वेलिङ्टन, असोज २७ गते । न्युजिल्यान्ड सरकारले सन् २०१७ को आधार वर्ष मानेर सन् २०५० सम्म कृषि क्षेत्रबाट निस्कने मिथेन ग्यास उत्सर्जनलाई १४ देखि २४ प्रतिशतसम्म घटाउने लक्ष्य सार्वजनिक गरेको छ ।
सन् २०१७ को यो नीति मन्त्रिपरिषदले स्वीकृत गरेको हो । सरकारका अनुसार, यो निर्णय कृषक समुदायसँगको व्यापक परामर्शपछि गरिएको हो । कृषि, व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले भन्नुभयो, “हामीले न्युजिल्यान्डको कृषि उत्पादक क्षमतालाई ध्यानमा राख्दै, रोजगारी र उत्पादन जोगाउने तथा जलवायु परिवर्तनप्रति प्रतिबद्धता जनाउने व्यवहारिक र न्यायसङ्गत बाटो रोजेका छौँ ।”
जलवायु परिवर्तनमन्त्री साइमन वाट्सका अनुसार, सन् २०५० सम्म नेट-शून्य उत्सर्जन लक्ष्यप्रति सरकार प्रतिबद्ध छ, जसमा कृषि क्षेत्रको पनि महत्त्वपूर्ण र न्यायोचित योगदान रहने छ । सरकारले नीति अन्तर्गत सन् २०४० मा मिथेन कटौती लक्ष्यको कानुनी समीक्षा गर्ने, कृषिजन्य मिथेन उत्सर्जनमा कर नलगाउने र करको सट्टा प्रशोधनकर्तालाई प्रोत्साहन तथा साझेदारीको माध्यमबाट उत्सर्जन कटौती गर्ने जनाएको छ ।
मिथेन न्यूनीकरण प्रविधिको विकासका लागि सरकारले निजी क्षेत्रसँग मिलेर ४० करोड न्युजिल्यान्ड डलर (करिब २३० लाख अमेरिकी डलर) लगानी गरिरहेको छ । सन् २०३० सम्म ११ वटा नयाँ प्रविधि ल्याइने छ भने पहिलो प्रविधि सन् २०२६ देखि नै प्रयोगमा ल्याइने छ । म्याक्लेले किसानलाई सहजीकरण गर्न ‘अन–फार्म इमिशन क्याल्कुलेटर’ सुरु गरिएको जानकारी पनि दिनुभएको छ । रासस/सिन्ह्वा