• २ भदौ २०८२, सोमबार

आलोकमय सूर्यको भयो लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २ गते । साहित्यकार, साहित्यिक पत्रकार, संस्कृतिविद्, शिक्षासेवी सूर्यप्रसाद लाकोजूको व्यक्तित्व र कृतित्व झल्कने आलोकमय सूर्य नामक बृहत् ग्रन्थको लोकार्पण भएको छ । सो बृहत् ग्रन्थको विमोचन वरिष्ठ साहित्यकार तथा संस्कृति शिरोमणि हरिराम जोशीले गर्नुभयो । उहाँले ग्रन्थनायक लाकोजू साहित्य, साहित्यिक पत्रकारिता, संस्कृति, शिक्षा क्षेत्रका उदाहरणीय व्यक्तित्व भएको बताउनुभयो । लोकोजूको अक्षरकर्म लोभलाग्दो छ, फुर्सद छैन भन्नेका लागि उहाँको काम झापड हो, जोशीले भन्नुभयो ।

कार्यक्रममा वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईले सूर्यको काम सूर्य जस्तै उज्यालो रहेको विचार व्यक्त गर्नुभयो । प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले पनि साहित्यिक एवं सांस्कृतिक कृतिले विशिष्ट पहिचान बनाउँदै आएका प्रतिभाशाली लाकोजू ज्ञानरश्मि छर्दै आएका आलोकमय सूर्यप्रसाद हुन् । सूर्यलाई सबैले नमस्कार गर्छन् भन्दै ग्रन्थ उपयोगी रहने विचार पोख्नुभयो । अर्का प्रमुख वक्ता डा. ज्ञानु अधिकारीले पुस्तकमा सूर्य लाकोजूको प्रतिविम्ब रहेको र लाकोजूको साहित्यिक सांस्कृतिक योगदान प्रस्ट रहेको भनाइ राख्नुभयो ।

ग्रन्थनायक लाकोजूले आफूले अक्षरकर्म गर्दा कहिल्यै कुनै कुराको आशा नराखेको तर सत्कर्मको फल राम्रै हुने विश्वासले मूर्त रूप लिएको बताउनुभयो । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले कुनै पनि क्षेत्रमा वरिष्ठ उमेरले होइन कर्मले हुने भएकाले सूर्य लाकोजू पनि कर्मले वरिष्ठ भएको बताउनुभयो ।