• २ असार २०८१, आइतबार

भुइँमा फालिएका सालिक

blog

रामेछाप समाचारदाता

रामेछाप, साउन ८ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछाप नगरपालिका–८ भङ्गेरीमा भएको हो। वि.सं. १९८१ असार १५ गते भक्तलाल र तुलसीकुमारीको माहिला छोराका रूपमा पुष्पलालको भङ्गेरीमा जन्म भएको थियो। 

कम्युनिस्ट आन्दोलनको धरोहर पुष्पलालको स्मृति दिवसमा वर्षमा एक पटक केही घण्टा भङ्गेरीमा विशेष गरी नेकपा (एमाले)का केन्द्रदेखि जिल्लासम्मका नेता, कार्यकर्ताले भरिभराउ हुन्छन्। भाषण, प्रतिबद्धता, तालीसँगै फोटो खिच्ने अनि खिचाउने भीड लाग्छ। पुष्पलालको ४४औँ स्मृति दिवसमा यस पटक पनि यस्तै क्रियाकलाप र दृश्य देखियो। तर पुष्पलालको फुटेको सालिकतिर कसैको ध्यान जान सकेन। पुष्पलाल श्रेष्ठ र शहीद गङ्गालाल श्रेष्ठको सालिकले नेपालको कम्युनिस्ट पार्टीहरूलाई मात्रै हैन सिङ्गो देशलाई नै गिज्याइरहेको छ। 

पुष्पलाल र गङ्गलालको सालिक भुइँमा त्यतिकै राखिएको छ। त्यही सालिकमा नेकपा (एमाले)का केन्द्रीय सदस्यदेखि, प्रदेश तथा जिल्ला नेतृत्वले माल्यार्पण गर्नुभयो तर सालिकको संरक्षणबारेमा कसैले केही बोलेको पाइएन।

पुष्पलालको जन्मथलो भङ्गेरीमा अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय बनाउने योजनाअनुरूप केही काम सुरु भए पनि काम छिटो सम्पन्न गर्नेबारे राज्य, राजनीतिक दल र दलका नेताले कुनै चासो नदिएको स्थानीय कुवेरकुमार श्रेष्ठले बताउनुभयो। लामो विवादपछि सङ्ग्रहालय बनाउन राज्यले स्थानीयको ५२ रोपनी अधिग्रहण गरेपछि स्थानीय अन्यत्रै खुसी छन् तर राज्यले सङ्ग्रहालय बनाउने कुरामा खासै चासो नदिएको स्थानीयको गुनासो छ।

पुष्पलाल पार्कका लागि २०७६ सालदेखि नै जग्गा अधिग्रहणको काम अघि बढाइएको थियो। शहीद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थलमा सङ्ग्रहालय बनाउन बागमती प्रदेश सरकारले समेत बजेट विनियोजन गरेको छ।

स्थानीयका अनुसार अन्तर्राष्ट्रिय स्तरको सङ्ग्रहालयमा गङ्गालाल, पुष्पलाल र साहित्यकार कृष्णलाल अधिकारीको समेत सालिक राख्ने योजना छ। नेकपा (एमाले) बागमती प्रदेश सदस्य शान्तिप्रसाद पौडेलले पुष्पलालको जन्मथलो भङ्गेरीलाई राजनीतिक पर्यटनका रूपमा विकास गर्ने योजना अनुरूप काम भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “भङ्गेरीलाई राजनीतिक पर्यटनका रूपमा विकास गर्ने गरी आवश्यक निर्माणको काम भइरहेका छन्, भङ्गेरी अब नेपालका सबै कम्युनिस्ट पार्टी आउने र पुष्पलाल अध्ययनको थलो बन्ने छ।”

पुष्पलालको जन्मथलो भङ्गेरीमा निर्माण सुरु भएको अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय छिटोभन्दा छिटो निर्माण सम्पन्न गरी राजनीतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने नेकपा (एमाले)का केन्द्रीय सदस्य माधव ढुङ्गेलले बताउनुभयो।