• १ भदौ २०८२, आइतबार

प्रिसियस ‘हिमालयन क्वीन्स ग्याम्बिट’ बुद्धिचाल च्याम्पियन

blog

बुद्धिचाल उपाधि विजेता खेलाडी ।

काठमाडोँ, भदौ १ गते । ‘हिमालयन क्वीन्स ग्याम्बिट’ बुद्धिचालमा एक सय ४१ खेलाडीको चुनौती पन्छाउँदै आइतबार प्रिसियस अधिकारी च्याम्पियन बन्नुभएको छ । उहाँले शतप्रतिशत जितसहित सात अङ्क जोड्दै उपाधि जित्नुभएको हो । 

सेन्ट जेभियर्स कलेज, माइतीघरमा सञ्चालित एकदिने प्रतियोगितामा खुलातर्फ निहाना श्रेष्ठ पनि अपराजित रहनुभयो । दोस्रो चरणमा बराबरी नतिजाले उहाँलाई उपाधि होडबाट टाढा बनायो । ६.५ अङ्क बनाउनुभएकी उहाँ दोस्रो हुनुभयो ।

हिमालयन चेस एकेडेमीद्वारा आयोजित सात वर्षदेखि ६७ वर्षसम्मका महिला खेलाडी सहभागी प्रतियोगितामा महेन्द्र माविकी रेशिका श्रेष्ठ ६ अङ्कसहित तेस्रो हुनुभयो । स्वस्तिका चौधरी, धनमन्तरी थापा, मेघना अधिकारी, संस्कृति गजुरेल र सुहानी सिंह शीर्ष आठमा रहनुभयो । 

अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को सामाजिक वर्ष–२०२५ को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ । जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आयोजना गरिएको हो ।

स्वीस प्रणालीको आधारमा चार राउन्ड र्यापिड र तीन राउन्ड ब्लिट्ज खेलाइएको प्रतियोगितामा एक सय ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थियो । जुन नेपाली बुद्धिचालमा महिला खेलाडीको कीर्तिमान सहभागिता हो । गतवर्ष आयोजित हिमालयन तीज टोर्नीमा ३७ खेलाडी सहभागि थिए, जसलाई हिमलायन क्वीन्स ग्याम्बिटले उछिनेको हो ।

विद्यालयतर्फ मनकामना सेकेन्डरी पहिलो, मार्भलस बोर्डिङ दोस्रो र महेन्द्र मावि तेस्रो भयो । यु–१० तर्फ अनिशा तामाङ पहिलो, अनन्य रौनियार दोस्रो र ऋतिका सेढाईं तेस्रो हुनुभयो । यु–१३ तर्फ विपासना शाक्य पहिलो, नायुमा मगर दोस्रो र रिजला राजभण्डारी तेस्रो हुनुभयो । 

यस्तै यु–१६ तर्फ सोनालिका शाह पहिलो, याशवी महर्जन दोस्रो र आरोही श्रेष्ठ तेस्रो स्थानमा रहनुभयो । भेट्रान ५० वर्षमाथि रुक्मणि जिमीले बाजी मार्नुभयो ।

प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनलगायतले पुरस्कार प्रदान गर्नुभयो ।