कोलम्बो, फागुन २२ गते । श्रीलङ्काले आफ्नो समुद्री क्षेत्र बाहिर रोकिएको इरानको एक जहाजलाई नियन्त्रणमा लिएर त्यसमा रहेका दुई सयभन्दा बढी नाविकलाई किनारतर्फ ल्याउन थालेको छ । उक्त जहाजले सहयोगको अनुरोध गरेपछि शुक्रबार श्रीलङ्काले मानवीय सहयोग स्वरूप उद्धार कार्य सुरु गरेको हो ।
श्रीलङ्काको नौसेनाका प्रवक्ताले दिएको जानकारी अनुसार जहाजमा रहेका नाविकलाई पहिले कोलम्बो बन्दरगाहमा ल्याइँदैछ । स्वास्थ्य परीक्षण तथा अध्यागमन प्रक्रिया पूरा भएपछि उहाँहरूलाई कोलम्बोबाट करिब बीस किलोमिटर उत्तरमा रहेको वेलिसारा नौसैनिक शिविरमा राखिने छ ।
यस घटनाअघि बुधबार श्रीलङ्काको तट नजिकै अमेरिकी पनडुब्बीले इरानको अर्को युद्धपोत डुबाएको थियो । दोस्रो विश्वयुद्धपछि पनडुब्बीबाट सतहमा रहेको युद्धपोत डुबाइएका दुर्लभ घटना मध्ये यो एक मानिएको छ । यस घटनाले इरान विरुद्ध अमेरिकाको सैन्य अभियान अझ विस्तार भएको सङ्केत गरेको छ ।
डुबाइएको उक्त युद्धपोत यसअघि भारतले आयोजना गरेको नौसैनिक अभ्यासमा सहभागी भएको थियो । त्यस अभ्यासमा विश्वका करिब चौहत्तर देश सहभागी भएको भारतीय रक्षा मन्त्रालयले जनाएको थियो । डुबेको जहाजबाट भारतीय नौसेनाले आपतकालीन सन्देश प्राप्त गरेपछि खोज तथा उद्धार अभियान सुरु गरेको थियो ।
तर त्यसअघि नै श्रीलङ्काको नौसेनाले आफ्नो उद्धार कार्य प्रारम्भ गरिसकेको थियो । श्रीलङ्काको नौसेनाले उक्त घटनापछि ३२ नाविकलाई जीवित उद्धार गरेको र सत्तासी जनाको शव फेला पारेको जनाएको छ । इरानका परराष्ट्र मन्त्रीका अनुसार जहाजमा करिब एक सय तीस जना चालक दलका सदस्य थिए । इरानले यो घटनालाई समुद्रमा गरिएको अमानवीय आक्रमण भन्दै कडा आलोचना गरेको छ ।
श्रीलङ्काका राष्ट्रपतिले इरानी जहाजको इन्जिन बिग्रिएपछि जहाजले सहयोग मागेकाले अन्तर्राष्ट्रिय समुद्री कानुन अनुसार सहायता प्रदान गरिएको बताउनुभएको छ । जहाजलाई पछि श्रीलङ्काको उत्तर–पूर्वी भागमा रहेको अर्को बन्दरगाहतर्फ लैजाने योजना रहेको छ । राष्ट्रपतिले युद्धका कारण निर्दोष नागरिकको ज्यान जानु दुखद भएको भन्दै प्रत्येक मानव जीवन अमूल्य रहेको बताउनुभयो ।
श्रीलङ्काले कुनै पक्ष नलिई मानवीय सिद्धान्त र अन्तर्राष्ट्रिय कानुन अनुसार काम गरेको पनि उहाँले स्पष्ट पार्नुभयो । विश्लेषकका अनुसार यो घटना मध्यपूर्व बाहिर फैलिँदै गएको तनावको सङ्केत हो । भारतीय महासागर क्षेत्रमा बढ्दो सैन्य गतिविधिले रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको श्रीलङ्कालाई संवेदनशील अवस्थामा पुर्याएको छ । रासस/एपी