• १३ साउन २०८१, आइतबार

‘भूमिगत विद्युत् तारको समस्या समाधान गर्छु’

blog

चितवन समाचारदाता

चितवन, साउन ८ गते ।  वन तथा वातावरणमन्त्री प्रदीप यादवले भरतपुरबाट माडी लैजाने विद्युत्को दोस्रो सर्किट तार बिछ्याउन आवश्यक पहल गर्ने बताउनुभएको छ। चितवन राष्ट्रिय निकुञ्जका कारण पारि माडी नगरपालिकामा परेको समस्याका विषयमा निरीक्षण गर्न चितवन आउनुभएका मन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। 

भरतपुरबाट निकुञ्जको बाटो हुँदै भूमिगत विद्यु्त् प्रसारण गरिएको छ। सिङ्गल तार मात्र लैजाँदा समस्या आएपछि माडीमा हप्तौँ विद्युत् आपूर्ति बन्द हुँदै आएको छ। दोस्रो सर्किट नहुँदा समस्या आएको भन्दै अर्को तार बिछ्याउन पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का लागि प्राधिकरणले माग गरेको छ। विश्व सम्पदाको सूचीमा रहेको निकुञ्ज र त्यसको बाटो हुँदै अर्को भूमिगत तार ओछ्याउन पूरक ईआईए आवश्यक भएको भन्दै विद्युत् प्राधिकरण चनौली शाखा र माडीवासीले माग गर्दै आएका छन् तर निकुञ्ज विभाग र वन मन्त्रालयले पूरक ईआईएका लागि अनुमति नदिँदा काम हुन सकेको छैन। निरीक्षणका क्रममा मन्त्री यादवले विद्युत्को अर्को तार बिछ्याउनका लागि देखिएका जटिलता आफूले फुकाइदिने बताउनुभयो। 

‘डबल सर्किट नहुँदा भूमिगत तारमा समस्या आउँदा माडीमा सधैँ समस्या’ भन्ने समाचार गोरखापत्र दैनिकमा प्रकाशित भएको थियो। माडीवासीको मागअनुसार वनमन्त्री आएर निरीक्षण गर्नुभएको माडी नगरपालिकाका पूर्वप्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो। “विद्युत्को समस्या माडीमा सधैँ रहेको छ,” उहाँले भन्नुभयो, “विद्युत् सुविधा जान नसक्दा धेरै पहल गरेका थियौँ, अहिले भूमिगत गएको छ तर पनि समस्या आइरहन्छ। समस्या समाधानका लागि अर्को भूमिगत तार बिछ्याउनुपर्ने हुन्छ।”

निरीक्षणका क्रममा वनमन्त्री यादवले निकुञ्ज हुँदै गएको हुलाकी सडकको पछिल्लो निर्माणको विषयमा जानकारी लिनुभएको थियो। सडक निर्माण र पुल निर्माणका लागि ईआईए आवश्यक पर्ने भएकाले त्यसलाई सहजीकरण गर्न आफ्नो भूमिका रहने मन्त्री यादवले बताउनुभयो। 

निरीक्षणको टोलीमा रहनुभएका भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ। निरीक्षणमा वन मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेललगायत सहभागी हुनुभएको थियो। माडी चितवनको निर्वाचन क्षेत्र नं. ३ मा पर्दछ। जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी त्यहाँको समस्याबारे अवगत गराएको थियो। सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिनुभएको थियो। 

भरतपुर महानगरप्रमुख रेनु दाहालले भन्नुभयो, “मन्त्री निकै सकारात्मक हुनुहुन्छ। हामीलाई विश्वास छ, निकुञ्जका कारण माडीमा भएको समस्या अब समाधान हुन्छ।” माडी हुँदै जाने हुलाकी सडक स्तरोन्नति, पुल निर्माण, खरकट्टा बगई सडक निर्माण र भूमिगत विद्युतीकरणको काम निकुञ्जकै कारण समस्यामा परेका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा भरतपुरमा केही दिनअघि भरतपुर विमानस्थल विस्तारका विषयमा छलफल गरिएको थियो।