• २० वैशाख २०८१, बिहिबार

दाेहाेरो जीवन बाँच्नुपर्ने नग्मा खानको बाध्यता

blog

तस्बिर : मनाेजरत्न शाही ।

काठमाडौं, असार २२ गते । महोत्तरीको मुस्लिम समुदायको एक सामान्य परिवारमा अबदुल शाहमदको जन्म भयो । छोराको रुपमा जन्मेपनि अबदुल फरक थिए । उहाँको इच्छा चाहना पनि फरक थियो । बाहिरी रुप पुरुषको भएतापनि उहाँलाई भित्रदेखि महिला बन्न मन पर्थ्याे । छोराको रुपमा जन्मिनुभएका शाहमदमा हुर्किने बढ्ने क्रममा आफू जे हो त्यो भन्दा फरक व्यवहार र परिवर्तन देखिन थाल्यो । 

“दिदीको लुगा, दाजुभाइसँगभन्दा बढी दिदीबहिनीसँग बस्ने, लिपिस्टिक र चुरा लगाउने रहर लाग्थ्यो र त्यस्तै गर्थे,” उहाँ भन्नुहुन्छ, “तराईमा समाचकेवालाई ठूलो पर्वको रुपमा लिने गरिन्छ, त्यो बेला दिदीको लुगा, लिपिस्टिक लगाएर म नाच्ने गर्थें ।” 

घरमा ‘अहिले सानै छ, ठूलो भएपछि बुझ्छ आफैं’ भन्थे । उमेर बढ्दै जाँदा उहाँको व्यवहार पुरुषकोजस्तो होस् भन्ने परिवारको चाहना थियो ।  तर, उहाँको व्यवहारमा परिवर्तन आएन । बरु, होस सम्हाल्न सुरु गरेदेखि उहाँमा केटीको हाउभाउ बढी झल्किन थाल्यो । उहाँ भन्नुहुन्छ, “हुर्कंदै जाँदा मेरो व्यवहार, अनुभूति र आनिबानीमा फरकपन देखिन थाल्यो । ममा छोरी मान्छेको स्वभाव देखिन थाल्यो ।” मेरो व्यवहार देखेर समुदायमा सबैले अनेकौं कुरा काट्ने गर्थे उहाँले थप्नुभयो, “मलाई पुरुष भएर पनि पुरुषहरुसँग डर लाग्ने, लाज लाग्न थाल्यो ।”  

मुस्लिम समुदायमा रहेर उहाँलाई अबदुल शाहमदबाट नग्मा खान बन्न सजिलो थिएन । उहाँले नग्मा बन्न ठूलो संघर्ष गर्नुपरेको थियो । अहिले उहाँ नग्मा खानको नामले चिनिनुहुन्छ । मुस्लिम परिवारका बालकाबालिकालाई 'मदरसा' शिक्षा दिने चलन छ । तर अबदुललाई 'मदरसा' शिक्षाभन्दा पनि विद्यालयमा पढ्ने रहर थियो, उहाँ विद्यालय गएपनि मुस्लिम समाजमा स्विकार्य थिएन । “त्यो समयमा ५ रुपिँयामा विद्यालयमा नाम दर्ता गर्ने चलन थियो । ममीबाट लुकाएको पैसाले आफैं गएर एक कक्षामा नाम दर्ता गराएँ”, उहाँ सम्झिनुहुन्छ । 

मध्यम वर्गीय परिवारमा हुर्किएको कारण घरको कामसँगै पढाईलाई निरन्तरता दिनुपर्ने थियो । तर परिवारको पढाईभन्दा बढी पैसामा चासो थियो । भारत गएर पैसा कमाउने चलनलाई निरन्तरता दिन दवाव आउन थाल्यो। परिवार र समुदायबाट टाढा गएपछि व्यवहारमा केही परिवर्तन आउला कि भन्ने परिवारको आशा थियो । आफूमा देखिएको फरक परिवर्तनकै कारण ‘भाग्ने कि मर्ने’ बाटो रोज्नुपर्ने अवस्थाको सिर्जना भयो । तर उहाँले भाग्ने बाटो रोजेको बताउनुभयो । २०५७ सालमा नग्मा भागेर काठमाडौं आएको सुनाउनुभयो । काठमाडौंमा गार्मेन्टमा हेल्परको रुपमा काम सुरु गरे पनि उहाँको पढाई रोकियो । 

गार्मेन्ट नजिकैको विद्यालयमा चिहाउँदै थिए र त्यहाँका दाईले आफ्नो घर गएर पढाईलाई निरन्तरता दिन भनेपछि फेरि आफ्नै गाउँ फर्किएको उहाँले स्मरण गर्नुभयो । काठमाडौंमा कमाएको १५ हजार बोकेर उहाँ गाउँ फर्केको बताउनुभयो । कामसँगै पढाईलाई निरन्तरता दिएर घरको कामसँगै पढेर एसएलसी सम्पन्न गरेको उहाँले सम्झनुभयो । 

चुनौती र समस्याबीच उहाँले २००७ सालदेखि आफ्नो पहिचान खुलाउनुभयो । अहिले पनि घर जाँदा केटाकै पहिरनमा बस्ने गरेको उहाँको भनाइ छ ।  काठमाडौंमा सुनिलबाबुको तयारीमा भएको कार्यक्रममा आफ्नो पहिचानबारेमा अबदुलबाट नग्मा बनेर उहाँले आफ्नो कथा सुनाउनुभयो । घरपरिवारभन्दा बढी समाजलाई समस्या हुने नग्माको भोगाइ छ ।  

समुदायलाई गरिने दुव्र्यवहार

यो समुदायका व्यतिmहरु आफ्नो पहिचानअनुसार सबै ठाउँमा अझै पनि खुल्न सकेका छैनन् । अरु प्रदेशको तुलनामा मधेश प्रदेशमा स्विकार्यताको माहोल नै छैन । विभिन्न प्रकारको दुव्र्यवहार, पहिचान थाहा पाएपछि साथीहरु टाढा हुने कारण आफ्नो पहिचान लुकाउन बाध्य हुन्छन् । 

नग्माका अनुसार अझै समाज जिम्मेवार भएको छैन । यसका लागि जबसम्म स्थानीय तहले पहल गर्दैन यो समुदायलाई स्विकार्न सक्दैन । काठमाडौंमा जसले जस्तो लगाए पनि कसैलै वास्ता गर्दैन । तर तराई मधेशमा यो समुदायका व्यतिmले आफ्नो पहिचान खुलाउन चाहेमा मान्छे नै हैनजस्तो व्यवहार देखाउने गरेको उहाँको अनुभव छ । 

यौनकर्मीको नजरले हेर्छन्

“हाम्रो समुदायकालाई यौनकर्मी सोच्ने र यसैका लागि बनेको व्यवहार देखाउने नग्माको अनुभव छ,” उहाँ भन्नुुहुन्छ, “तराई मधेशमा मात्र हैन काठमाडौंको गल्लीमा हिँड्यो भने मलाई देखेर प्रहरीले प्रश्न गर्नसक्छ ।” 

राज्यले विभिन्न व्यवस्था गरेपनि त्यो कार्यन्वयन हुन सकेको छैन । यस विषयमा मधेश प्रदेश निकै पछाडि रहेको नग्माको बुझाइ छ । 

नागरिकता संशोधन गर्ने चाहना

अबदुल शाहमदको नागरिकता त्यही नामबाट छ । तर नग्मा खानको परिचय बोकेर बाँचिरहनुभएका उहाँलाई नागरिकता संशोधन गराउने रहर छ । “सानोमै नागरिकता बनाइयो तर बिस्तारै आफू महिला बन्न मन लाग्यो, अहिले सार्वजनिक स्थलमा आफ्नो पहिचान अनुसार पहिरनमा देखिन सकेको छैन”, उहाँले थप्नुभयो, “यो दोहोरो जीवन बाँच्नु मेरो बाध्यता हो ।”  

मनोरञ्जनका लागि प्रयोग  

मधेशमा यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई गाउँमा शुभकार्य हुँदा नाच्नको लागि बोलाउने गर्छन् । यस बाहेक यो समुदायको व्यक्तिले दिएको आशिष राम्रो हुन्छ भन्ने मान्यता छ । तर यो समुदायलाई अधिकार बनाउन जरुरी छैन भन्ने ठान्छन् । 

“दिन धल्किँदै गएपछि मनोरञ्जनका लागि हामी चाहिन्छ । तर सूर्य उदयसँगै बिर्सने गर्छन् । यसरी अरु प्रदेशमाभन्दा मधेश प्रदेशमा यो समुदाय अझै खुल्न नसकेका छैनन् । खुल्नेलाई समस्याको थुप्रो छ”, उहाँले भन्नुभयो । 

नेपालको कुल जनसंख्याको १० प्रतिशतको हाराहारीमा 'एलजीबीटीआईक्यूएप्लस' छन् । सबै समाजमा खुल्न सक्ने माहोल छैन । त्यो माहोल बनाउन सरकारले यो समुदायका लागि रोजगारको अवसर, समावेशीताका कुरा, राजनीतिमा प्रवेश गर्नेजस्ता पक्षमा जोड दिनुपर्ने हुन्छ । 

महिला पुरुषलाईजस्तै हाम्रो समुदायलाई पनि सबै ठाउँमा सहभागिता नभएसम्म कानुन बनेपनि कार्यन्वयन नहुने उहाँको बुझाइ छ । 

२००७ सालदेखि यौनिक तथा अल्पसंख्यक समुदायको पहिचान र अधिकारका लागि आवाज उठाउँदै आउनुभएका नग्माले कानुन विषय रोजेर आफ्नो समुदायको हक र अधिकारका लागि लड्ने बताउनुभयो । “हाम्रो समुदायलाई पीडा दिनेहरु धेरै छन्, उनीहरु बलियो भएको कारण हाम्रो समुदायको साथीहरु पीडा सहन बाध्य छन्,” उहाँले थप्नभयो, “जसकारण हाम्रो समुदायले उचित न्याय दिन मेलै कानुन विषय रोजेको छुँ ।”

आफ्नो पहिचान खुलाएकै कारण नग्मालाई आफ्ना साथीहरुले सामाजिक सञ्जालमा दुव्र्यवहार गर्ने गर्छन् । आफूले पाएको दुख अब आउने समुदायले नपाउन् भन्दै उहाँले संघर्ष गर्नुभएको बताउनुभयो ।



नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूको मानव अधिकारको संरक्षण तथा सम्वद्र्धनमा विभिन्न संस्था लागि परेको छ । उहाँहरूको मर्यादित जीवनयापनका लागि सामाजिक, सांस्कृतिक, आर्थिक, कानुनी तथा राजनीतिक अधिकारसहितको समतामूलक समाज निर्माण गर्ने उद्देश्य संस्थाको छ । 

पहिचान खुलाउन नसकेका कयौं व्यक्ति रहेको निलहिरा समाजको तथ्याङ्कले देखाएको छ । निलहिरा समाजका अनुसार नेपालमा हाल करिब ९ लाख यौनिक तथा लैङ्गिक अल्पसङ्ख्क रहेको अनुमान छ। तर, अझै पनि पहिचानको कानुन नबन्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले कैयौँ अधिकार प्राप्त गर्न नसकेको यो समुदायको गुनासो छ।