• १० मंसिर २०८१, सोमबार

शक्तिहीनमाथि शक्तिशालीको शासन

blog

शरीर राजनीतिबारे आजकल यत्रतत्र सुनिन्छ। आखिर के हो शरीर राजनीति ? लैङ्गिक अध्ययनको एउटा मुख्य विचार शरीर हो। शरीरसम्बन्धी विकसित सैद्धान्तिक विचारलाई आधार बनाई कमजोर शरीरमाथि शक्तिशालीले गर्ने राजनीतिक व्यवहारको अध्ययन शरीर राजनीतिमा गरिन्छ। शरीरको शोषण, दमन, दलन, हिंसा र अधीनस्थताका कारण शरीर राजनीतिको जन्म भएको पाइन्छ। स्कुल कलेजमा पढ्ने विद्यार्थीले पनि बडी पोलिटिक्स भन्दै एकअर्कालाई छेडखान गर्दै गरेको भेटिन्छ । के हाम्रो शरीर राजनीतिको प्रयोगभूमि हो ? शरीर राजनीति भनेको के हो ? कस्ता कस्ता शरीर शरीर राजनीतिको विषय क्षेत्र हुन् ? शरीर राजनीतिको चपेटामा को पर्छ ? शरीर राजनीतिको बहुआयामिक पक्ष कस्तो छ ? कसले शरीर राजनीति गर्छ ? 

शरीर राजनीतिलाई अङ्ग्रेजीमा ‘बडी पोलिटिक्स’ भनिन्छ। यसको सैद्धान्तिक पक्ष उठाउने मिसेल फुको आफ्नो पुस्तक ‘बडी कन्डेम’मा लेख्छन्, “शरीरको राजनीति यस्तो विषय हो, जसले शरीर, शक्ति संरचना र त्यसले निर्माण गर्ने ज्ञानको सम्बन्धबारे प्रस्ट पार्छ अनि त्यसको प्रत्यक्ष सम्बन्ध शरीर र शक्ति संरचनासँग रहन्छ। मानव शरीर छाला, हाड र मासुको पिण्डभन्दा पर एक राजनीतिक क्षेत्र हो।” उनले महिलावादी एक दमित क्षेत्रका रूपमा शरीरलाई परिभाषित गरेर सन् १९६० को दशकदेखि नै महिला शरीरको विषय उठान गर्दै आएका छन्। शरीर राजनीतिक कार्यपिठिका हो; जहाँ शक्तिको सङ्घर्ष अनवरत भइरहन्छ। मानव शरीरमाथि गरिने अनेकाँै प्रयोगको अध्ययन गर्ने सैद्धान्तिक अवधारणा शरीर राजनीति हो। नागरिकको अधिकार र शरीरको स्वतन्त्रतासँगै अघि बढेको नारीवादी आन्दोलन र शरीरको मुद्दाबाट शरीर राजनीतिको अवधारणा प्रकट भएको हो। 

समाज र संस्कृतिका छापदेखि शरीर पृथक रहन सक्दैन। समाज र संस्कृतिको गहिरो प्रभाव शरीरमा रहन्छ। चन्द्रा भद्रा लेख्छिन्, “महिला र पुरुषको भिन्न सामाजिक परिचय नै लैङ्गिकता हो।” छुट्टाछुट्टै शारीरिक बनावट र गुणका आधारमा समाजले नारी र पुरुषलाई फरकफरक सामाजिक छवि र भूमिका प्रदान गरेको छ। समाजमा पुरुष र महिलाका बीच भिन्नता ल्याउने मूल तìव पितृसत्ता हो। मूलतः शरीर राजनीतिको अवधारणा पितृसत्तात्मक सोच र सत्ताविरुद्ध नारीवादीले मेरो शरीर मेरो अधिकार, तिम्रा कानुनभन्दा बलियो हो। मेरो शरीर भनेर भनेर उठान गरेको भए पनि आजको सन्दर्भमा पुरुषको शरीरलाई समेत अध्ययन गर्ने मान्यताका रूपमा शरीर राजनीति आएको छ। शरीर राजनीतिअन्तर्गत विचारधारा निर्देशित राजनीति, संस्कृति र समाज निर्देशित राजनीति, बलियोले निर्धालाई गर्ने शरीर राजनीतिको कोणबाट यसलाई हेर्ने गरिन्छ। 

अधीनस्थ शरीरको अध्ययन, प्रतिरोधी शरीर, मौन शरीर, युद्धमा सहभागी शरीर, विद्रोहमा सामेल शरीर र विविध क्रियाकलाप र प्रयोजनका लागि प्रयोग भएका मानव शरीर, शरीर राजनीतिको अध्ययनको क्षेत्र हो। युद्धमा हातखुट्टा गुमाएको सिपाही, वैदेशिक रोजगारमा जाँदा रातो बाकसमा पह्रेको युवक, प्रेम अस्वीकार गरेका कारण अनुहारमा एसिड छ्यापिएकी किशोरी, कम उचाइका कारण बिहे गर्न अस्वीकृत युवती, तिमी त बाहुनीजस्ती छौ। दलितजस्ती देखिन्नौ भन्ने समाजको फैसला, छालाको रङ बदल्न दिनहुँ फेयर एन्ड लभ्ली दल्ने स्त्री, जिम गएर मसल्स बनाउने लाठे, बच्चालाई दूध चुसाउँदा शरीर बिग्रन्छ भन्ने नारी, नर्मल डेलिभरीमा भन्दा सिजरिङ्ग गर्न उत्प्रेतित गर्ने पुरुषको मानसिकता यी सबैको अभिष्ट शरीर राजनीतिसँग जोडिएको हुन्छ। 

प्रा. डा. रमेशप्रसाद भट्टराईका अनुसार जैविक शरीरलाई विचारधाराअनुरूप थरिथरि आकृतिमा रूपान्तरण गर्नु नै शरीर राजनीति हो। जस्तो कि पुँजीवादले नारी र पुरुष दुवैको शरीरलाई व्यापारको केन्द्र ठान्दछ र समाजमा स्थापित आदर्शअनुसार शरीरको प्रयोग गरी वस्तुकरण गर्दछ। आहार नियन्त्रण, बच्चालाई दूध नखुवाउने, ब्युटीपार्लर गएर सुन्दर बन्ने, अनेक कृत्रिम उपायबाट शरीर घटाउने बढाउने तौल नियन्त्रण गर्ने, औषधि सेवन गरेर महिला पातली र कोकोकोला फिगरको बन्ने र पुरुष पनि जिमखाना धाएर बलिष्ठ मसल्सधारी बन्ने, तन्दुरुस्त देखिने महिला पुरुषको शरीरको अवधारणा आदर्श र उदाहरणको आदि इत्यादि मापन बनाएर शरीरमाथि नियन्त्रण या अधीनमा राख्ने काम गरिन्छ। 

पुरुषले नारी शरीर उपयोग, पुरुषले पुरुष शरीर उपयोग आदि शक्ति सम्बन्ध, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिक मान्यताका आधारमा र पहुँच र वर्चस्वका आधारमा शरीर प्रयोगबारे वर्तमानमा अध्ययन शरीर राजनीतिले गर्दछ। शरीर शक्ति चलखेल र शक्ति निर्माणको अत्यन्तै संवेदनशील स्थल हो। अघि बढ्दा खुट्टा तान्ने र हात दिने दुवै शरीर राजनीति हो। साधनस्रोतमाथि जसको नियन्त्रण र प्रभुत्व रहन्छ, उसका बारे र उद्वारा अधीनस्थबारे प्रभुत्व कसरी स्थापित भयो र कसरी अधीनस्थ बन्यो भन्ने शक्तिसम्बन्धबाट समाज र राजनीति बुझ्न सकिन्छ। महिलालाई फगत भोग्या वस्तु सम्झने संस्कार र शरीर राजनीतिलाई मलजल गर्ने आहान हो। जसरी महिला शरीर बाध्यता र परिस्थितिले विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ अर्थात् वस्तुकरण गरिन्छ।

त्यस्तै पुरुष शरीर पनि स्वैच्छा, बाध्यता र समाजमा निर्मित भाष्यका कारण चाहेर नचाहेर निडर बन्नुपर्ने, आत्मनिर्भर हुनुपर्ने, कठोर हुनुपर्ने, पीडामा रुन नहुने, घरको सम्पूर्ण भार वहन गर्नुपर्ने, निर्णयकर्ता हुनुपर्ने, नेतृत्वदायी बन्नुपर्ने, जीवन दाउमा राखेर रोजगारी गर्नुपर्ने, विदेश गएर भए पनि सम्पत्ति कमाउनुपर्ने अन्यथा उसको सामाजिक मूल्य कमी हुनेजस्ता समाजका मान्यताले एउटा पुरुष पनि शोषणमा पर्ने, कसैको खुसीका लागि समाप्त हुन तयार रहनुपर्नेजस्ता अनगिन्ती कारण उसको शरीरमाथिका राजनीति हुन्। 

पूर्व र पश्चिममा शरीर राजनीति

पूर्व र पश्चिम दुवैमा लैङ्गिकताका आधारमा पुरुषले स्त्रीशरीरमाथि शरीर राजनीति गर्दै आएको छ। आजसम्म संसारमा सबैभन्दा बढी दलनमा परेको शरीर नै महिला शरीर हो। पूर्वको दाँजोमा पश्चिम नारीप्रति केही उदार छ। नारीलाई हेर्ने अधिकार दिने र तिनको अस्तित्व स्वीकार गर्ने मामलामा कम बेसी विश्वभर एकै दृष्टि रहेको छ। स्त्रीद्वेशी नजर रहेको छ। पश्चिमा देशमा रङकै आधारमा निकै लामो समय गोराहरूले कालाहरूमाथि ज्यादती गरे। युरोपियनहरूले काला वर्णका अफ्रिकनलाई मान्छेको दर्जा दिएनन्, दास बनाए, साङ्ग्लोमा बाँधेर बेचबिखन गरे चरम शोषण र दमन गरे। कालाहरूको शरीरमाथि निर्मम राजनीति गरे। जसको अवशेष आज पर्यन्त गोरा–कालाको भेद पश्चिमा मुलुकहरूमा पाइन्छ। 

पूर्वमा जातका आधारमा विशेषगरी दक्षिण एसियाली देशहरू भारत, नेपाल, पाकिस्तान, बङ्गलादेश, भुटानलगायतमा जातको आधारमा शोषण, दमन र दलनको शृङ्खला चल्दै आएको छ। कथित उच्च जातले कथित तल्लो जातलाई छूत र अछूत भनेर गरिने अमानवीय व्यवहार आपत्तिजनक र मानवाधिकारको गम्भीर उल्लङ्घन हो। छूत अछूत भनेर बनाइएको खाडल शक्तिसम्पन्न शरीरले शक्तिहीन शरीरलाई दबाउन कजाएर राख्न गरिएको एक राजनीति हो। हाम्रो नेपालको सामाजिक परिप्रेक्ष्यमा हेर्दा शरीर राजनीतिका थुप्रै आयामिक कोणको नजिक पुग्न सकिन्छ। लिङ्ग, जाति, 

धर्म, संस्कृतिजस्ता विविध कसीमा सामाजिक भेद निर्मित छ; जसले शक्तिको अभ्यास गर्छ। शक्तिशालीले शक्तिहीनको शरीरमाथि गर्ने शक्तिको राजनीति बलमिच्याइँको राजनीति पनि शरीर राजनीति हो। 

वर्तमान सन्दर्भमा शरीर राजनीति वर्णका आधारमा, लिङ्गका आधारमा (स्त्री र पुरुष) र तेस्रोलिङ्गी र लिङ्ग परिवर्तन गरेको अन्य लिङ्गीमा समेत खोजी र चर्चामा छ। मानव शरीरमाथि सामाजिक संस्कार, आस्था र विश्वासले पनि नियन्त्रण गरेर शक्तिको अभ्यास र प्रयोग गरेको छ। वर्ष दिनसम्म आफन्त मरेका कारण सेतो कपडामा बस्ने संस्कार, छाउ र नछुनी बार्ने प्रथा शरीरमाथिको नियन्त्रणका उदाहरण हुन्। सीमान्त शरीर सबैभन्दा बढी शरीर राजनीतिको घानमा परेको छ। सीमान्त शरीर सबैभन्दा धेरै असुरक्षा र शोषणको फन्दामा परेको पाइन्छ। कारण उनीहरू विगतदेखि नै किनाराकृत भएर शक्ति, सामथ्र्य, पहुँच, आर्थिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक रूपमा धकेलिएका पाखामा पु-याएका समुदाय हुन्। 

शरीर राजनीतिप्रति प्रतिरोध 

समाजका बनिबनाऊ मान्यताका भन्जन सुरु भएको छ। पितृसत्ताले हजारौँ वर्षदेखि नारीको शरीरमाथि स्वार्थपूर्ण प्रयोग गरेर अधीनस्थ बनाएर राखेको छ। नारीले आफ्नो शरीरमाथि अर्काको नियन्त्रण र नियोजन अस्वीकार गरी आफ्नो शरीरमाथि पूर्ण अधिकार आफ्नो मात्रै रहन्छ भन्ने दाबी प्रस्तुत गर्दै आएका छन्। नारीलाई अधीनस्थ बनाएर शोषण, दमन र थिचोमिचो गर्ने संरचना पितृसत्ता, पुँजीवाद र सामाजिक संस्कृति हो, यसबाट मुक्त गर्न खोज्नु र प्रयोगमा आउन नदिनु प्रतिरोध हो। शरीरमाथिको प्रयोगको प्रतिरोध मौनता, आवाज, पहिरन, खानपान, जीवनशैली आदिका माध्यमबाट गरिन्छ। स्वाभिमानी बन्नु, स्वतन्त्रता खोज्नु, कपाल काट्नु, गहना नलगाउनु, सामाजिक बन्देजका खानपिन गर्नु, विरोधमा बोल्नु, वैदेशिक रोजगार जानु, यदाकदा मौनता साँध्नु आदि प्रतिरोधका तरिका हुन्। 

त्यस्तै पुरुषले पनि आफ्नो शरीरमाथिको राजनीतिको प्रतिरोध विभिन्न ढङ्गले गर्छन्। प्रकारान्तरले मानव शरीर राजनीतिक क्षेत्र हो। शक्तिको चलखेल हुने स्थल हो। यसलाई पितृसत्ता, धर्मसत्ता, पुँजीवादी विचारधाराले यान्त्रीकरण गरेर प्रयोग गरेको हुन्छ। जुनसुकै बहानाले गरिएको शरीरमाथिको नियन्त्रण, प्रयोग र अधीनस्थता शरीर राजनीति हो। शरीर राजनीति लैङ्गिक, धार्मिक, पितृसत्तात्मक, स्वेत वर्ण र पुँजीवादीहरूको वशमा छ। शरीर राजनीतिको प्रयोग धेरैजसो महिला, र सीमान्तकृत समुदायमा भएको छ। शक्तिशाली वर्गले कमजोर वर्गलाई सताउने वस्तुकरण गर्ने माध्यम र हतियार हो– शरीर राजनीति। शरीर राजनीति व्यक्तिगत स्वतन्त्रतासँग जोडिएको छ। यसले शरीरमाथिको सबैखाले उत्पीडनको विरोध गर्दछ। आफ्नो अधिकार, स्वतन्त्रता र आत्मसम्मानको माग दाबी प्रस्तुत गर्छ।