• १ भदौ २०८२, आइतबार

प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौँ, भदौ १ गते। मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा सोरु गाउँपालिका वडा नम्बर १ स्थित जवलधारा पीसीसी सडक निर्माण योजनामा वास्तविकभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना भएको भन्ने उजुरीमा अनुसन्धान हुँदा भ्रष्टाचार भएको पुष्टि भएको छ।

सो गाउँपालिकाका इन्जिनियर प्रकाश आचार्य, सवइन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति) का अध्यक्ष चक्रबहादुर छत्याल, सहसंयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही र सचिव मुकुन्दे दमाईविरुद्ध बिगो रकम सात लाख छ हजार ७९९ रुपियाँ कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।

आयोगका अनुसार सो गाउँपालिका कार्यपालिका सदस्य एवम् जवलधारा पीसीसी सडक निर्माण अनुगमन समिति संयोजक दलवीर सार्की, समिति सदस्य पुने शाही र सोरु गाउँपालिका वडा १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार र योजना सम्झौता बमोजिम जनश्रमदान तीन लाख ७३ हजार ४३९ गरी उपभोक्ता समिति र गाउँपालिकाबिच गत २०७८ जेठ १० मा सम्झौता भइ कार्यदेश दिएकोमा उक्त सडक निर्माण गर्दा लागत अनुमान अनुसार कार्य नगरी वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य भएको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार गरे, गराएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको हो।