• १४ वैशाख २०८१, शुक्रबार

राष्ट्रपतिसँग कफी गफ

blog

नेपाली कफीबारे जानकारी लिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असार २१ गते । कफी किशानले राष्ट्रपति विद्यादेवी भण्डारीसँग ‘कफी गफ’ गरेका छन् । नेपाल कफी व्यवसायी महासंघका प्रतिनिधिसहितको टोलीले मंगलबार राष्ट्रपति निवास शीतल निवासमा पुगेर नेपालको कफी उत्पादन र विकाससम्बन्धी प्रतिवेदन प्रस्तुतिसमेत दिएको थियो । 

वि.सं २०४७ सालदेखि पाल्पामा अर्गानिक कफी खेती सुरु गर्नुभएका कफी किशान ढकेश्वर घिमिरेले सुरुमा कफी खेती गर्दा भोगेका दुःख र अहिले आएर विश्व बजारमा नेपालको कफीको माग पुर्‍याउन नसकेको किस्सा सुनाउँदा राष्ट्रपति भण्डारीले खुशी व्यक्त गर्नुभएको थियो । घिमिरे महासंघका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले कफी व्यवसायी महासंघ र कफी उत्पादनमा लामो समयदेखि सक्रिय ढकेश्वर घिमिरेको परिवारको प्रशंसा पनि गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपालमा अर्गानिक कफी खेती गरिनु सरहानीय  भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो,‘हाम्रो देशमा विस्तारै कफी संस्कृति विकास भइरहेको छ । युवालाई कफी खेतीमा आर्कषण गर्न आवश्यक छ । बाँझो खेतबारीको सदुपयोग गरी खाद्यान्नमा आत्मनिर्भर बन्नु र आयात घटाउनु अहिलेको आवश्यकता हो ।’ 

राष्ट्रपति भण्डारीले नेपाल कफीका लागि उर्वरभूमि भएकोले यसको उत्पादनसहित अन्तर्राष्ट्रिय बजारीकरण गरेमा देशभित्रै रोजगारीको अवसर श्रृजना हुने बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, ''कफी उत्पादन क्षेत्रमा सरकारले पनि प्रयास गरिरहेको छ । तर, यो प्रयास अझै प्रयाप्त छैन ।''

कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले कफी किशानको रुपमा जनस्तरको प्रतिवेदन राष्ट्रपतिसामु राख्न पाउनु खुशीको क्षण भएको बताउनुभयो । ‘नेपालको कफी विश्वभर प्रख्यात छ । तर, बजारले मागेको कफी पुर्‍याउन सकिएको छैन । सरकारले युवालाई खाडी पठाउन प्रोत्साहन गरिरहेको छ । तर, पाखो र भिरालो जमिनमा कफी खेती गरेर देशभित्रै स्वरोजगार बनाउने विषयमा चासो दिइरहेको छैन । युवालाई पनि बाँझो बारीमा काम गर्नभन्दा खाडी जान सजिलो भएको छ,’ अधिकारीले भन्नुभयो । 

उहाँले कफी खेतीबारे आवश्यक नीति बनाउन सहयोग गर्न राष्ट्रिपति समक्ष आग्रहसमेत गर्नुभयो । महासंघले सरकारले कफीको बिउ, नर्सरी, उत्पादन, प्रशाेधन र बजारीकरणमा सरकारको प्रतक्ष सहयोगको अपेक्षा पनि गरेको छ । 

महासंघका अनुसार नेपालको ४२ जिल्लामा अहिले व्यवसायिक कफी खेती गरिन थालिएको छ । समुन्द्री सतहबाट ८०० देखि १६०० मिटर उचाईसम्म कफी खेती गर्न सकिन्छ । नेपालको अर्गानिक र अराविका कफीको विश्व वजारमा ठूलो माग रहेको छ । 

विशेषगरी नेपाली कफीको माग यूरोप, दक्षिण कोरिया र जापानमा बढी छ । माग अनुसार विश्व वजारमा पुर्‍याउन सकिएको छैन । नेपालमा अहिले वार्षिक १२ लाख टन कफी उत्पादन भइरहेको पनि व्यवसायीले बताएका छन् ।