• १ भदौ २०८२, आइतबार

नेपालगञ्जबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

blog

बसपार्क क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको कटुवा पेस्तोल। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ १ गते। बाँकेको नेपालगन्ज ४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कटुवा पेस्तोलसहित १७ वर्षीय एक किशोरसहित दुई जनालाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मातहत रहेको अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले नेपालगन्ज उपमहानगरपालिका४ बसपार्क क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित नेपालगञ्ज९ बस्ने १७ वर्षीय समिर ढपाली र वडा नम्बर १३ बस्ने राजन सोनकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताउनुभयो।

उहाँका अनुसार ने १ ह ४५०२ नम्बरको इरिक्सामा पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेले हतियारसहित पक्राउ परेका ती दुई जनासँग थप अनुसन्धान सुरु गरेको जनाएको छ। दुई दिन अघि मात्र प्रहरीले गोली चलाएर ठुलो परिमाणको लागु औषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये दुई जना भारत रुपैडिहाका बासिन्दा रहेको प्रहरीले जनाएको छ।