ।

साहित्यकार तथा लेखक रामकृष्ण अनायशले आफ्नो जन्मदिनमा आफू पढेको स्कुलका विद्यार्थीहरूलाई मुना र युवामञ्च वितरण गर्नुभयो। “जन्मदिनमा कुनै न कुनै नयाँ काम गरौँ भन्ने थियो सम्पूर्ण किताबका सञ्चालक सापकोटाले मुना र युवामञ्च वितरण गराँै भनेपछि मेरो मन पनि खुसी भयो”, उहाँले भन्नुभयो, “सापकोटा पठन संस्कृतिको विकासमा मरेर लागेका व्यक्ति हुनुहुन्छ।” 

विदेशमा भन्दा अहिले स्वदेशमै बस्दाको कमाइ राम्रो छ। उहाँले किताब नै बेचेर आएको आम्दानीले परिवार मात्रै पाल्नुभएको छैन भाइ दिदीबहिनीको विवाहको खर्च जोहो गर्नुभएको छ। “किताब बेचेर आर्थिक सुधारको पक्ष पनि नराम्रो हैन राम्रै छ तर आर्थिकभन्दा पनि यो पेसाले अहिले सामाजिक र शैक्षिक विकासमा सहयोग पुगेको विश्वास गरेको छु”, उहाँले भन्नुभयो। उहाँ सफल हुनुमा निरन्तरको मिहिनेत र मिजासिलो स्वाभाव नै प्रमुख कारण मानिएको छ। सापकोटाले कुनै पनि कामलाई सानो नभनी अनुभव सँगाल्दै निरन्तर लागिरहने भएकोले पनि सफल हुनुको प्रमुख कारण मध्येको एक मान्नुहुन्छ अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डित । उहाँ थप्नुहुन्छ, “सापकोटालाई एउटा कुशल साहित्यिक सङ्गठक, विभिन्न साहित्यिक सङ्घ संस्थामा रही साहित्यको श्रीवृद्धिमा लागि पर्ने साहित्य साधकका रूपमा चिन्न सकिन्छ।”

सापकोेटाले सञ्चालन गरेको सम्पूर्ण किताब स्रष्टाका लागि साहित्यिक चौतारी भएको उल्लेख गर्दै उहाँले पठन संस्कृतिले मात्रै विकास हुन सक्ने उल्लेख गर्नुभयो। सापकोटा अहिले गजल मञ्च चितवनका कार्यवाहक अध्यक्ष, नेपाली लेखक सङ्घ चितवनका सचिव, अक्षर समूह चितवनका सचिव, चितवन साहित्य परिषद्का साधारण सदस्यलगायतका साहित्यिक सङ्घ संस्थामा रहेर पनि साहित्यको उन्नयनमा लाग्नुभएको छ। उहाँका ‘श्रद्धाका फूलहरू’ गजलसङ्ग्रह, ‘तिम्रा खुसीहरूमा’ मुक्तक तथा हाइकू सङ्ग्रह साथै सहलेखनका रूपमा ‘गजल पथका यात्रीहरू’, ‘गजल विम्ब’, ‘गजल दीप’ गजल सङ्ग्रहहरू प्रकाशित छन्। साहित्य लेखनमा सक्रिय रहनुभएका उहाँले साहित्यिक पत्रकारितासमेत गरिरहनुभएको छ। उहाँले साहित्यका क्षेत्रमा पु-याउनु भएको योगदानको कदर गर्दै विभिन्न पुरस्कार तथा सम्मान पनि प्राप्त गर्नुभएको छ। 

उहाँको सफलतामा श्रीमती शिरिषा सापकोटाको सहयोग र सद्भाव रहेको छ। शिरिषा भन्नुहुन्छ, “उहाँ आफ्नो काममा मिहिनेत गर्नुहुन्छ। कामप्रतिको जिम्मेवारीबोध पनि उहाँमा छ। यसैकारण पनि उहाँ आफ्नो पेसामा सन्तुष्ट हुनुहुन्छ=।” लेखक तथा अजम्बरी प्रकाशनका सञ्चालक कृष्ण अविरल सापकोटालाई स्रष्टा र साहित्यका लागि मरिमेट्ने व्यक्तिका रूपमा चित्रण गर्नुहुन्छ। “एउटा लेखकका हजारप्रति पुस्तक पनि बिक्री गर्न मुस्किल भइरहेको अहिलेको बेला देशैभर पाँचजना मात्रै यस्ता मान्छे हुने हो भने साहित्यको विकासमा ठूलो सहयोग पुग्ने थियो”, लेखक अविरलको भनाइ छ।