• १ भदौ २०८२, आइतबार

फर्पिङ जलविद्युत् केन्द्र: बन्न सक्छ विश्वकै अध्ययन स्थल

blog

तस्बिर : कविन अधिकारी

फर्पिङ (काठमाडौँ), भदौ १ गते । नेपालको पहिलो र दक्षिण एसियाकै दोस्रो जलविद्युत् परियोजना फर्पिङ जलविद्युत् केन्द्र २०७२ सालको महाभूकम्पपछि सञ्चालन भएको छैन । नेपालको जलविद्युत् परियोजना विकासको प्रस्थानविन्दु फर्पिङ जलविद्युत् केन्द्रमा रहेका विद्युत् उत्पादन उपकरणमा पनि खिया लाग्न थालेको छ । 

ऐतिहासिक महत्वको फर्पिङ जलविद्युत् केन्द्रलाई विश्वकै उत्कृष्ट र नवीनतम विद्युत् अध्ययन केन्द्र स्थापना गर्ने सम्भावना भए पनि त्यस कार्यमा सरोकारवालाकै ध्यान नपुग्दा उपकरण जीर्ण हुने परिस्थिति बनेको हो ।  नेपाल विद्युत् प्राधिकरण उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार फर्पिङ जलविद्युत् केन्द्रलाई अध्ययन अनुसन्धानका केन्द्र बनाउनका लागि काम सुरु भएको छ । उहाँले इन्जिनियरिङ डिजाइन सम्पन्न भएको र प्रारम्भिक चरणमा एक अर्ब ५० करोड रुपियाँ खर्च गरेर मर्मत तथा अध्ययन केन्द्रका रूपमा अघि बढाउने योजनाका साथ अध्ययन गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “भूकम्पपछि मेसिन चलाउन बन्द गरिएको फर्पिङ जलविद्युत् केन्द्रलाई पुनर्जीवन दिँदै रचनात्मक अध्ययन अनुशासन केन्द्रका रूपमा विकास गर्नै पर्छ । नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि काम गरिरहेको छ । फर्पिङ जलविद्युत् केन्द्रलाई संरक्षण गरिन्छ ।” ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले फर्पिङ जलविद्युत् केन्द्रलाई सङ्ग्रहालयका रूपमा अघि बढाउन सकिने बताउनुभयो । साथै उहाँले दक्षिण एसियाकै जलविद्युत् अध्ययन केन्द्रकै रूपमा अघि बढाउने सन्दर्भमा अध्ययन र छलफल भइरहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जलवायुको मुद्दा उठिरहेको छ । त्यसैले स्वच्छ ऊर्जाको विकास गर्ने हो । अध्ययन केन्द्र सम्पर्कविन्दु बनाउन सकिएमा अन्तर्राष्ट्रिय क्षेत्रलाई पनि मार्गनिर्देश गर्न सक्छ । अध्ययन केन्द्रको अवधारणाकै रूपमा अघि बढाउन सकिन्छ । जीर्णोद्धार गरेर जोगाउनु पर्छ ।”

जलमग्न हुने जोखिम 

२०८१ असोज १० देखि १२ गतेसम्मको भीषण वर्षा र बाढीले फर्पिङ जलविद्युत् केन्द्र जलमग्न भएको थियो । फर्पिङ जलविद्युत् केन्द्रका तत्कालीन इन्चार्ज भीमसेन लामाका अनुसार भारी वर्षा हुँदा केन्द्रको भित्री भागमा पनि पानी पसेको थियो । जलमग्न भएको केन्द्र परिसर वर्षा रोकिएपछि सफाइ गरिएको थियो । 

उहाँले भन्नुभयो, “मैले इन्चार्जको जिम्मेवारीमा लामो समय काम गरेँ । फर्पिङ जलविद्युत् केन्द्रलाई जीर्णोद्धारको खाँचो छ । २०७२ को महाभूकम्पले भवनका भित्ता चर्किएका छन् । चाँडै मर्मतको काम होस् भन्ने अपेक्षा राखेको छु ।”नेपालमा अहिले करिब तीन हजार पाँच सय मेगावाट विद्युत् उत्पादन क्षमता विकास भएको छ । सरकारले दस वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको छ । विसं १९६८ जेठ ९ गते सुरु भएको फर्पिङ जलविद्युत् केन्द्र चाहिँ संरक्षणको पर्खाइमा छ । 

फर्पिङ जलविद्युत् केन्द्रलाई २०६२/६३ मा ओभर हलिङ अर्थात् बृहत् मर्मतसम्भार गरेर २०६७ सम्म ३० देखि ५० किलोवाटसम्म बिजुली उत्पादन गरिएको थियो तर त्यसपछि २०७२ को भूकम्पअघिसम्म पनि मेसिन चलाउने गरिएको थियो ।  तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर १९६४ ताका बेलायतबाट फर्किएपछि फर्पिङ जलविद्युत् केन्द्रको निर्माणको खाका बनेको हो । चीनको कुन्मिङमा सन् १९११ मा २४० किलोवाटको र सन् १८९७ भारतको दार्जिलिङनजिकै १३० किलोवाटका जलविद्युत् केन्द्र निर्माण भएको थियो ।