• १५ वैशाख २०८१, शनिबार

भव्य सेट उत्कृष्ट छायाङ्कन शमशेरा

blog

काठमाडौँ, साउन ८ गते ।  झन्डै चार वर्षको लामो अन्तरालपछि रणवीर कपुर अभिनित चलचित्र ‘शमशेरा’ प्रदर्शनमा आएको छ। शमशेरा कोरोनापछि सबैभन्दा धेरै सिनेमाघरहरूमा प्रदर्शनमा आएको चलचित्र हो। चलचित्र सन् २०१९ को डिसेम्बरमा प्रदर्शन हुने तयारीमा थियो तर कोरोनाका कारण करिब साढे दुई वर्ष चलचित्रको प्रदर्शनमा ढिलाइ भयो।

चलचित्रको कथा खमेरान र काजा नामक जातका मानिसमा आधारित छ, जसभित्र दर्शकहरूले आमा–छोरा र श्रीमान्–श्रीमतीबीचको प्रेम र उनीहरूले आफ्नो जातका मानिसका लागि गरेको लडाइँ पाउँछन्। 

१८औँ शताब्दीको राजपूत युगमा, खमेरान जातका मानिस आश्रयको खोजीमा काजा पुग्छन् तर त्यहाँका उच्च जातिले तिनीहरूलाई स्वीकार गर्दैनन्। त्यसपछि तिनीहरूका प्रमुख शमशेरा (रणवीर कपुर) आफ्ना साथीसँग काजालाई लुट्न थाल्छन्। काजाका मानिसले खमेरानहरूविरुद्ध ब्रिटिसको अदालतमा निवेदनसमेत दिन्छन्। त्यसपछि सरकारले प्रहरी निरीक्षक शुद्ध सिंह (सञ्जय दत्त)लाई शमशेरा र उनका साथीलाई धोका दिएर काजाको किल्लामा पठाउँछ र उनीहरूमाथि धेरै अत्याचार हुन सुरु हुन्छ। चलचित्रको कथामा ट्विस्ट यहीँबाट आउँछ। आफ्नो देशको स्वतन्त्रताका लागि खमेरानका सरदार शमशेराले आफ्नो ज्यान गुमाउनु परे पनि उनीहरूसँग लडाइँ गर्छन्। त्यसको परिणाम अर्को युगमा आउँछ।

यसको २५ वर्षपछि फेरि कथा सुरु हुन्छ, जहाँ नयाँ शमशेराले चलचित्रमा अनेकन कार्य गरेर दर्शकको मन जित्छन्। शमशेराका छोरा बल्ली (रणवीर कपुर) आफ्नो बुवाको अधुरो सपना पूरा गर्न निस्किन्छन्। बल्लीले धेरै डकैती गर्छन् र हरेक पटक सबैमा आतङ्क फैलाउँछन्, अब उनको भिडन्त शुद्ध सिंहसँग हुन्छ। के बल्ली ब्रिटिस र प्रहरीको जत्थालाई जित्न सक्षम हुन्छन् या भनौँ के उनले आफ्नो बुवा खमेरानको स्वतन्त्रताको सपना पूरा गर्न सक्छन्। यी सबै कुरा नै चलचित्रको निचोड हो। निर्देशक करण मल्होत्राले भव्य सेट, उत्कृष्ट छायाङ्कन, सङ्गीत र सञ्जय दत्त र रणवीर कपुर जस्ता अनुभवी कलाकारको सहयोगमा चलचित्रलाई भव्य बनाउन कुनै कसर बाँकी राखेका छैनन् तर चलचित्रको कमजोर पक्ष भनेको यसको पटकथा र संवाद नै हो। चलचित्रले अन्तरालदेखि क्लाइमेक्ससम्म यस्ता धेरै दृश्य छन् जहाँ दर्शकको मनमा कुतूहलता कायम गराइरहन्छ तर कथाको लम्बाइका कारण दर्शकलाई चलचित्रमा धेरै रुचि नलाग्न पनि सक्छ। 

कलाकारहरूको अभिनयमा भने रणवीरले उत्कृष्ट काम गरेका छन्, त्यसैले सञ्जय दत्त पनि रणवीरको अगाडि फिक्का देखिन्छन्। यद्यपि उनी दर्शकहरूलाई हँसाउने बहानामा कहिलेकाहीँ बाल्यावस्थामा पनि पुग्छन्। चलचित्रकी नायिका वाणी कपुरको अभिनयमा खासै दम देखिँदैन। उनको काम भनेकै नायकसँगको मायाप्रेम र गीतहरूमा नृत्य गर्नु मात्र हो। अन्य कलाकार सौरभ शुक्ला र रोनित रोय आ–आफ्नो भूमिकामा अब्बल देखिन्छन्। चलचित्र मनोरञ्जनका लागि मात्र हेर्ने हो भने रमाइलो नै लाग्छ तर कथा र यसको संवाद पनि केही हदसम्म मिलेको भए चलचित्र अवश्य नै बेजोड हुन्थ्यो।