• १८ चैत २०८२, बुधबार

नेपालगन्जमा पहिलो स्ट्रीट फुड फेस्टिभल आयोजना

blog

फुड फेस्टिभलबारे जानकारी दिँदै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेल। तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, चैत १८ गते।
बाँके जिल्लाको नेपालगन्जमा आगामी वैशाखमा पहिलो पटक “नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल” आयोजना हुने भएको छ।

होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल (हान) बाँकेले मङ्गलबार यहाँ संयुक्त पत्रकार सम्मेलन गरेर सो जानकारी गराएका हुन्।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलका अनुसार, फेस्टिभलको उद्देश्य नेपालगन्ज क्षेत्रको पर्यटन प्रवर्धन, स्थानीय परिकारको पहिचान र होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रोत्साहन गर्नु हो।

नेपालगन्ज उपमहानगरपालिकाभित्रका होटल तथा पर्यटन व्यवसायीहरूको हक–अधिकार संरक्षण, स्थानीय संस्कृति र खानाको प्रवर्धन, साथै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ फेस्टिभल आयोजना गरिने अध्यक्ष कँडेलले बताउनुभयो।

आयोजकका अनुसार, फेस्टिभल २०८३ साल वैशाख ११ देखि १३ गतेसम्म तीन दिन सञ्चालन हुनेछ। सुर्खेत रोडको सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्कसम्मको क्षेत्रमा कार्यक्रम सञ्चालन हुनेछ।

फेस्टिभलमा स्थानीय स्ट्रीट फुड, परम्परागत तथा आधुनिक खानाका परिकार, पेय पदार्थका स्टलहरू, साथै स्थानीय कला, संस्कृति र मनोरञ्जनात्मक कार्यक्रमहरू राखिने आयोजकले जानकारी दिएका छन्।

होटल संघ नेपाल (हान) बाँकेका अध्यक्ष दिवाकर खनालले भन्नुभयो, “यो फेस्टिभलले स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन, आन्तरिक पर्यटनलाई टेवा र नेपालगन्जलाई फुड डेस्टिनेशनको रूपमा चिनाउन सहयोग पुर्‍याउनेछ।”

फेस्टिभलमा सहभागी आगन्तुकहरूले खाना, लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति र अन्य आकर्षक गतिविधिहरूको अनुभव लिन सक्नेछन्।

कार्यक्रमलाई सभ्य र भव्य बनाउन २५१ सदस्यीय मूल आयोजक समिति र १७ उपसमिति गठन गरिएको छ।

पत्रकार सम्मेलनमा होटल व्यवसाय संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवि ओली लगायतको उपस्थिति रहेको थियो। नेपाल र भारतका पत्रकारहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।