- ‘ट्याबलोइड’ को सानो आकारबाट ‘ब्रोडसिट’ हुँदै ‘स्मार्ट गोरखापत्र’ सम्मको यात्रामा आफ्नो श्यामश्वेत स्वरूपलाई त्यागेर रङ्गीन बनाउँदै १२५ औँ वर्ष पुगेको गोरखापत्रको इतिहास साँच्चै गौरवमय छ ।
- आमसञ्चार र यससँग सम्बन्धित छापाखाना, साजसज्जा, भाषालगायत विविध पक्षको विकासमा गोरखापत्रले दिएको योगदान अतुलनीय छ ।
नेपाली भाषाको पहिलो अखबार ‘गोरखापत्र’ प्रकाशन सुरु भएको १२५ औँ वर्षमा प्रवेश गरेको छ । विसं १९५८ वैशाख २४ गते सोमबारबाट साप्ताहिक रूपमा प्रकाशन सुरु भएको गोरखापत्रले नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृतिको विकासमा अतुलनीय योगदान पुर्याएको छ । गोरखापत्र नेपालको सामाजिक, राजनीतिक, आर्थिक, प्राविधिकलगायत सम्पूर्ण क्षेत्रमा भएका विकासक्रम र परिवर्तनको साक्षी पनि हो । गोरखापत्रले नेपालमा पत्रकारिताको जग मात्र होइन; सञ्चार र समाचार प्रकाशनसँग सम्बन्धित छापाखाना, साजसज्जालगायत विविध पक्षको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
साजसज्जा अर्थात् डिजाइन पत्रकार र पाठकबिचको महत्वपूर्ण कडी हो । सूचना तथा समाचार सरल र सुन्दर तरिकाले पाठकमाझ पस्किने काम साजसज्जाले गर्छ । सही तरिका अपनाइएन भने साजसज्जाले समाचारको मर्म मात्र मार्दैन, पाठकलाई दिग्भ्रमित पनि बनाउन सक्छ । गोरखापत्रले समाचार सम्प्रेषण गर्नका लागि विभिन्न कालखण्डमा विविध साजसज्जा विधि र त्यसका लागि चाहिने प्रविधिहरू क्रमैसँग प्रयोग गर्दै आएको पाइन्छ । प्रविधिको विकाससँगै गोरखापत्रले आफ्नो साजसज्जालाई पनि परिष्कृत गर्दै ल्याएको छ । तथ्याङ्कको अभावमा ठ्याक्कै मिति पत्ता नलागे पनि विभिन्न कालखण्डलाई आधार मानेर गोरखापत्रले प्रयोगमा ल्याएको साजसज्जाबारे यहाँ चर्चा गरिन्छ ।
समाचारको साजसज्जामा मुख्य गरी चार तत्वको महत्वपूर्ण भूमिका हुन्छ । ती हुन्– शीर्षक अर्थात् हेड लाइन, समाचार, तस्बिर र क्याप्सन । यी कुरा पृष्ठमा संयोजन गर्दा प्राथमिकता अनुसार समाचारको क्रम, समाचारबिचको सन्तुलन, एकरूपता, पङ्क्तिबद्धता, खाली ठाउँ (स्पेस) को सदुपयोग, उचित रङको प्रयोग, समाचारको कोलम विभाजन र तिनको आकारप्रकारलगायत विभिन्न आधारभूत र सैद्धान्तिक पक्षमा ध्यान पुर्याउनु जरुरी हुन्छ । गोरखापत्रको साजसज्जाको इतिहासलाई सरसर्ती केलाउँदा सुरुका दशकमा यी कुरालाई खासै विचार पुर्याएको पाइँदैन तर पछिल्ला वर्षमा भने साजसज्जाका आधारभूत सिद्धान्त महत्वका साथ प्रयोग हुने गरेको देखिन्छ । साप्ताहिक रूपमा सुरु भएको गोरखापत्रको पहिलो अङ्कको आकार नौ इन्च चौडाइ र १२ इन्च उचाइ थियो; जुन ‘ट्याबलोइड’ आकारको समाचारपत्र हो । सामान्यतया समाचारपत्र छपाइको दृष्टिकोणले तीन प्रकारको आकार अभ्यासमा रहेको पाइन्छ । ‘ट्याबलोइड’, ‘बरलाइनर’ र ‘ब्रोडसिट’ । छपाइ मेसिन अनुसार आकारमा थोरै तलमाथि भए पनि ठुलो आकारलाई ‘ब्रोडसिट’, मध्यम आकारलाई ‘बरलाइनर’ र सानो आकारलाई ‘ट्याबलोइड’ भनिन्छ । गोरखापत्रले पनि विभिन्न कालखण्डमा तीन वटै आकारमा पत्रिका प्रकाशित गरेको पाइन्छ ।
‘ट्याबलोइड’ आकारमा छापिएको गोरखापत्रको पहिलो अङ्क तीन कोलम ‘फम्र्याट’ मा डिजाइन गरिएको छ । पत्रिकाको भित्री पेजहरूलाई साजसज्जाको दृष्टिले खासै मेहनत गरेको देखिँदैन तर पहिलो पृष्ठलाई भने विशेष ध्यान दिइएको छ । पहिलो पृष्ठको आधा भाग ‘मास्टहेड’ र यससँग सम्बन्धित कुरालाई सजाउन प्रयोग गरिएको छ । समाचारलाई भन्दा पनि ‘मास्टहेड’ लाई विशेष महत्वका साथ प्रस्तुत गरिएको पाइन्छ । ‘मास्टहेड’ ‘गोर्खापत्र’ बुट्टा कुँदेर मेहनतसाथ बनाइएको छ । झट्ट हेर्दा बुट्टा कुँदेको काठको कलाकृति जस्तो भान हुन्छ । ‘मास्टहेड’ वरिपरि मनग्गे खुला ठाउँ राखिएको छ; जसले ‘मास्टहेड’ लाई स्पष्ट रूपमा देखाएको छ । पृष्ठको सिरानमा अवस्थित गणेशको तस्बिरले धार्मिक महत्व दर्साउनुका साथै पाठकको आँखालाई डोर्याउन मद्दत गरेको छ । ‘मास्टहेड’ भन्दा माथि प्रमुखताका साथ राखिएको ‘सर्वे भवन्तु सुखिन...’ भन्ने मन्त्रले ‘मास्टहेड’ लाई केही छायामा पारेको देखिन्छ तर बुद्धिमत्तापूर्ण रूपमा छाडिएको खुला ठाउँले गर्दा ‘मास्टहेड’ प्रस्ट नै देखिन्छ । पाठकको पहिलो दृष्टि ‘मास्टहेड’ मा पार्न गोरखापत्रको पहिलो अङ्क सफल भएको देखिन्छ ।
पत्रिकाको तिथिमिति र अङ्कहरूलाई दुई वटा लाइनले छुट्याइएको छ; जसले ‘मास्टहेड’ र समाचारलाई छुट्याउन मद्दत गरेको छ । तीन कोलमको समाचारको बिचमा पनि रेखा तानिएको छ; जसले समाचारहरूलाई स्पष्ट र पढ्न सजिलो बनाएको छ । समाचारमा प्रयोग भएका अक्षरहरूको आकारको एकरूपतामा भने ध्यान दिइएको पाइँदैन तर समाचारहरूको लाइन र अनुच्छेदबिच छाडिएको खाली ठाउँले गर्दा समाचार पढ्न सजिलो बनाएको छ । समाचार संयोजन र प्रस्तुतिका हिसाबले गोरखापत्रको पहिलो अङ्कको पहिलो पृष्ठ सन्तुलित नै देखिन्छ । समाचारलाई पङ्क्तिबद्ध (Alignment) गर्न भने चुकेको छ । त्यतिबेलाको ‘म्यानुअल टाइपसेटिङ’ (छुट्टाछुट्टै अक्षरको टुक्रालाई मिलाएर कम्पोजिसन बनाउने) प्रविधिमा समाचारलाई पङ्क्तिबद्ध गर्न सजिलो हुँदैनथ्यो । त्यसैले त्यसबेलाका पत्रिकामा ठाडो पङ्क्तिबद्ध (Verticle Alignment) ठिकै भए पनि तेर्सो पङ्क्तिबद्ध (Horizontal Alignment) भने कतै पनि मिलेको पाइँदैन । मास्टहेडकै पनि तेर्सो पङ्क्तिबद्ध मिलाउन मुस्किल परेको भान हुन्छ ।
भित्री पृष्ठहरू तीन कोलममा डिजाइन गरिएको छ । कोलमको बिचमा लाइन तानेर समाचारहरू छुट्याइएको छ । अर्थ, देशान्तर, देश समाचारलगायतका मुख्य शीर्षक ठुलो र गाढा अक्षर पारिएको छ । समाचारहरूको शीर्षकलाई अलि सानो र हल्का पातलो अक्षरमा राखिएको छ । यी कुराले समाचारको प्राथमिकता अनुसारको व्रmमबद्धता र एकरूपतामा ध्यान दिएको प्रस्ट पार्छ तर समाचारको मुख्य अक्षर (Body Text) को आकार र पङ्क्तिबद्ध गर्ने कुरामा भने त्यति ध्यान पु¥याएको देखिँदैन । कुनै समाचार निकै साना अक्षरमा राखिएको छ भने कुनै समाचार ठुला अक्षरमा छन् । यसले एउटा समाचार अर्को समाचारबाट छुट्टिए पनि एकरूपता भने देखिँदैन । एउटा समाचार जहाँ टुङ्गियो; त्यहीँबाट अर्को समाचार सुरु गरिएको छ । समाचारहरूलाई छुट्टाछुट्टै नराखी क्रमैसँग राख्दै गएको पाइन्छ । पत्रिकाको पहिलो पृष्ठको सुरुको कोलमबाट अन्तिम पृष्ठको अन्तिम कोलमसम्म समाचारहरू क्रमैसँग राखिएका छन् । यसले समाचारहरूमा आँखालाई सलल बग्न मद्दत गरे पनि पट्यारलाग्दो भने बनाएको छ । समाचारमा प्रयोग गरिएको अक्षर लिपि ९ायलत० राम्रो छ । आँखालाई नबिझाउने र पढ्न सजिलो हुने खालको छ । हेड लाइनको लिपि पनि राम्रो र प्रस्ट छ ।
यसरी सरसर्ती हेर्दा गोरखापत्र सुरु गर्दा आमसञ्चारका लागि ऐतिहासिक कदम भए पनि साजसज्जा र डिजाइनको हिसाबले हामी पश्चिमा जगत् (युरोप र अमेरिका) भन्दा करिब सय वर्ष पछि रहेको देखिन्छ । सन् १९०० को सुरुतिरै ‘न्युयोर्क टाइम्स’ र ‘लस एन्जल्स टाइम्स’ ठुला ठुला ‘ब्रोडसिट’ मा पाँच/छ कोलमको फोटोसहित आठ कोलम ‘फम्र्याट’ मा छापिइसकेका थिए । ‘दी डेली मिरर’ जस्ता ‘ट्याबलोइड’ आकारका बेलायती पत्रिकाहरूले पहिलो पृष्ठमा पूरै पृष्ठ आकारको फोटो र ‘ब्यानर हेड लाइन’ सहितका समाचार दिएर ‘ट्याबलोइड’ पत्रकारिताको शैली विकास गरिसकेका थिए । समाचारहरूलाई छुट्टाछुट्टै रूपमा आयाताकार वा वर्गाकार रूपमा चारकुनाभित्र समेटेर प्रस्तुत गर्ने ‘मोडुलर फम्र्याट’ (Modular Format) को विकास उनीहरूले गरिसकेका थिए तर त्यतिखेरको समय र परिस्थिति बुझ्दा गोरखापत्रको सुरुवात नेपाली पत्रकारिता र साजसज्जाका लागि एउटा कोसेढुङ्गा नै हो । पहिलो अङ्कमा जे जति गरिएको छ; त्यो ठुलो उपलब्धि नै थियो ।
राणा शासनकालभर नेपाल राजनीतिक, सामाजिक र आर्थिक रूपमा अगाडि बढ्न सकेन । फलस्वरूप प्राविधिक रूपमा पनि हाम्रो देश पछाडि नै प¥यो; जसको असर गोरखापत्रमा पनि देखियो । स्थापना भएको पाँच÷छ दशकसम्म पनि गोरखापत्रको साजसज्जामा कुनै नौलो स्वाद आएन । पहिलो अङ्कपछिका अन्य अङ्कहरू केलाउँदा ‘मास्टहेड’ को साजसज्जाबाहेक भित्री पृष्ठहरू भने पाँच/छ दशकसम्म पनि माथि विवेचना गरिए जस्तै एउटै तरिकाले बनाइएको पाइन्छ । ‘मास्टहेड’ को साजसज्जामा भने प्रत्येक अङ्कमा विशेष मेहनत गरेको देखिन्छ । ‘मास्टहेड’ को अक्षर र लिपि एउटै भए पनि त्यसवरिपरि प्रयोग गरिने साजसज्जाका विभिन्न तत्व फरक फरक रूपमा प्रयोग भएको पाइन्छ । कहिले गोलाकार, कहिले आयताकार बोर्डरले ‘मास्टहेड’ लाई घेरिएको हुन्छ भने ‘सर्वे भवन्तु सुखिन...’ मन्त्रलाई कुनै अङ्कमा ‘मास्टहेड’ माथि र कुनैमा तल राखेर पहिलो पृष्ठमा फरक स्वाद दिने प्रयास गरिएको छ । पृष्ठको माथि कहिले गणेश, कहिले महादेव त कहिले गरुडको आकृति प्रयोग गरिएको पाइन्छ । यी आकृति पनि कुनै अङ्कमा निकै ठुलो र भद्दा रूपमा राखिएको छ भने कुनै अङ्कमा सानो र सफा देखिने गरी छापिएको पाइन्छ । यी कुराले प्रत्येक अङ्कमा फरक स्वाद दिए पनि पत्रिकाको एकरूपतामा भने असर गरेको छ ।
समाचारको मुख्य भाग(Body)भन्दा पनि ‘मास्टहेड’ को डिजाइनलाई धेरै ध्यान दिएको देखिन्छ । ‘मास्टहेड’ को शब्द लेखाइ चार पटक मात्र परिवर्तन भएको छ तर आकारप्रकार र साजसज्जा भने दर्जनौँ पटक परिवर्तन भएको पाइन्छ । पत्रिका सुरु गर्दा विसं १९५८ वैशाख २४ मा मास्टहेड ‘गोर्खापत्र’ लेखियो । विसं १९८३ जेठ ४ बाट ‘गोरखापत्र’ लेख्न सुरु गरियो । ज्ञानेन्द्र शाहको दोस्रो शासनकालमा फेरि ‘गोर्खापत्र’ लेखियो । लोकतन्त्रको घोषणासँगै २०६३ वैशाख ११ बाट पुनः ‘गोरखापत्र’ नै ‘मास्टहेड’ कायम गरिएको छ ।
‘गोर्खापत्र’ लेखुन्जेल जसरी ‘मास्टहेड’ लाई वरिपरि फूल र बोर्डरले घेरेर सजाइने गरिन्थ्यो भने ‘गोरखापत्र’ लेख्न सुरु गरेपछि खासै त्यस्तो गरेको पाइँदैन । बेला बेलामा आकारप्रकारमा फेरबदल गरिए पनि ‘मास्टहेड’ सफा र स्पष्ट पार्ने प्रयत्न गरेको देखिन्छ । २०१० को दशकमा ‘मास्टहेड’ को लिपि ‘गोरखापत्र’ नै भए पनि यसको साजसज्जामा दुई पटक फरकपना दिएको पाइन्छ । त्यतिखेर ‘मास्टहेड’ को मुन्तिर मठमन्दिर, स्तूप, गुम्बा, धरहरालगायत छायाचित्रलाई सिर्जनात्मक रूपमा राखेर आकर्षक बनाइएको थियो भने ‘मास्टहेड’ को माथितिर उडेको चरा आकृति राखिएको थियो । यो डिजाइन २०१७ फागुन ७ बाट गोरखापत्र दैनिक भइसकेपछि पनि प्रयोग भएको पाइन्छ तर २०१८ सालमा ‘मास्टहेड’ बाट फेरि मठमन्दिरलगायत छायाचित्र हटाई ‘मास्टहेड’ लाई अलि मोटो र गाढा बनाई त्यसभन्दा माथि दैनिक भनेर लेखिएको थियो भने मुन्तिर अङ्गे्रजीमा The Gorkhapatra Daily लेखिएको छ । यसै गरी २०३० को दशकको सुरुतिर केही समय फेरि ‘मास्टहेड’ को डिजाइन परिवर्तन गरिएको पाइन्छ । त्यतिखेर ‘मास्टहेड’ मा सानो तर धेरै गाढा खालको लिपि प्रयोग गरी वरिपरिका सबै साजसज्जा हटाइएको छ । त्यसपछिका वर्षदेखि हालसम्म (ज्ञानेन्द्र शाहको शासनकालबाहेक) पुरानै शैलीको ‘मास्टहेड’ ‘गोरखापत्र’ प्रयोग हुँदै आएको छ; जुन अत्यन्त सरल, स्पष्ट र चित्ताकर्षक पनि छ ।
पत्रिकाको आकारको कुरा गर्दा गोरखापत्रले ‘ट्याबलोइड’, ‘बरलाइनर’ र ‘ब्रोडसिट’ तीन खालकै आकारको भएको माथि पनि भनियो । पत्रिकाको पहिलो अङ्कदेखि १९७० को दशकसम्म ‘ट्याबलोइड’ आकार प्रयोग भयो । ८० को दशकमा भने पत्रिका मध्यम आकारको कागज ‘बरलाइनर’ मा छापियो । फेरि ९० को दशकमा ‘ट्याबलोइड’ आकारमै फर्किएको पाइन्छ । पछि २०१० को दशकदेखि गोरखापत्रले कागजको आकार ठुलो बनाउँदै लगेको पाइन्छ । विसं २०३८ बाट वेभ अफसेट मेसिनबाट पत्रिका छपाइ हुन थालेपछि गोरखापत्र ‘ब्रोडसिट’ आकारको पत्रिका भयो ।
पत्रिका लेआउट डिजाइनको मुख्य भाग भनेकै विभिन्न प्रकारका समाचारलाई त्यसको आकारप्रकार मिलाएर सजिलोसँग पढ्न मिल्ने गरी संयोजन गर्नु हो । गोरखापत्र सुरु भएयता २००० को दशकसम्म एकै खालको साजसज्जा गरिएको पाइन्छ । ‘ट्याबलोइड’ हुँदा तीन कोलम र ‘बरलाइनर’ हुँदा चार कोलम ‘फम्र्याट’ मा समाचारहरू पस्केको पाइन्छ । ‘ट्याबलोइड’ हुँदा साइज सानो थियो, समाचार पनि थोरै हुन्थ्यो तर सफा र पढ्न सजिलो थियो । ८० को दशकमा ‘बरलाइनर’ साइजमा पत्रिका छापिँदा साइज ठुलो हुनासाथ धेरै समाचार एउटै पृष्ठमा हुँदा अलि अव्यवस्थित, फोहोर र पढ्नै अप्ठ्यारो खालको थियो । ‘बरलाइनर’ साइजमा ‘मास्टहेड’ लाई सानो बनाएर त्यसको दायाँ र बायाँ ठुला ठुला कोलममा गोरखापत्रको नियम र विज्ञापनको दर छापिने गरिन्थ्यो; जसले एकातिर ‘मास्टहेड’ लाई नै छायामा पारेको थियो भने अर्कातिर पहिलो पृष्ठ नै अक्षरले पुरिएको जस्तो भान हुन्थ्यो । उपयुक्त प्रविधि र दक्ष जनशक्तिको अभावले हुन सक्छ; ‘बरलाइनर’ साइजको पत्रिकाका भित्री पृष्ठ पनि अलि भद्दा नै देखिन्छ । पृष्ठ सजावट (Graphics Furniture) का सामाग्रीबिना लम्बेतान अक्षरैअक्षरले पृष्ठ पट्यारलाग्दो देखिन्छ । समग्रमा ‘बरलाइनर’ भन्दा ‘ट्याबलोइड’ आकारको पत्रिकाको साजसज्जा आँखाका लागि निकै सहज थियो ।
प्रथम पृष्ठको डिजाइन २००० को दशकको अन्त्यतिर केही परिष्कृत गरिएको पाइन्छ । मुख्य समाचारलाई ‘ब्यानर हेड लाइन’ समेत दिएर अरू साना समाचारलाई त्यसमुनि राखेर डिजाइन गरिएको पाइन्छ । समाचारलाई छुट्टाछुट्टै राखेर संयोजन गरिएको छ भने समाचारको क्रम पनि मिलाउने प्रयास गरिएको देखिन्छ । २०१० को दशकमा साजसज्जामा अझ नयाँपन देखिन्छ । पहिलो पृष्ठमा तस्बिर धेरै प्रयोग भएको पाइन्छ । विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलो पटक तस्बिर छापिएको थियो । यसभन्दा अघि राणा प्रधानमन्त्रीहरूको तस्बिर छापिए पनि क्याप्सनसहितको तस्बिर छापिएको भने त्यो नै पहिलो थियो । विसं २०१९ मा फोटो प्रशोधन गर्ने आधुनिक मेसिन जडान भएपछि साजसज्जालाई परिष्कृत गर्न थप बल पुगेको थियो ।
विसं २०१७ फागुन ७ बाट गोरखापत्र दैनिक प्रकाशित हुन थाल्यो । २०२० को दशकसम्म सात कोलम ‘फम्र्याट’ मा समाचार डिजाइन भएको पाइन्छ । २०३० को दशकको सुरुवातदेखि नै गोरखापत्रले आठ कोलम ‘फम्र्याट’ प्रयोग गरेको पाइन्छ । यो अवधिमा ‘लेआउट डिजाइन’ का थुप्रै आधारभूत सिद्धान्त साजसज्जामा प्रयोगमा ल्याएको देखिन्छ । तस्बिरलाई मुख्य आर्टका रूपमा प्रयोग गर्ने, समाचारको प्राथमिकता अनुसार व्रmमबद्धता र हेड लाइनको साइज निर्धारण गर्ने, छोटा समाचारलाई एक ठाउँमा पङ्क्तिबद्ध गर्ने, समाचारहरूलाई ‘मोडुलर फम्र्याट’ (आयातकार वा वर्गाकार) मा प्रस्तुत गर्ने, खाली ठाउँको सदुपयोग गर्ने जस्ता कुरामा ध्यान पुगेको पाइन्छ । यी कुराले पृष्ठलाई सुन्दर मात्र बनाएको छैन; पाठकको आँखालाई समाचारको प्राथमिकता अनुसार डो¥याउन पनि मद्दत गरेको छ । २०३८ सालबाट ‘वेभ अफसेट मेसिन’ बाट पत्रिका छापिन थालेपछि गोरखापत्रको डिजाइनमा थप बल पुगेको देखिन्छ ।
‘मास्टहेड’ को दायाँबायाँ ‘एयर प्यानेल’ विज्ञापन राख्ने चलन २०४० को दशकबाट सुरु भयो; जुन अद्यापि छँदै छ । ‘एयर प्यानेल’ विज्ञापन राखे पनि ‘मास्टहेड’ को दायाँबायाँ खाली ठाउँ भएकाले ‘मास्टहेड’ स्पष्ट नै देखिन्छ । २०५० को दशकमा साजसज्जाका लागि आवश्यक पर्ने कम्प्युटर र सफ्टवेयरहरू नेपाल भित्रिसकेको थियो । ‘एडोबी पेजमेकर’, ‘एडोबी फोटोसप’, ‘क्वार्क’ जस्ता सफ्टवेयरको प्रयोग आधुनिक डिजाइनका लागि कोसेढुङ्गा नै साबित भएको थियो । यी प्रविधिहरूको प्रयोगले समाचार संयोजन छिटो, छरितो र सुन्दर बनाउन ठुलो मद्दत पुग्यो । यसको परिणाम त्यो बेलाको गोरखापत्रमा पनि देख्न सकिन्छ । ठुला र प्रस्ट तस्बिर, समाचारहरूको मोडुलर संयोजन, पेजमा भएका विभिन्न तत्व जस्तै विज्ञापन, ‘मास्टहेड’, तस्बिर, समाचार र तिनको हेड लाइनलगायत सबैको सन्तुलित प्रस्तुतिमा यही प्रविधिको देन थियो ।
विसं २०५९ असार १० देखि गोरखापत्रको रङ्गीन छपाइ सुरु भयो । यसपछि गोरखापत्रको साजसज्जामा पनि नयाँ आयाम थपियो । गोरखापत्रले साजसज्जाको अर्को एउटा आधारभूत तत्वलाई प्रयोगमा ल्याउन पायो । त्यो हो– रङ अर्थात् कलर । एक शताब्दीसम्म श्यामश्वेत शरीर लिएर हिँडेको गोरखापत्र रङ्गीन भयो । पृष्ठलाई आकर्षक र जीवन्त बनाउन रङको ठुलो भूमिका हुन्छ । गोरखापत्र पनि श्यामश्वेतबाट रङ्गीन भएपछि निकै आकर्षक देखियो । ठुला ठुला रङ्गीन तस्बिर, ‘रिभर्स’ गरेर कलरमा राखिएको ‘स्लग’, ‘ब्याकग्राउन्ड कलर स्व्रिmन’ दिएर राखिएको साना ‘बक्स स्टोरी’, रङ्गीन विज्ञापनलगायतले गोरखापत्रको साजसज्जाले साँच्चै नयाँ जीवन पायो । अर्थतन्त्र, खेलकुद, मनोरञ्जनलगायतका भित्री पृष्ठहरू पनि चित्ताकर्षक देखिन थाल्यो । शनिवारीय (अहिले शनिबार) परिशिष्टाङ्कहरू पनि रङहरूले भरिए । यसरी रङ्गीन छापिन थालेपछि गोरखापत्रको साजसज्जाले काँचुली नै फे¥यो । अझ २०७१ सालमा एकै चोटि आठ पृष्ठ रङ्गीन र आठ पृष्ठ श्यामश्वेत गरी १६ पृष्ठ ‘वेभ मेसिन’ बाट छापिन थालेपछि त गोरखापत्रका भित्री पृष्ठहरूसमेत आकर्षक देखिन थाल्यो । २०७७ सालमा छपाइलाई थप आधुनिकीकरण गर्दै एकै पटक १२ पृष्ठ रङ्गीनसहित २० पृष्ठ छापिने मेसिन जडान गरियो ।
यसरी प्रविधिको विकाससँगै गोरखापत्रले आफ्नो श्यामश्वेत छविलाई रङ्गीन बनायो । झलक्क हेर्दा आकर्षक र रमाइलो पनि देखियो तर प्रविधिले दिएको यो उपहारलाई सही उपयोग गरेको देखिएन । डिजाइनमा रङको प्रयोग पृष्ठलाई सिँगार्नभन्दा पनि कुनै पनि कुरालाई विशेष प्राथमिकताका साथ देखाउन र पाठकका आँखा केन्द्रित गर्न प्रयोग गरिन्छ । गोरखापत्रमा भने उचित कारणबिना जथाभाबी रङको प्रयोग भएको पनि पाइन्छ । पृष्ठ सिँगारपटार गर्नका लागि रङ लगाइएको छ । यसबाट डिजाइनको उचित शिक्षाको अभाव रहेको प्रस्ट हुन्छ । पत्रिका रङ्गीन भएपछि २०७० को दशकसम्मका साजसज्जा केलाउने हो भने साजसज्जाका धेरै आधारभूत कुरा झनै पालना भएको पाइँदैन । सबैभन्दा ठुलो कुरा त एकरूपता थिएन । हेड लाइनको साइज, कोलमको साइज, कलर, ‘मग फोटो’, ‘हाइलाइट’, ‘ब्रेकर’, ‘बक्स’, ‘लाइन’ लगायत पृष्ठलाई सजाउन आवश्यक पर्ने ‘ग्राफिक्स’ हरू सबैमा एकरूपता थिएन । सबै पृष्ठमा फरक फरक प्रयोग भएको पाइयो । राम्रो पक्ष भनेको सबै समाचार ‘मोडुलर फम्र्याट’ मा डिजाइन भएको थियो; जसले समाचारलाई प्रस्ट र पढ्न सजिलो बनाएको थियो तर तस्बिरहरू रङ्गीन प्रयोग भए पनि समाचारको बिच बिचमा राखिएकाले पाठकको आँखालाई समाचारमा सलल बग्नबाट रोकेको थियो । एउटा कोलमबाट अर्को कोलममा पढ्दै जाँदा अलमलिने अवस्था पनि थियो । खाली ठाउँको महत्व नबुझेको जस्तो भान हुन्छ । पेजमा भएका तत्वहरूको भार सन्तुलन (Balance) र क्रमबद्धता (Hierarchy) मा पनि त्यति ध्यान दिएको पाइएन ।
डिजाइनका प्रविधि नहुँदा थोरै कुरामा ध्यान दिए पुग्थ्यो । श्यामश्वेत गोरखापत्र सादा देखिए पनि पाठकका लागि सरल र स्पष्ट थियो तर जति प्रविधि परिष्कृत हुँदै गयो; साजसज्जामा पनि त्यति नै धेरै कुरा विकसित हुँदै गए । यसको सही सदुपयोग गर्नका लागि डिजाइनको ज्ञान भएको दक्ष जनशक्ति पनि तयार गर्दै लग्नुपर्ने हुन्छ । यस सन्दर्भमा गोरखापत्र चुकेको देखिन्छ । आधुनिक प्रविधि भित्र्याए पनि त्यस अनुसारको दक्ष जनशक्ति तयार नपारेको जस्तो त्यतिखेरको साजसज्जा हेर्दा भान हुन्छ । यही कुरालाई ध्यान दिई २०७० को दशकको अन्त्यतिर गोरखापत्र संस्थानले आफ्ना सम्पूर्ण एकाइलाई ‘स्मार्ट’ बनाउने अभियान चलायो; जस अन्तर्गत गोरखापत्रको ‘प्रिन्ट’ र ‘डिजिटल संस्करण’ लाई पनि ‘स्मार्ट लुक’ दिन विज्ञहरू ल्याएर कार्यशाला गराउने, प्राविधिक तालिम दिने र नयाँ दक्ष जनशक्तिको विकास गराउने जस्ता काम पनि ग¥यो ।
गोरखापत्रलाई ‘स्मार्ट’ र समयानुकूल बनाउन २०७९ वैशाख १ गते ‘हाम्रो गौरव, राष्ट्रको पत्रिका’ भन्ने नाराका साथ नयाँ साजसज्जा प्रयोग गरियो । नयाँ साजसज्जामा डिजाइनका आधारभूत सिद्धान्तहरू ख्याल गरेर समाचारहरू संयोजन गरेको पाइन्छ । ‘मास्टहेड’ को लिपि र शब्द पुरानै भए पनि सफा र स्पष्ट देखिने गरी राखिएको छ । ‘मास्टहेड’ भन्दा माथि ‘हाम्रो गौरव, राष्ट्रको पत्रिका’ भन्ने नयाँ नारा थपिए पनि पातलो लिपिका कारण ‘मास्टहेड’ लाई असर गरेको देखिँदैन । ‘सर्वे भवन्तु सुखिन...’ भन्ने पुरानो मन्त्रलाई निरन्तरता दिइएको छ । सानो आकारमा लेखिएको हुनाले मन्त्रको उपस्थितिले ‘मास्टहेड’ फोहोर देखिएको छैन । ‘मास्टहेड’ को बायाँ ‘एयर प्यानल विज्ञापन’ र दायाँ ‘वि.सं. १९५८ देखि...’ भन्ने पङ्क्ति राखिए पनि खुला ठाउँको राम्रोसँग उपयोग गरिएकाले पाठकको पहिलो नजर ‘मास्टहेड’ मा पार्न नयाँ डिजाइन सफल देखिन्छ । ‘मास्टहेड’ को मुनि आकासे निलो रङको पातलो बक्समा भित्री पृष्ठका महत्वपूर्ण समाचारको ‘टिजर’ ‘रिभर्स’ मा राखिएको छ । यसले ‘मास्टहेड’ मा रहेका सम्पूर्ण भागलाई अझ सशक्त बनाउन मद्दत गरेको छ ।
नयाँ साजसज्जामा समाचार, तस्बिर, विज्ञापनलगायतका कुरा एकअर्काबाट प्रस्ट देखिने गरी छुट्याइएको छ । यसका लागि खुला ठाउँको सदुपयोग राम्ररी गरिएको छ । समाचारहरूको प्राथमिकता अनुरूपको क्रमबद्धता माथिबाट तलतिर बगेको देखिन्छ र सोही अनुसारको हेड लाइनको साइज प्रयोग भएको पाइन्छ । पहिलो नजरमा पाठकको आँखालाई पृष्ठको कुन भागबाट केन्द्रित गर्ने या भनौँ कहाँबाट हेर्न सुरु गराउने भनेर ध्यान दिइएको छ । यसका लागि आकर्षक केन्द्र (Central of Visual Impression) सिर्जना गर्न आकर्षक तस्बिर, कार्टुन, ‘इन्फोग्राफिक्स’, समाचारहरूको ‘प्यकेजिङ’ लगायतका कार्य गरिएको पाइन्छ । यसै गरी गोरखापत्रले प्रयोगमा ल्याएको लिपि (Font) सुन्दर छ । आँखालाई नबिझाउने खालको छ । शीर्षकमा प्रयोग भएको लिपि पनि उत्कृष्ट छ । ‘हाइलाइट’ र ‘ब्रेकर’ हरूमा प्रयोग गरिएको खिरिलो र पातलो लिपिले साजसज्जालाई विशेष बनाएको छ । यसभन्दा अघि समाचारहरूको कोलमको आकारमा ध्यान दिएको पाइँदैनथ्यो । समाचारको बिच बिचमा जथाभाबी तस्बिर र ‘ग्राफिक्स’ हरू हालेर कोलमको अनौठो खालको आकार बनाइएको हुन्थ्यो । अझ ठुला फिचर खालको समाचारहरूको कोलम आकार डिजाइन त झनै खराब बनाइएको थियो; जसले गर्दा समाचारहरूमा आँखाको बगाइलाई अप्ठ्यारो पारेको थियो भने पाठकलाई एक कोलमबाट अर्को कोलम जाँदा अलमल पारेको थियो । पछिल्लो साजसज्जा परिवर्तनपछि भने यी कुरालाई विशेष ध्यान दिइएको पाइन्छ । कोलमको आकार बनाउँदा अङ्ग्रेजी अक्षर ‘यु’ आकार (U Shape) र ‘एल’ आकार (L Shape) लाई धेरै प्रयोग गरिएको छ । यसले समाचारमा आँखाको बगाइलाई निर्विघ्न बनाएको देखिन्छ । ठुला ठुला फिचर समाचारहरूमा पनि बिच बिचमा तस्बिरहरू राखेर कोलमको आकार अनौठो खालको बनाउने कार्य पूर्णतया रोकिएको छ । हालका दिनमा कोलमको आकारका कारण पाठक अलमलमा पर्ने खालको साजसज्जा कुनै पनि पृष्ठमा देखिँदैन । पृष्ठमा समाचारलाई ‘सात कोलम फम्र्याट’ र विज्ञापनलाई ‘आठ कोलम फम्र्याट’ मा राखिएको छ । विज्ञापनले भरिएका पृष्ठमा केही अप्ठ्यारो देखिए पनि ‘सात कोलम फम्र्याट’ मा गरिएको साजसज्जा सुन्दर देखिएको छ ।
नयाँ डिजाइनमा रङको प्रयोग जथाभाबी गरिएको छैन । केही सीमित रङलाई ‘ब्रान्ड कलर’ बनाएर प्रयोग गरिएको छ । आकासे निलो रङलाई मुख्य कलर बनाएर पहेँलो रङलाई सहयोगी रङका रूपमा प्रयोग गरिएको छ । पहेँलो रङ गोरखापत्र संस्थानको ब्रान्ड कलर पनि भएकाले पत्रिकामा यो रङको प्रयोगले रङको एकरूपतामा ध्यान दिएको प्रस्ट हुन्छ । पत्रिकामा प्रयोग हुने सबै खालका ‘ग्राफिक्स’ मा यही दुई कलरको संयोजन गरिएको छ । उद्देश्यबिना जथाभाबी रङ पोत्ने काम पूर्ण रूपमा बन्द गरिएको गोरखापत्रको पछिल्ला डिजाइनले देखाउँछ । मनोरञ्जनका पृष्ठहरू आकर्षक देखाउन आवश्यकता अनुसार केही फरक रङ पनि प्रयोग गरिएको पाइन्छ; जुन मनोरञ्जनका हकमा जायज पनि देखिन्छ । यसै गरी पृष्ठमा प्रयोग हुने हरेक प्रकारका सजावटका सामग्री (Graphic furniture) को एकरूपतामा पनि उत्तिकै ध्यान दिइएको देखिन्छ । ब्रेकर हाइलाइट्स (Breaker highlights), मग फोटो, भनाइहरू (Quotes), ‘बुलेट’ र अङ्कहरू, ‘स्लग’, बाकस, रेखालगायत सजावटका सामग्रीको रङ, आकारप्रकार र स्थानमा एकरूपता देखिन्छ ।
समाचारहरू क्रमबद्ध रूपमा राखेर पृष्ठ बाँध्ने काम गरिएको छ । साना समाचारहरू पृष्ठमा छरपस्ट नपारेर एक ठाउँमा पङ्क्तिबद्ध गरिएको पाइन्छ; जसले पृष्ठलाई फोहोर हुनबाट जोगाएको छ । यसै गरी तस्बिरहरूको छनोट र त्यसको प्रशोधनमा विशेष ध्यान दिइएको कुरा छपाइमा आएको चमकले बताउँछ । थुप्रै साना साना तस्बिर राख्नुको सट्टा थोरै तर आकर्षक तस्बिर राखेर पृष्ठलाई सजाउने प्रयास गरिएको छ । भित्री पृष्ठहरू पनि महत्वका साथ सुधार गरिएको छ । ‘पृष्ठ टाइटल’ लाई निकै सफा र स्पष्ट पारिएको छ । विचार पृष्ठमा लामा लामा लेखहरू भए पनि खाली ठाउँलाई कलात्मक रूपमा उपयोग गरिएको छ, जसले लम्बेतान लेखहरू पनि पट्यारलाग्दो हुनबाट जोगाएको छ । डिजाइन पनि सुन्दर देखिएको छ । यसै गरी ‘नयाँ नेपाल’, ‘अर्थबजार’ र ‘शनिबार’ परिशिष्टाङ्कका ‘मास्टहेड’ लाई पनि सफा, स्पष्ट र चित्ताकर्षक बनाइएको छ । परिशिष्टाङ्कका पृष्ठहरू आकर्षक देखिन्छ । खाली ठाउँ र कोलमको आकारप्रकारको उचित प्रयोगले पृष्ठहरू आँखालाई आनन्दित पार्ने खालका छन् । पढ्न सजिलो बनेको छ । नयाँ नेपालका पृष्ठहरू भने पहिलाभन्दा राम्रा देखिए पनि अझै मेहनत गर्नुपर्ने देखिन्छ । समग्रमा हालका डिजाइनहरूमा साजसज्जाका आधारभूत सिद्धान्त महत्वका साथ प्रयोग गरिएको पाइन्छ ।
गोरखापत्रलाई ‘स्मार्ट लुक’ दिने अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि बनेको छ– ‘इन्फोग्राफिक्स’ । पत्रकारितामा आएको विकाससँगै हाल नेपालमा ‘डेटा पत्रकारिता’ पनि अभ्यासमा आएको छ । यसमा तथ्याङ्कलाई केलाएर विश्लेषण गरिन्छ र त्यसलाई दृश्यमा परिवर्तन (Visualize) गर्ने काम ‘इन्फोग्राफिक्स’ ले गर्छ । पत्रकारितालाई दृश्य सञ्चार (Visual Communication)मा परिवर्तन गर्ने काम ‘इन्फोग्राफिक्स’ को हो । एक दशकयता नेपालमा पनि ‘इन्फोग्राफिक्स’ को प्रयोग बढ्दै गएको पाइन्छ । मिडियाहरूले समाचारहरूलाई ‘इन्फोग्राफिक्स’ सहित आकर्षक रूपमा पस्किन थालेका छन् । गोरखापत्र पनि ‘इन्फोग्राफिक्स’ को प्रयोग गरेर आफूलाई ‘स्मार्ट लुक’ दिन सफल भएको छ । यसले गोरखापत्रलाई थप परिष्कृत र आधुनिक देखाएको छ । १२५ वर्षमा टेकेको भए पनि गोरखापत्र झन् तन्नेरी देखिएको छ ।
अन्त्यमा, ‘ट्याबलोइड’ को सानो आकारबाट ‘ब्रोडसिट’ हुँदै ‘स्मार्ट गोरखापत्र’ सम्मको यात्रामा आफ्नो श्यामश्वेत स्वरूपलाई त्यागेर रङ्गीन बनाउँदै १२५ औँ वर्ष पुगेको गोरखापत्रको इतिहास साँच्चै गौरवमय छ । आमसञ्चार र यससँग सम्बन्धित छापाखाना, साजसज्जा, भाषालगायत विविध पक्षको विकासमा गोरखापत्रले दिएको योगदान अतुलनीय छ । आगामी दिनमा नयाँ नयाँ प्रविधि अँगालेर गोरखापत्रले साजसज्जालाई थप परिष्कृत गर्दै पत्रिकालाई नयाँ उचाइमा पु¥याउने छ भन्ने विश्वास छ । दृश्य सञ्चार (Visual Communication) को यो युगमा गोरखापत्रले आफूलाई अझ सुसज्जित बनाउँदै पढूँ पढूँ लाग्ने मात्र हैन हेरूँ हेरूँ लाग्ने पनि बनाउने छ । थुप्रै आरोहअवरोह पार गर्दै १२५ औँ वर्षमा प्रवेश गर्न सफल भएकोमा गोरखापत्रलाई धेरै धेरै बधाई तथा शुभकामना !
सन्दर्भ सामग्री
- गोरखापत्र दैनिकका विभिन्न अङ्क
- गोरखापत्रको इतिहास, शिव रेग्मी, शिवप्रसाद भट्टराई, जयदेव भट्टराई
- शब्दचित्रमा गोरखापत्र, नारद गौतम
- गोरखापत्र शतवार्षिकी स्मारिका, २०५७ नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान शाखाबाट प्रकाशित ‘सम्प्रेषण’ का विभिन्न अङ्क
लेखक ग्राफिक डिजाइनर हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘ गोरखापत्रमा साजसज्जा म्यानुअल टाइपसेटिङदेखि इन्फोग्राफिक्ससम्म’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।